गृह » ‘चुनाव चिन्ह’ बोलको गीतबाट राजनीतिलाई ब्यङ्ग्य
कला समाचार समाज

‘चुनाव चिन्ह’ बोलको गीतबाट राजनीतिलाई ब्यङ्ग्य

–तुलमान गुरूङ
भरतपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन एक महिना पनि छैन । पहिलो चरणको निर्वाचन आउनका लागि जम्मा १८ दिन बाँकी छ भने दोस्रो चरणको निर्वाचन आउनका लागि जम्मा २९ दिन मात्र बाँकी छ । यसरी निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले आ–आफ्नो उम्मेदवार जिताउनका लागि चुनावी प्रचार–प्रसारलाई तीव्र पारेका छन् । प्रचार–प्रसारको लागि भने गीतसंगीतले सजिलो बनाएको छ ।
स्थानीय तह निर्वाचनताकादेखि नै नेपालका दर्जनौँ चर्चित गायक गायिकाहरूले चुनावी गीत गाए । कतिपयले चर्चा कमाए भने कतिपयले आलोचना समेत खेप्नुप¥यो । विशेष गरी लोक तथा दाहोरी क्षेत्रका कलाकारहरूले चुनावी गीत गाएका छन् । त्यसो त लोकसंगीतका कलाकारहरूका लागि जुनसुकै चाडवाड आए पनि राम्रो अवसर बन्ने गरेको छ । तीज, दशैँ, तिहार, मंसिर जुनसुकै समयमा पनि समय र मौसमअनुसारका गीतसंगीत पस्कन्छन् कलाकारहरू । जुन अन्य विधाका गीतसंगीतमाभन्दा लोक गीतसंगीतको क्षेत्रमा बढी नै छ ।
त्यसैले पनि २० वर्षपछि सम्पन्न स्थानीय तह निर्वाचनमा नवआगन्तुक कलाकारदेखि ख्यातिप्राप्त कलाकारहरूले चुनावी गीत गाउन भ्याए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वर्तमान अध्यक्ष बद्री पंगेनी, प्रतिष्ठानका पूर्वअध्यक्ष पुरूषोत्तम न्यौपाने, राजु परियार, विष्णु खत्री, विमलराज क्षेत्री, कोमल वली, टीका पुन, राधिका हमाल, वसन्त थापा, श्रीकृष्ण वम मल्ल, लक्ष्मी मल्ल, चोलेन्द्र पौडेल, पूर्णकला विसी, कमल सौरागलगायत लोकदोहोरीमा चर्चा कमाएका गायक गायिकाहरूले चुनावी गीत गाएका छन् । सबैले फरक–फरक पार्टीको नाममा गीत गाए । यी मध्ये पनि सबैभन्दा बढी चर्चा भने बद्री पंगेनी, पुरूषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल र राधिका हमाल अझ बढी चार्चामा रहे ।
दर्शक स्रोताको नजरमा स्थानीय तह निर्वाचनदेखि नै कुन कलाकार कुन पार्टी समर्थित हुन् भनेर छुट्याउन समेत थालिसकेका छन् । त्यतिबेला नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति पार्टी, विवेकशील पार्टीलगायतले आ–आफ्ना उम्मेदवार जिताउनका लागि चुनावी गीत बनाएका थिए ।
अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पनि कलाकारहरू नयाँनयाँ चुनावी गीत सार्वजनिक गरेका छन् । हिजोआज दलहरूले पनि चुनावी प्रचार–प्रसार गर्नका लागि त्यही गीतको भरतपुर प्रयोग गरिरहेका छन् । गीतमा सबैले आफ्नै पार्टी र आफ्नै उम्मेदवार सक्षम छन् भन्दै आ–आफ्नै पार्टीमा भोट हाल्न आग्रह गरेका छन् । स्थानीय तहमा दलसम्बद्ध गीतहरू मात्रै आएका थिए भने अहिले प्रत्यक्षरूपमा उम्मेदवार केन्द्रित गरेर पनि गीत गाएका छन् कलाकारहरूले ।
अहिले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा (प्रजातान्त्रिक), नयाँ शक्तिलगायतका दलहरूका लागि धेरै गीत बनेको छ । त्यति मात्रै होइन, लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका विषयमा पनि गीत बनाएर गाएका छन् । आम जनमानसमा कलाकार तथा पत्रकारहरू स्वतन्त्र हुनुपर्छ भन्ने बुझाइ छ । त्यसैले कलाकारहरूलाई पार्टीको गीत गाएकै आधारमा यो पार्टी र ऊ पार्टी भन्ने आक्षेप लागिरहेको बेला कलाकारहरूले जनताको लागि पनि गीत गाएका छन् ।
वैकुण्ठ महतको लय÷शब्दमा तयार भएको ‘चुनाव चिन्ह’ बोलको यो गीतले दलका नेताहरूलाई व्यङ्ग्य गरेको छ ।
मख्खै पारी भोट माग्छौ चुनाव नजिक आउँदा
अरु बेला वास्तै छैन हाम्ले दुःख पाउँदा
एकै गाग्री पानी ल्याउँदा बिहान बित्छ सारा
कहिले बन्छ घरघरमा खानेपानी धारा
के हो तिम्रो पार्टी, के हो चुनाव चिन्ह
चिने तिम्रो पार्टी, चिने चुनाव चिन्ह
सोझा जनता झुक्याउने तिम्रो पार्टीले हो
यस्तालाई त मैले भोट ज्यान गएनी दिन्न…
कोमल वली, वैकुण्ठ महत, विष्णु खत्री, विमलराज क्षेत्री, पूर्णकला विसी, शीतल शर्मा र रीतु थापाको संयुक्त आवाज तयार भएको यो गीत अहिले युट्युबमा पनि निकै चर्चा कमाएको छ । चुनावताका विभिन्न आश्वासन देखाएर जनता ढाँट्ने नेतालाई ज्यान गए पनि भोट दिन्न भनेका छन् । अबका जनता पहिलेका जस्ता सोझा छैनन् । यसअघि फरक–फरक दलका लागि गीत गाएका कलाकारहरूले यो गीतमा भने जनताको तर्फबाट गीत गाएका छन् । जसमा नेपाली जनताले सक्षम उम्मेदवार आफैँ छान्न सक्छन् भन्ने भाव यो गीतमा प्रकट भएको पाइन्छ । अहिलेको निर्वाचनलाई लक्षित गरेर अन्य कलाकारहरूले पनि गीत गाएका छन् । गणेश गुरूङ, मुना थापामगर, सुरेन्द्र गुरूङ, नवीन पौडेल, सुनिल थापालगायतका नयाँ तथा पुराना कलाकारहरूले नयाँ गीत गाएका हुन् ।
दलहरूले आ–आफ्नो तरिकाले प्रचारप्रसारमा प्रयोग गरे पनि कलाकारहरूले चुनावी गीत गाउन पाउनु अवसरको रूपमा लिएका छन् भने जनताले पनि मनोरञ्जनको रूपमा लिएका छन् । गायक गायिकाको काम भनेकै समयसान्दर्भिक गीत संगीत दिने भएकोले चुनावी गीत गाउँदैमा यो पार्टी र ऊ पार्टी भन्न नपर्ने उनीहरूको भनाइ छ । त्यसैले गीत–संगीत भनेको जस्तो सुकै परिवेशमा पनि मिल्ने भएकोले समयअनुसारको गीतसंगीत पस्किनु सक्नु नै कलाकारहरूको खबी भएको कलाकारहरू बताउँछन् । जसले सामाजिक रूपान्तरणमा पनि मह¤वपूर्ण भूमिका खेलेको छ ।

 

Comments

About the author

चितवन पोष्ट