गृह » महाकविको जीर्ण घर
सम्पादकीय

महाकविको जीर्ण घर

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ मैतीदेवीस्थित घर २०७२ सालको महाभूकम्पले क्षति पु¥याएपछि अहिले जीर्ण बनिसकेको उक्त घरमा ताल्चा लगाएर राखिएको छ । महाकवि देवकोटाको जन्मथलो र साहित्यको कर्मथलो बनेको सो भवन जीर्ण भएपछि त्यसको आफ्नै ऐतिहासिक मह¤व रहेको छ । अहिलेभन्दा १०९ वर्षअघि सोही भवनमा जन्मिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यलाई झन्डै दुई दर्जन गहकिला साहित्यिक कृतिहरु उपहारस्वरुप दिएर ठूलो गुन लगाएका छन् । त्यस्ता महान् व्यक्तित्वको कुनै समयको निवास रहेको सो जीर्ण भवन सरकारले मर्मतसम्भार गरेर संग्रहालय बनाउन विशेष सक्रियता देखाउनु पर्ने आवश्यकता महसुस गरिएको छ ।
विश्व मानव समुदायमा साहित्यकारहरुलाई अत्यन्त सम्मान र मर्यादा प्रदान गरिन्छ । चर्चित साहित्यकारहरुका नाममा सहर र सडकको नाम राख्ने तथा उनीहरु बसेको घरलाई सरकारले अधिग्रहण गरेर राष्ट्रिय संग्रहालय बनाएका धेरै उदाहरणहरु हामी देख्न सक्दछौँ । तर, विडम्बना यो छ कि आँशुकविका रुपमा परिचित महाकवि लक्ष्मीप्रसाद देवकोटालाई उनको जीवनकालमा उचित सम्मान गर्न जनता र सरकार दुवैले सकेनन् । देवकोटाले आफू शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापना गर्ने काममा तत्कालीन कवि राजा महेन्द्रसँग सक्रिय भूमिका निर्वाह गरेका थिए ।
राष्ट्रिय समाचार समितिले महाकवि देवकोटाको ताल्चा लागेको जीर्ण घरको फोटोसहितको समाचार सम्प्रेषण गरेको थियो र चितवन पोष्ट दैनिकले हिजोको अंकमा जीर्ण भवनको फोटोसहितको समाचार प्रकाशन गरेको थियो । उक्त भवनको ऐतिहासिक मह¤वलाई बुझेर नेपाल सरकारले आवश्यक मर्मतसम्भार गरी पर्यटकीय केन्द्रका रुपमा संग्रहालय बनाउनु पर्ने आवश्यकता महसुस गरिएको छ । महाकवि देवकोटा परिवारको मात्र नभएर राष्ट्रकै सम्पत्ति भएको कारण उनीप्रति सम्मान प्रकट गर्नु सम्पूर्ण नेपाली जनता र नेपाल सरकारको परम कर्तव्य हो । उनले कुनै समय सोभियत संघको तास्कन्दमा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सारगर्भित सम्बोधन गरेको कुरा अहिलेसम्म पनि चर्चाको विषय बनेको छ । त्यस्ता महान् कविलाई राष्ट्रले जीवनकालमा उचित सम्मान गर्न नसके पनि मरणोपरान्त उनको निवासलाई उचित सम्मान प्रदान गर्न नेपाल प्रज्ञाप्रतिष्ठानजस्तो निकायले विशेष सक्रियता र चासो देखाउनु पर्ने आवश्यकता अहिले टड्कारो रुपमा महसुस गरिएको छ ।

Comments

About the author

चितवन पोष्ट