गृह » दल फेर्नेहरुको ताँतीलाई हेर्दा
सम्पादकीय

दल फेर्नेहरुको ताँतीलाई हेर्दा

नेपालमा निर्वाचनका बेला होस् या दलहरुका भेला, सभा वा कुनै कार्यक्रममा नै किन नहोस्, फरक आस्था र विचार राख्ने भनिएकाबाट राजनीतिक दल नै फेर्ने प्रवृत्ति बढिरहेको छ । राजनीतिक संक्रमण र दलहरुका स्वार्थले गर्दा राजनीतिप्रति आमबुझाइ र मान्यता नै नकारात्मक बन्दै गएको छ । पछिल्लो समय नागरिकमा राजनीतिक चेतना जागृत हुँदै आए पनि दलका कतिपय पात्रका कारण वितृष्णा बन्न पुगेको छ । दल बदल्नु भनेको आफ्नो निष्ठा, आदर्श र मूल्यमान्यतालाई बलि चढाउनु हो । आफूले आर्जन गरेको राजनीतिक छविलाई तिलाञ्जली दिनु हो । तर, निर्वाचनको मुखमा आएर नेपालका केही दल अर्को दलमा विलय भएका छन् भने व्यक्तिगत रुपमा एउटा दल छाडेर अर्को दलमा रातारात प्रवेश गर्नेहरुको संख्या पनि कम छैन । यस्तो प्रवृत्तिले गर्दा व्यक्तिगत साख गुम्नुको साथै प्रवेश गरेको दलमा पनि विश्वास आर्जन गर्न कठिन भएका दृष्टान्त छन् ।
नेपालमा जोसुकैलाई कुनै पनि दलमा प्रवेश गर्ने, उसका मूल्यमान्यता र नीति अंगीकार गर्ने छूट छ । तर, छेपारोले रंग फेरेजस्तो होइन दल फेर्ने कुरा । यसले नागरिकको विश्वास टुट्नुका साथै वितृष्णासमेत पैदा गर्दछ । नेपालमा छेपारे प्रवृत्ति देखाउने व्यक्तिहरु थुप्रै छन् । विजयकुमार गच्छदार सत्तामा छाइरहने एक पात्र हुन् । उनी फोरम लोकतान्त्रिक–कांग्रेस–फोरम हुँदै पुनः कांग्रेसमा प्रवेश गरे । साथै मधेसका अनेकौँ व्यक्तिहरु आफूसंलग्न दल छाडेर अर्को दलमा समाहित भएका छन् । दल बदल्नेहरु बिनास्वार्थ अर्को दलमा प्रवेश गरेको उदाहरण कहीँ छैन । यस्ता छेपारे प्रवृत्तिले गर्दा नै व्यक्तिले निष्ठा र आदर्शको राजनीति छाड्दै गएको भन्न कन्जुस्याइँ गर्नुपर्दैन । दल फेर्नेहरुको भीडमा एउटा यस्ता पात्र थपिएका छन्, जो चितवनका हार्डलाइनर पञ्च अर्थात् राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना हुन् । उनी ३१ जना कार्यकर्तासहित माओवादी केन्द्रमा प्रवेश गरे पनि चितवन तरंगित भएको छैन, यसले ‘प्रोपोगान्डा’बाहेक कुनै सन्देश सिर्जना गरेको पनि छैन ।
बद्री तिमिल्सिनाको छवि र ओज हिजो जे थियो, त्यो सम्मानजनक र अभिभावकका रुपमा स्थापित थियो । उनलाई पञ्चका रुपमा हेरिए पनि राजनीतिज्ञ र सामाजिक व्यक्तित्वको गरिमा कायमै थियो । उनले दल फेर्दा व्यक्तिगत रुपमा लाभ–हानि होला÷नहोला, के हासिल गर्न यो कदम चालेका होलान् भन्ने सवाल अवश्य नै खडा भएको छ । उनलाई राजनीतिक गुरू मान्नेहरु र आदर्शवान् नेता ठान्नेहरु अहिले के सोचिरहेका होलान् ? यसको जवाफ अनुत्तरित नै छ । उनलाई कुन माहोल र आकर्षणले आफ्नो आदर्शबाट च्युत गरायो होला, यो कुरा पनि अझै खुल्न सकेको छैन । स्मरणीय छ, छिमेकी भारतमा यस्तो प्रवृत्तिलाई आयाराम गयाराम भनेर चित्रण गरिन्छ । अवसर र क्षणिक लाभका लागि आफ्नो आदर्शबाट विचलित हुने प्रवृत्ति पक्कै पनि घातक हुन्छ । राजनीतिक विचलनले अवसरवादी चरित्र निर्माण हुन्छ, जुन समाज र राष्ट्रका लागि घातक हुनसक्छ । व्यक्तिका लागि त अभिशाप नै बन्ने कुरामा कुनै द्विविधा छैन ।

Comments

About the author

चितवन पोष्ट