गृह » वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा बढी आशलाग्दो
विचार

वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा बढी आशलाग्दो

– डा. धनपति कोइराला
dpk2068@gmail.com
दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रका बीच तालमेल भएपछि सामान्यतया मुलुक वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा धु्रवीकृत भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको संघारमा भएको यस्तो गठबन्धनका सन्दर्भमा केही शक्ति र तहतप्काबाहेक आमनेपाली जनमानस उत्साहित नै देखिएका छन् । खासगरी, वाम गठबन्धनकै कारण लोकतान्त्रिक गठबन्धन बनाउन बाध्य भएको कांग्रेस नेतृत्व र वामविचारप्रति अनुदार रहेको साउथ ब्लक यसप्रति त्यति सकारात्मक हुन सकिरहेको पाइँदैन । कांग्रेसले आप्mनो पछिल्लो घोषणापत्रमा एमाले र माओवादीलाई आप्mनो शत्रुवत् शक्ति रहेको उल्लेख गरेको छ । विभिन्न सभा र गोष्ठीहरुमा यसलाई अधिनायकवाद लाद्ने चालबाजीका रुपमा हेर्दै यसबाट सचेत रहन लोकतन्त्रमा विश्वास राख्ने आमजनमानसलाई आह्वान्समेत गरेको छ । स्थानीय निर्वाचन र यसअघि भएका संविधानसभाको निर्वाचनमा वामपन्थीहरुले करिब ६० प्रतिशतभन्दा ज्यादा मत प्राप्त गरेको सन्दर्भमा अब हुने प्रदेशसभा र प्रतिनिधिसभामा समेत बहुमत ल्याउने निश्चत प्रायःको अवस्था देखिएकाले कांग्रेस अताल्लिएको सहजै अनुमान गर्न सकिन्छ ।
वामपन्थी सरकार बनेमा अधिनायकवाद पैदा हुने र यसले लोकतन्त्रलाई समाप्त पार्ने भन्ने उसको दृष्टिकोण यथार्थभन्दा टाढा देखिन्छ । उसले कम्युनिज्मका मूल्य र मान्यताभन्दा अनि कोसौँ दूरीमा पुगिसकेको एमालेमा अधिनायकीय चरित्र देख्नु चुनावी अभिव्यक्तिभन्दा किञ्चित् भिन्न देखिन्न । २०६३ सालमा संसदीय व्यवस्थामा प्रवेश गरी एकदशक पनि नबित्दै पुँजीवादी धारमा पुगेका माओवादी केन्द्र पुनः अधिनायकत्वतर्फ उन्मुख हुने स्थिति देखिन्न । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश नै अधिनायकवादका विपरीत रहेको परिवेशमा अधिनायकवाद लाद्ने चाल सम्झनु ‘हरूवा गोरूको छेरूवा दाउ’ मात्रै हो भन्दा किमार्थ पृथक् देखिन्न ।
स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादीको गठबन्धनबाट तर्सिएको एमालेले यो गठबन्धन कायमै रहे आगामी निर्वाचनमा अपेक्षित बहुमत प्राप्त हुन नसक्ने देखेपछि यो गठबन्धन तोड्नु आवश्यक भएकाले यो तिगडम रचेको केही राजनीतिक विश्लेषकहरुको भनाइ छ । केही राजनीतिक विश्लेषक माओवादीले आप्mनो शाख बचाउन गठबन्धनका लागि राजी भएको ठान्दछन्् । वाम गठबन्धन निर्माणका पछि बहुमत प्राप्त गरी सरकार बनाउने मह¤वाकांंक्षास्वरुप जितको आशाले, शाख जोगाउने बाध्यताले वा कुनै अदृश्य शक्तिले भूमिका खेलेको भए पनि मुलुकका निम्ति यो आवश्यक थियो । धेरै दल र अस्थिर सरकारबाट प्रताडित यो मुलुक बढीमा तीन–चार दल र कम्तीमा एक कार्यकाल एउटै स्थिर सरकार चाहन्छ । भोलि मन्त्री÷प्रधानमन्त्री बन्ने प्रलोभन दिइँदा पनि गठबन्धन नटुटी पार्टी एकताका निम्ति एकढिक्कै रहेमा यो गठबन्धन त्यस गन्तव्यको प्रस्थानविन्दु हो ।
चाहे त्यो लोकतान्त्रिक गठबन्धन होस् चाहे वाम गठबन्धन, मुलुकका पार्टी दुई धारमा मात्र विभक्त हुँदा दलहरु देश र जनताप्रति अधिक उत्तरदायी रहने वातावरण बन्दछ । पछिल्लो घोषणापत्र जारी हुनुअघि खासगरी वाम गठबन्धनलाई चुनाव र सत्ता–स्वार्थमा मात्र केन्द्रित रहेको आरोप लागिरहेको स्थितिमा यो ध्रुवीकरण चुनावकेन्द्रित गठबन्धन मात्र रहेको भन्ने कथनमा थोरै दम थियो । तर, जब घोषणापत्रमा नै एक गठबन्धनले अर्को गठबन्धनप्रति तिखो आलोचना गरिनुृका साथै वैचारिक चिन्तनसमेत पृथक् प्रस्तुत गरिएकाले यो अब चुनावी गठबन्धनकै रुपमा मात्र सीमित नरही वैचारिक रुपमै पनि दलहरु विभक्त भएका छन् ।
खासगरी, कांग्रेसले लोकतान्त्रिक गठबन्धन गर्ने प्रयत्न गरे पनि यो सार्थक हुन सकेन । उसले राप्रपा, राजपा, संघीय समाजवादी फोरमहरुसँग गर्ने भनिएको गठबन्धन ता¤िवक निष्कर्षमा पुग्न सकेन । यसबीचमा उसले लोकतान्त्रिक फोरमलाई आपूmमा समाहित गरे पनि अन्यलाई समाहित त के गठबन्धनमा समेत ल्याउन सकेन । फलतः मुलुकका हरेक निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा एमालेले करिब एक्लै निर्वाचन लडेझैँ ऊ पनि अहिले त्यही परिस्थितिमा पुगेको छ । पुरानो र ठूलो दलमा स्वभावैले नेता धेरै हुने र त्यसको व्यवस्थापन गर्न अत्यन्त कठिन हुने भएकाले पनि हुन सक्छ उसले अरु दललाई उनीहरुको अपेक्षानुरुप उम्मेदवारी संख्या दिन नसक्ता लोकतान्त्रिक गठबन्धनले सम्भवतः ता¤िवक निष्कर्ष प्राप्त गर्न सकेन ।
हुन त, एमाले र माओवादी केन्द्र जसमध्ये दुवै नै कुनै बेला प्रमुख पार्टीका रुपमा रहेका थिए । तत्तत् पार्टीमा पनि नेता कम थिएनन् । तत्तत् पार्टीभित्र नेतागणको व्यवस्थापन कम चुनौतीपूर्ण थिएन । तर, दृढ संकल्पकै कारण एकाध बागी उम्मेदवारबाहेक त्यस्तो धेरै असन्तुष्टि देखिएन । त्यसो त, अरु दललाई टिकट नदिएको अवस्थामा पनि कांग्रेसभित्र बागी पैदा भए । यस मानेमा वाम गठबन्धनभित्र एकखाले दृढता, हौसला र संकल्प रहेको सहजै अनुमान गर्न सकिन्छ ।
अघि प्रसङ्गमा उद्धृत गरिएझैँ वाम गठबन्धन अधिनायकवादी बन्ने र लोकतान्त्रिक मूल्य ध्वस्त पार्ने भन्ने तर्क पानीका फोकाझैँ मात्र अस्तित्ववान् देखिन्छ । संसदीय धारमा आएर कांग्रेससँग करिब डेढदेखि तीनदशकसम्म रसबस गरेका नेताहरुमा ‘सङ्गतो जायते फलः’ अर्थात् संगत जस्तो हुन्छ त्यसको परिणाम पनि सोहीअनुरुप नै प्राप्त हुन्छ भन्ने कथन चरितार्थ भइसकेको छ । अर्थात् वामपन्थी भनिएकाहरु पनि प्रायः धनसञ्चय गर्ने र उच्च विलासिताको उपभोग गर्ने मामिलामा उत्कर्षमा पुगिसकेका छन् । यस्तो स्थितिमा उनीहरु अधिनायकवादतिर फर्कने, कम्युनिज्म व्यवस्थाले सुझाएका मान्यताहरुमा हिँड्ने र त्यही मार्गमा हिँड्ने भन्ने दृष्टिकोण मिथ्या प्रतीत हुन्छ । यदि वामपन्थी भनिएका दल र तिनका नेतृत्व यस बाटोमा हिँडे सुनमा सुगन्ध हुन्थ्यो नै । देशले भद्रगोलमय लोकतान्त्रिक व्यवस्थाभन्दा जबर्जस्त आर्थिक समृद्धि र भौतिक विकासको मार्गमा हिँडाउने व्यवस्था चाहेको छ । यसर्थ, विगतलाई हेर्दा उदारवादी वामपन्थी दलले चलाएको शासन कुनै कालमा स्वर्णयुग र कुनै कालमा राष्ट्रवादी कार्यतर्फ उन्मुख रहेको तथ्य नचाहेर पनि भन्नैपर्छ । तर, त्यही लोकतान्त्रिक भनिएको दलले अल्पमतदेखि बहुमत प्राप्त गरेको शासन व्यवस्थामा त्यस्तो गौरव गर्न लायक कार्य गरेको इतिहासमा त्यस्तो कहीँ देखा पर्दैन ।
यसर्थ, अहिले मुलुकले आर्थिक समृद्धिको मार्गमा हिँडाउने दूरगामी सोचसहित त्यसलाई पूरा गर्नसक्ने हैसियत बोकेको नेतृत्व चाहेको छ । यस बाटोमा आमजनता अग्रसर छन् । जसले मुलुकलाई औद्योगिकीकरणतर्फ डो¥याई व्यापक रोजगारी सृजना गरोस् । वैदेशिक रोजगारीलाई व्यवस्थित गरोस् र सम्मानित पनि बनाओस् । भ्रष्टाचार र बेथिति अन्त्य गरी सुशासन कायम गरोस् । प्रविधिमय सेवाको विकास गरी मुलुकलाई सहज र सरल सेवा प्रदान गरोस् । अहिलेको हकमा यस दिशामा हिँड्ने थोरै धेरै लक्षण बोकेको गठबन्धन भनेकै वाम गठबन्धन भएकाले अब हरेक नागरिकले अधिनायकवाद, कम्युनिस्टले स्वाहा पार्छन्, लोकतन्त्र ध्वस्त तुल्याउँछन्, छिमेकी देशसँगको सम्बन्ध धरापमा पार्छन् भन्नेजस्ता झूठा आरोपबाट सचेत हुँदै आप्mनो अभिमत प्रकट गर्नु अपरिहार्य भएको छ ।
यद्यपि, वाम गठबन्धनले पनि कतिपय १० वर्षमा पूरा गर्न नसकिने खालका अत्यन्त मह¤वाकांक्षी लक्ष्य र योजना लिएको छ । उसले २०७६ भित्र भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्ने, ५ वर्षमा उपत्यकाका चक्रपथहरुमा रेल गुडाउने, १० वर्षमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने, १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, १० वर्षमा प्राङ्गारिक मुलुक घोषणा गर्ने, मासिक सुरक्षाभत्ता पाँच हजार बनाउने, १० वर्षमा पचास लाख पर्यटक भित्र्याइने र १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर बनाउने मुख्य छन् । तर, तीमध्ये ५ वर्षमै रेल गुडाउने, पानीजहाज सञ्चालन गर्ने हैसियत राख्ने, २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, प्राङ्गारिक मुलुक बनाउने, ५ हजार डलर पु¥याउनेजस्ता अत्यन्त दुर्लभ्य प्रतीत हुन्छ । हुन त, सपना नै नदेख्नेले के कार्य गर्ला भन्ने पनि आउन सक्तछ । तर, यो चुनावी माहोल ल्याउनकै लागि भूmठा सपना बाँडिरहेको प्रतीत हुन्छ । यस्तो सपना अन्य दलका घोषणापत्रमा पनि छन् । तर, कुरा कम काम ज्यादा गर्ने र वाम गठबन्धन गरेका दिनमात्रै थाहा दिएझैँ कार्य सम्पन्न गरेपछि मात्र सार्वजनिक गर्ने परिपाटी निर्माण गर्नुपर्ने तथा अन्यन्त खर्चिलो बन्दै गएको चुनावको सुधार गर्ने कार्यमा पनि यी सुधारवादी दलहरुले कार्ययोजना बनाउनमा चुक्नुहुँदैन । यसो भएमा नै भ्रष्टाचार घट्ने र पारदर्शिताको संस्कृति स्थापित भई मुलुक सभ्य र समृद्धिको गन्तव्यमा हिँड्न सक्तछ । यसर्थ, वाम गठबन्धनले यस विषयमा पनि बोल्नु जरूरी छ ।

 

Comments

About the author

चितवन पोष्ट