गृह » मुुलुक चुनावी चहलपहलमा
सम्पादकीय

मुुलुक चुनावी चहलपहलमा

हिजो कार्तिक १६ गते दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरुले आआफ्नो मनोनयन दर्ता गराएका छन् । मनोनयन प्रक्रियासँगै मुलुक चुनावी सक्रियता र चहलपहलमा होमिएको छ । यसपटकको निर्वाचनमा दुई प्रमुख गठबन्धन लोकतान्त्रिक शक्ति र वामपन्थी गठबन्धन मुख्य रुपमा दुई भागमा धुव्रीकृत भएर चुनावी मैदानमा उत्रिएका कारण शक्तिको प्रतिस्पर्धा हुने भएकाले विगतको निर्वाचनभन्दा बढी रोचक हुने अपेक्षा गरिएको छ । तर, दुवैतर्फका गठबन्धन शक्तिलाई सिटको तालमेल र बाँडफाँड मिलाउन अन्तिम घडीसम्म पनि मुश्किल परेको थियो ।
अब आगामी निर्वाचन तोकिएको मितिमा नहुने हो कि भन्ने आशंका र भ्रम पनि अन्त्य भएको छ । चुनावका लागि सरकार, निर्वाचन आयोग, प्रमुख राजनीतिक दलहरु सबै सरोकारवाला पक्षहरु पूर्ण रुपमा तयारी अवस्थामा रहेको पाइन्छ । यो चुनावमा सहभागी नहुने साना राजनीतिक दलहरुले भविष्यमा थप घाटा व्यहोर्नुपर्ने अनुमान अहिले गर्न थालिएको छ । लोकतान्त्रिक भनिएको शक्तिले राजतन्त्रका हिमायती राप्रपालाई पनि समावेश गरेकोमा आलोचना पनि भइरहेको छ । राजनीति भनेको विरोधको खुला मैदान पनि हो । मैदानमा उत्रिएपछि अरुलाई आलोचना नगरी आफ्नो पक्ष राम्रो छ भनेर प्रमाणित गर्न पनि गाह्रो हुने गरेको अनुभव उनीहरुसँग रहेको छ ।
अबको निर्वाचनमा जुन शक्ति विजयी भएर सरकारमा गए पनि उसले समृद्ध नेपालको निर्माण गर्नुमा नै आफ्नो ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनसँगै गणतन्त्रले संस्थागत रुप लिने भएको कारण अब संक्रमणकाल र राजनीतिक अस्थिरताको चर्चा स्वतः समाप्त भएको छ । अब सबैको ध्यान आर्थिक समृद्धि, जीवनस्तरमा आमूल परिवर्तन र राष्ट्रको चौतर्फी विकासमा केन्द्रित हुनु आवश्यक देखिएको छ । अब सरकारको नेतृत्व गर्ने जिम्मेवार राजनीतिक दलले एक्काइसौँ शताब्दीको नेपाल निर्माण गर्ने प्रतिबद्धतासहित त्यसको खाका आमजनतासमक्ष सार्वजनिक गर्नु पनि त्यत्तिकै जरूरी हुन आउँछ । अब भाषण गरेर मात्र नेता हुने दिनको अन्त्य भएको यथार्थलाई आत्मसात् गर्दै स्वस्थ चुनावी प्रतिस्पर्धाको माध्यमबाट सरकारमा जाने शक्तिले के गर्दा गरिब, बेरोजगार र अशिक्षित नेपाली नागरिकलाई शिक्षित, सक्षम र समृद्ध बनाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ ।

Comments

About the author

चितवन पोष्ट