गृह » सुरू भयो गालीगलौचको राजनीति
सम्पादकीय

सुरू भयो गालीगलौचको राजनीति

निर्वाचन नजिकिँदै गर्दा एकले अर्कोलाई गालीगलौचको राजनीति पनि सुरू भएको पाइएको छ । यसको सुरूवात सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रबाट गरेको छ । उसले आफ्नो अधिकांश ऊर्जा आफ्नो प्रमुख प्रतिस्पर्धी तालमेलसहितको वामपन्थी घटकलाई गालगलौच गरेर गत मंगलबार चुनावी घोषणापत्र जारी गरेपछि अब अर्को पक्षले पनि यस्तै तयारी गरेको हुनसक्ने अनुमान गरिएको छ । आफ्नो पार्टीको नीति र कार्यक्रमबारे आमनागरिकलाई सुसूचित गराउने काममा प्रयोग हुनुपर्ने घोषणापत्रलाई कांग्रेसले वामपन्थी शक्तिलाई अधिकतम शब्दमा गाली गरेर आफ्नो पार्टी नै सर्वेसर्वा भएको उद्घोष गरेपछि राजनीतिमा गाली भन्ने शब्दको समेत अवमूल्यन भएको अनुभव अहिले गरिएको छ ।
गणतन्त्रका संवाहक शक्तिहरुबीच यसरी चुनावको मुखमा आएर आफ्नो राम्रो काम र भावी योजनाबारे चर्चा गर्नुभन्दा पनि प्रमुख प्रतिपक्षी दललाई विष वमन गर्नु अवश्य पनि शोभनीय काम होइन । आफू राम्रो छु भन्ने कुरा प्रमाणित गर्न अरुलाई गालीगलौच गरिरहनु आवश्यक छैन । नेपाली कांग्रेसका संस्थापक नेता बीपीको पालादेखि सुरू भएको प्रजातान्त्रिक समाजवादको सपना सात दशक बित्दा पनि अझै पूरा हुन सकेको छैन । बरू, कांग्रेसले आफ्ना प्रिय नेता बीपीको सपना साकार गराउन सक्ने गरी चुनावी घोषणापत्रमा चर्चा गरेको भए त्यो सबैका लागि चासो र रूचिको विषय बन्न सक्ने थियो ।
नेपालको वामपन्थी आन्दोलनले आफ्नो पुरानो मूल्य र मान्यतालाई धेरै परिमार्जन गरेर समाजवादी मोडललाई आफ्नो गन्तव्य बनाएको छ । साम्यवाद अब इतिहासको पाना बनिसकेको छ । संसदीय शासन प्रणालीअन्तर्गत खुला प्रतिस्पर्धाको माध्यमबाट बहुदलीय जनवादलाई अंगीकार गर्दै अघि बढ्ने नेकपा एमालेको नीतिमा अन्य वाम घटक पनि यसै छातामुनि समाहित हुने अपेक्षा वाम राजनीतिका विश्लेषकहरुले अहिले गरिरहेका छन् । नागरिक समाज धेरै सचेत भइसकेको वर्तमान अवस्थामा परिवर्तन पनि हामी सबैको चाहना बनिसकेको छ । तसर्थ, मतदाताको मन जित्न अब राजनीतिक दलहरुले यथार्थवादी बनेर चुनावी मैदानमा उत्रिनु आवश्यक हुन्छ । गालीको राजनीति पानीको थोपाझैँ क्षणिक हुन्छ र यसले मतदातालाई प्रभाव पार्न सक्दैन भन्ने कुरा नेपाली कांग्रेसजस्तो प्रजातन्त्रको पहरेदार पार्टीले बुझ्नुपर्ने कुरा हो । एक्काइसौँ शताब्दीका सचेत मतदातालाई अब कसैले दिग्भ्रमित गर्न नसक्ने कुरा हामी सबैले बुझ्नु जरूरी छ ।

 

Comments

About the author

चितवन पोष्ट