गृह » उद्यमसँगै समाजसेवा
विचार

उद्यमसँगै समाजसेवा

 

 धनजीत पराजुली
हाम्रो समूहमा ‘उनी व्यवसायी मात्र हैनन्, समाजसेवी पनि हुन्’ भन्ने एक व्यक्तिको चर्चा सुनियो । डाँगीहाट जागरण बाल क्लब, मोरङको आयोजनामा भएको अवलोकन भ्रमणमा हामी बेलबारी नगरपालिका वडा नं ९, १०, ११ का विभिन्न विद्यालयस्तरीय साथै स्वतन्त्र बाल क्लबका पदाधिकारीहरु र तिनका संरक्षक गरी ३६ जनाको टोली दुईदिने सौराहा र देवघाट अवलोकन भ्रमण अभियानको सिलसिलामा पहिलो दिन चितवनको नारायणगढ बजार पुग्यौँ । अग्रिम जानकारीसँगै हामी नारायणगढ–१, बसपार्कमा अवस्थित लजसहितको कलश होटलमा बास बस्न पुगेका थियौँ ।
यो माथिको छोटो चर्चा हामीमध्ये कोही परिचित साथीले व्यक्त गरेका थिए । यो सुन्नेबित्तिकै मलाई उनीप्रति जिज्ञासाका साथसाथै श्रद्धा जागेर आयो र छोटो समयमा भए पनि उनका क्रियाकलापप्रति चासो लिएँ । अतिथि सेवा र ग्राहकको सेवासुविधाका लागि उनी सक्रिय थिए । उनी यो लजका मालिक हुन् कि कर्मचारी, छुट्याउन सकिन्नथ्यो । बिस्तारै थाहा भो, उनी त यो लजका प्रोप्राइटर पदम श्रेष्ठ रहेछन् । चितवन राष्ट्रिय निकुञ्ज कसरा दरबार गाउँमा जन्मी–हुर्की गरेका उनी धेरै संघसंस्थामा आबद्ध रही सेवारत पनि रहेछन् । नेपाली उद्यमीहरुले आफ्नो व्यवसाय मात्र चलाएका हैनन्, राष्ट्रको सेवा पनि गरेका छन् । उनीहरुले राज्यलाई कर तिरेका छन् । स्थानीय विकासमा लगानी गरेका छन् । आफ्नो व्यवसायको आम्दानीबाट चन्दा दिएका छन् । यिनैमध्येका एक युवा उद्यमी, युवाहरुका लागि प्रेरणादायी व्यक्ति थिए पदम श्रेष्ठ । उनका अनुसार अहिले उनी धेरै संघसंस्थाहरु जस्तैः व्यवसायी संघ कार्यसमितिका सदस्य, व्यवसायी संघ एरिया अध्यक्ष र टोल सुधार समितिका सचिव पदमा रही सेवारत छन् । त्यसैगरी, प्राकृतिक चिकित्सा संस्थाको संस्थापक सदस्य र जोरकुसुम (नेवा गुठी पूजास्थल)का कोषाध्यक्ष र नारायणगढ सिटी खाद्यान्न अनुगमन तहमा पनि कार्यरत रही समाजसेवामा रमाएका छन् । उनीसँगको मेरो छोटो भलाकुसारीमा जानकारी पाएअनुसार उनी यसबेलासम्म सामाजिक सेवामा मह¤वपूर्ण भूमिका निर्वाह गरिरहेको पाइयो । कुनै बेला लोपोन्मुख चेपाङहरुलाई राहत वितरणका साथै सरसफाइलगायत थुप्रै सामाजिक सेवामा संलग्न रहेको कुरा उनले बताए ।
भोको पेटले सेवा हुँदैन भनेझैँ सामाजिक सेवा गर्न मनको धनीमात्र भएर पुग्दैन, धनको धनी पनि हुनुपर्दो रहेछ । यी उद्यमीले १४ वर्षसम्म वैदेशिक रोजगारीमा दुःख गरी त्यहाँबाट कमाएको आर्जन र सीपलाई अहिले आफ्नो व्यवसाय र समाजका लागि प्रयोग गरेका छन् । यो देशका कतिपय युवाहरुले वैदेशिक आर्जनलाई एउटा घररुपी मूर्तिमा मात्र खर्च गरी मस्ती उडाएका छन् भने पदम श्रेष्ठको कार्यले जीवनमा केही गर्नुपर्छ भन्ने मान्यताका युवा सर्कललाई ऊर्जा र प्रेरणा दिइरहेको छ जस्तो लाग्छ । देशलाई समृद्ध बनाउन आर्थिक क्रान्तिसँगसँगै सामाजिक सेवालाई पनि मह¤व दिएका युवा उद्यमशील व्यक्तित्व पदम श्रेष्ठसँग जिज्ञासा राखेँ– ‘तपाईंले गर्नुभएको आर्थिक क्रियाकलापबाट अर्थ आर्जन गर्नुभयो भने सामाजिक सेवाबाट के पाउनुभयो ?’ उनले गर्वका साथ उत्तर दिए– ‘सामाजिक सेवाबाट पदप्रतिष्ठा प्राप्त गर्नुका साथै समाजको विकास हुने र त्यसको परिणाममा आपूmलाई आत्मसन्तुष्टि प्राप्त भइरहेको छ ।’ उनी सामाजिक, आर्थिक, धार्मिक आदि क्षेत्रमा सक्रिय छन्, त्यसका साथै संगीतप्रेमी पनि हुन् भन्ने कुरा उनको नजिकै झुन्ड्याइएको राष्ट्रिय बाजा मादलले बताइरहेको थियो ।
आन्तरिक पर्यटकहरुको सेवामा पहिलेको अनुपातमा अहिले निकै फरक पाइयो । विशेषतः सहरिया लज, होटलवालाहरुले बाह्य पर्यटकहरुलाई बढी प्राथमिकता दिने र आन्तरिक पर्यटकहरुलाई अलि बेवास्ता गरेजस्तो लाग्थ्यो, तर अहिले त आन्तरिक पर्यटकलाई पनि उत्तिकै मह¤व दिएर सेवा गरेको पाइयो । गाउँलेहरुले होमस्टेमा पर्यटकहरुलाई सेवा दिएजसरी नै सहरिया लज र होटलहरुले पनि सेवा दिने भावनामा विकास गरेको पाइयो । कलश होटलबाट हाम्रा बाल क्लबका नानीहरुले सन्तुष्टि पाएको कुरा लक्ष्मी मावि बाल क्लबकी उपाध्यक्ष रीया धिमालले व्यक्त गरिन् । हाम्रो अवलोकन टोलीका सम्पूर्ण सहभागीहरुबाट सेवाका लागि नकारात्मक टिप्पणी गरेको पाइएन । एकरातको बसाइँपछि कार्तिक १० गते हामी उनलाई धन्यवाद दिँदै त्यहाँबाट अर्को गन्तव्य खोज्दै बाटो लाग्यौँ ।  (बेलबारी नगरपालिका–११, लक्ष्मीमार्ग, मोरङ)

Comments

About the author

चितवन पोष्ट