गृह » ‘त्यसपछि फुलेन गोदावरी’ : अभिघातको उत्कृष्ट नमुना
विचार साहित्य

‘त्यसपछि फुलेन गोदावरी’ : अभिघातको उत्कृष्ट नमुना

– रमेश प्रभात
आमुख
नामका अगाडि विभिन्न विशेषण राख्न मिल्ने महेश पौड्याल युवापुस्ताका माझ सुपरिचित नाम हो । साहित्यका समालोचना, अनुवाद र सिर्जनामा उत्तिकै सशक्ततापूर्वक आफ्नो गति कायम गर्न सफल पौड्याल समालोचक, अनुवादक र सर्जकका अतिरिक्त सामाजिक अभियन्ता पनि हुन् । यिनी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा अङ्ग्रेजी विभागअन्तर्गत प्राध्यापनरत छन् । सामाजिक अभियन्ताका रुपमा यिनको आबद्धता ग्रेटर नेपाल अभियानसँग रहेको देखिन्छ । यिनका हालसम्म एघारवटा कृति प्रकाशित भइसकेका छन्, जसमध्ये आठवटा आख्यानका छन् । यसकारण यिनी मूलतः आख्यानकार हुन् ।
महेश पौड्यालको सबैभन्दा कान्छो कृतिका रुपमा ‘त्यसपछि फुलेन गोदावरी’ (२०७४) प्रकाशित भएको छ । जम्मा बीसवटा फुटकर कथाहरुको सञ्चयनका रुपमा प्रकाशित प्रस्तुत कथासङ्ग्रहमा नेपाल र भारतका विभिन्न ठाउँमा घटिरहेका घटनाहरुलाई कथावस्तु बनाइएको पाइन्छ । यी सबै कथाहरुमा वर्तमानका पीडा र अभिघातहरु सुसेलिएको पाइन्छ ।
‘त्यसपछि फुलेन गोदावरी’का कथाहरुको सङ्क्षिप्त कथानक
‘त्यसपछि फुलेन गोदावरी’ कथासङ्ग्रहको पहिलो कथा ‘नर्सरी’मा नायकले तीनवर्षे छोराको मृत्युको कुरा गर्दै उसको छवि आफ्नो अफिसमा काम गर्ने युवा सहयोगीमा देखेको चर्चा गरेको छ भने दोस्रो कथा ‘निदाल’मा बाबुले दुःख गरेर बनाएको घर भत्काउन गएको बखत घरको निदाल खसेपछि उक्त दृश्य हेरिरहेका बाबु अकस्मात् ढलेर मृत्यु भएको देखाइएको छ । त्यस्तै ‘सिकारी’ कथामा वनरक्षकसँग मिलेर आफ्नो बाजेले मृगको सिकार गरेपछि नातिले बाजेको टाउको ताकेर माटाको डल्लाले हिर्काएको कुरा छ भने ‘कर्णालीको पल्लो किनार’ कथामा एउटी बालिकाका मनमा मान्छे मरेपछि नदी तरेर जान्छन् भन्ने विश्वास रहेको र एक्लै कर्णाली तरेको चर्चा छ । अर्को कथा ‘अदालतबाहिर’ गाउँमा हुने झगडामा केन्द्रित कथा हो भने ‘उनी योगमाया भइन्’ कथा एउटी नारीले पारिवारिक घृणा सहन नसकेर आत्महत्याको घोषणा गरी त्यसको कार्यान्वयनसमेत गरेको कथा हो । त्यस्तै ‘हुलाकी’ कथा सूचना र प्रविधिका कारण जागिर धरापमा परेका हुलाकीको कथा हो भने ‘ताल्चा’ कथा शिक्षाका नाममा हुने व्यापार र अनावश्यक नियन्त्रणको कथा हो ।
एउटा बालकलाई सपना देखाएर कसरी भुलाउन सकिन्छ भन्ने विषयमा आधारित ‘भुवन’ कथा बालश्रमको शोषणसँग सम्बन्धित छ भने ‘पानीमुनिको जून’ एउटी आमाले सानो बालकको रक्षा गर्न नसकेका कारण उसमा आएको विक्षिप्ततामा केन्द्रित छ । त्यस्तै ‘पर्खाल र परेवाहरु’ कथा छिमेकीका बीचमा हुने झगडामा केन्द्रित छ भने ‘लौरो’ कथा सामाजिक मेलमिलाप र त्यसमा आउने खललसँग सम्बन्धित छ । अर्को कथा ‘लामबद्ध प्रतिघातहरु’ प्रेममा हुने अन्धोपनसँग सम्बन्धित देखिन्छ भने ‘काकी’ कथा मनभित्र असीम पीडा लुकाएर हाँस्न विवश महिलाको कथा हो । त्यस्तै ‘चोट’ कथा मनमा चोट लिएर हिँड्ने पुरूषको कथा हो भने ‘दृश्यान्तर’ मनमा चोट भएका कारण पागल कहलिएकी महिलाको कथा हो ।
भारतीय भूमिको स्थानविशेषलाई शीर्षकीकरण गरिएको ‘कौब्रु’ कथामा ग्रामीण युवतीको परिहासलाई वास्तविकता ठानी पहाड चढ्न हिँडेका सहरिया युवाको विषयवस्तु पाइन्छ भने ‘क्रान्तिवीर’ कथामा दरबारिया षड्यन्त्रलाई समेटिएको छ । सङ्ग्रहको शीर्षकसँग मिल्ने ‘त्यसपछि फुलेन गोदावरी’ कथामा परिहास, स्मरणका अतिरिक्त जातीय हिंसालाई चित्रण गरिएको छ । यसरी विविध विषयवस्तु, परिवेश र पात्रहरुको चित्रण गरिएको प्रस्तुत कथाकृति समसामयिक पीडाको दस्तावेज बनेको छ ।
अभिघातका कोणबाट ‘त्यसपछि फुलेन गोदावरी’को विश्लेषण
अभिघात सिद्धान्त विश्वसाहित्यको पछिल्लो चरणका साहित्यको समालोचनाका सिद्धान्तहरुमा देखा परेका चिन्तनमध्येको एक नयाँ चिन्तन हो । अभिघात शब्दको निर्माण घात अर्थात् प्रहार, चोट, ठक्कर, धक्का जस्तो अर्थ सम्प्रेषण गर्ने ‘घात’ शब्दका अघिल्तिर ‘अभि’ उपसर्ग लागेर भएको हो । सृष्टिको आरम्भदेखि मान्छेले अभिघातको सहन गर्दै आएको छ । यस अभिघातका दुई तहहरु देखिएका छन् । पहिलो बाह्य किसिमको अभिघात र दोस्रो आन्तरिक किसिमको अभिघात । पहिलो वस्तु अथवा विभिन्न बाह्य साधनका कारणबाट जन्मिने शारीरिक अभिघात र दोस्रो आन्तरिक तहमा लाग्ने चोटका कारण जन्मिने मानसिक अभिघात ।
अभिघात मानिसमा देखापर्ने एउटा विशिष्ट समस्या हो । यसले व्यक्तिमा विविध समस्या, तनाव र उल्झन्हरु ल्याउँछ । अभिघातका कारण र परिणाम फरकफरक भएझैँ यसका स्वरुप वा प्रकारहरु पनि फरक हुन्छन् । अभिघात सिर्जना गर्ने वस्तु जति प्रकारका हुन्छन्, त्यति नै अभिघातका प्रंकारहरु हुन्छन् । हिंसा वा दुव्र्यवहारले नै अभिघातलाई फरक पार्दछ । यसैमा अभिघातको प्रकार निहित रहेको हुन्छ । अतः अभिघातका प्रकारलाई स्व–अभिघात, सांस्कृतिक अभिघात, सामाजिक अभिघात, मनोवैज्ञानिक अभिघात र शारीरिक अभिघात गरी विभिन्न वर्गमा वर्गीकरण गर्न सकिन्छ । यहाँ ‘त्यसपछि फुलेन गोदावरी’ कथासङ्ग्रहमा रहेका कथाहरुमा अभिव्यक्त अभिघातका मुख्य प्रकारलाई निम्नानुसार चर्चा गरिएको छ ः
जम्मा बीसवटा कथाहरु समेटिएको यस सङ्ग्रहको ‘दृश्यान्तर’ कथाबाहेक बाँकी उन्नाईसवटै कथामा मृत्युको चर्चा गरिएकाले यी कथाहरुमा शारीरिक अभिघात घनीभूत रुपमा देख्न पाइन्छ । ‘उनी योगमाया भइन्’, ‘पानीमुनिको जून’, ‘चोट’ र ‘त्यसपछि फुलेन गोदावरी’ कथामा स्व–अभिघातका लक्षणहरु देख्न पाइन्छ । त्यस्तै ‘कर्णालीको पल्लो किनार’, ‘लौरो’, ‘रश्मि’ र ‘त्यसपछि फुलेन गोदावरी’ कथामा सांस्कृतिक अभिघात भेटिन्छ । यस सङ्ग्रहका ‘अदालतबाहिर’, ‘ताल्चा’, ‘हुलाकी’, ‘भुवन’, ‘पर्खाल र परेवाहरु’ तथा ‘कौब्रु’ कथामा सामाजिक अभिघात पाइन्छ । त्यस्तै ‘नर्सरी’, ‘निदाल’, ‘दृश्यान्तर’, ‘पानीमुनिको जून’, ‘चोट’ तथा ‘लामबद्ध प्रतिघातहरु’ मनोवैज्ञानिक अभिघातका नमुना हुन् ।
निष्कर्ष
वर्तमान जीवन पीडापूर्ण छ । यही पीडालाई शब्दका माध्यम बनाएका छन् आख्यानकार महेश पौड्यालले । नेपाल र सीमावर्ती मुलुक भारतका विभिन्न भूभागका पीडालाई उनले आफ्ना कथामा उनेका छन् । अभिघातैअभिघातले भरिएको यस सङ्ग्रहका ‘नर्सरी’ र ‘त्यसपछि फुलेन गोदावरी’ उम्दा अभिघातका कथाहरु हुन् ।
कृति : त्यसपछि फुलेन गोदारी
विधा : कथा
कृतिकार : महेश पौड्याल
प्रकाशक : ऐश्वर्य प्रकाशन प्रा.लि.
संस्करण : २०७४
मूल्य : रू. ३०५।–

Comments

About the author

चितवन पोष्ट