गृह » समयमै उपचार गरे क्यान्सर निको हुन्छ : मनिषा
समाचार समाज स्वास्थ्य

समयमै उपचार गरे क्यान्सर निको हुन्छ : मनिषा

भरतपुर । क्यान्सर भएर उपचारपछि निको भएकी बलिउड अभिनेत्री एवम् नेपाली चेली मनिषा कोइराला शुक्रबार साँझ नारायणगढमा क्यान्सरसम्बन्धी एउटा कार्यक्रममा सहभागी भइन् । उनले प्रमुख अतिथिको हैसियतमा ‘सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपाल’ नामक क्यान्सर उपचारमा संलग्न चिकित्सकहरुको संस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गरिन् । सभामा उनले क्यान्सरमुक्त हुँदाको अनुभव सुनाइन् ।
‘क्यान्सर उपचारमा संलग्न तपाइँ चिकित्सकहरुलाई त म भगवान् नै ठान्छु । जसले मलाई दोस्रो जीवन दिनुभयो’ कोइरालाले केही भावुक हुँदै भनिन् । तर, यस्तो उपचारको सुविधा पाउनेहरु नेपालजस्तो देशमा अत्यन्त कम हुने भएको हुँदा यो अवस्था कसरी हटाउने हो यसमा सबैले सोच विचार गर्न आग्रह गरिन् । क्यान्सर भए÷नभएको चाँडो पत्ता लगाएर उपचार पनि चाँडै सुरू गरे क्यान्सर निको हुने उनले बताइन् ।
‘तर, हाम्रो देशमा क्यान्सर भएकै पत्तो नपाउनेहरु धेरै छन् । लौ क्यान्सर भएको थाहा पाए पनि उपचार गर्न नसक्नेहरु यत्तिकै छन् । यसको समाधान कसरी गर्ने हो तपाइँहरुले सोच विचार गर्नैपर्छ’ कोइरालाको आग्रह थियो । आर्थिक समस्यामा भएकाहरुले क्यान्सरको उपचार गर्न नसक्ने बिडम्बनापूर्ण अवस्था आउन नहुने उनको भनाइ थियो ।
सन् २००१ मा स्थापना भएको फेडेरेशनले यसअघि तीनवटा सम्मेलन काठमाडौँमा गरेको थियो । यो चौथो सम्मेलन पहिलोपटक उपत्यकाबाहिर भरतपुरमा आयोजना गरेको आयोजिक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले बताए । स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले विशेषज्ञहरुले ल्याउने निचोडबाट सरकारलाई नीति–नियम बनाउन सहयोग पुग्ने बताइन् ।
‘अहिले क्यान्सरजस्ता नसर्ने रोगको प्रकोप बढ्दो छ । यो रोगको तीव्र फैलावट कम गर्न विद्यालय तहमा नै शिक्षा दिन आवश्यक छ । सुर्तीसेवनजस्ता कुलतहरुलाई नियन्त्रण गर्न विद्यार्थीलाई सजग गराउनुपर्ने छ । सरकारको ध्याउन्न यसैमा छ’ सचिव रेग्मीले भनिन् ।
संस्था स्थापना क्यान्सर उपचारमा संलग्न चिकित्सक १०÷१२ जना पनि नभएको डा रौनियारले बताए । अहिले यो संख्या निकै बढेको छ । तर, पर्याप्त चिकित्सक भने छैनन् । ‘सीमित विशेषज्ञहरु छन् । यस्तो बेलामा हामी देश विदेशका क्यान्सर विशेषज्ञहरु एकैठाउँ भेला भएर छलफल गर्दा ज्ञान आदानप्रदान हुन्छ । हामीले गर्न नसकेका कामहरुका बारेमा जान्न पाइन्छ’ सम्मेलनको उद्देश्यका बारेमा डा रौनियारले भने । बिहीबार सुरू भएको सम्मेलन शनिबार सकिएको छ ।
सम्मेलनमा नेपालसहित छिमेकी देश भारत, चीन, बंगलादेश, श्रीलंकाका साथै सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका ३०० जना क्यान्सर विशेषज्ञहरु सहभागी थिए । सीमित स्रोतसाधन भएका नेपालजस्तो देशमा क्यान्सरको प्रभावकारी उपचारका सम्बन्धमा के गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा छलफल भएको आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिए ।
भरतपुरमा नेपालकै ठूलो क्यान्सर अस्पताल छ । सो अस्पतालमा वर्षमा लगभग क्यान्सर लागेका पाँच हजार बिरामीको उपचार हुन्छ । क्यान्सर उपचारमा आउने बिरामीलाई सरकारले एक लाख रुपैयाँसम्म छुट दिने गरेको छ । तर यो अपर्याप्त भएको आयोजक समितिका संयोजक डा रौनियारको भनाइ छ । यसका साथै विश्वमा उपचारका नवीन प्रविधि र पद्धति आए पनि नेपालमा ल्याउन नसकिएको उनले बताए ।

 

Comments

About the author

चितवन पोष्ट