गृह » पञ्चायतकी नायिका नीतालाई अमेरिकन अवार्ड
कला

पञ्चायतकी नायिका नीतालाई अमेरिकन अवार्ड

भरतपुर । आगामी फागुन १७ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कथानक चलचित्र पञ्चायतकी नायिका नीता ढुङ्गानाले अमेरिकामा भएको फिल्म फेष्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड पाएकी छन् ।
५० वर्षअघिको कथालाई पर्दामा उतारेको चलचित्र पञ्चायत र नायिका ढुङ्गानाले अमेरिकाको क्यालिफोर्नियास्थित सनफ्रान्सिस्कोमा आयोजित ‘सनफ्रान्सिस्को फिल्म फेस्टिभल’ मार्फत अवार्ड पाएकी हुन् । चलचित्र ‘पञ्चायत’ले विदेशी भाषाको उत्कृष्ट चलचित्रमा विधामा उत्कृष्ट अवार्ड पाएको हो ।
अंग्रेजी चलचित्र बाहेक अन्य विदेशी चलचित्रमा ‘पञ्चायत’ले उत्कृष्ट अवार्ड पाएको चलचित्रका कार्यकारी निर्माता रवि अधिकारीले बताए । नेपालमा नेशनल अवार्डसमेत प्राप्त गर्न सफल नायिका ढुङ्गाना सानै उमेरदेखि अभिनयमा लागेकी नायिका हुन् । हालसम्म झण्डै दुई दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी नायिका ढुङ्गाना अभिनित चलचित्रहरू ‘दबाब’, ‘छ एकान छ’, ‘नोटबुक’, ‘मसान’, ‘हाम्रो माया जुनी–जुनीलाई’, निर्भयलगायत प्रदर्शन भइसकेका छन् । उनलाई सशक्त अभिनयकै कारण अन्तर्राष्ट्रिय चलचित्र अवार्डमार्फत सम्मान गरिएको हो । यहि अक्टोबर २५ देखी २९ सम्म अमेरिकामा फिल्म फेष्टिभल आयोजना भएको थियो । गत वर्ष नेपाली चलचित्र ‘तीन घुम्ती’ले उत्कृष्ट विदेशी भाषाको चलचित्र पुरस्कार जित्न सफल भएको थियो ।
यसवर्षको चलचित्र फेष्टिभलमा हलिउड र एशियन गरि २०० चलचित्रले प्रतिस्पर्धा गरेका थिए । ग्रामीण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पञ्चायतको लेखन तथा निर्देशन शिवम् अधिकारीले गरेका हुन् । गणेश गिरीको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले लगानी गरेका छन् ।
सरोज खनाल र नीता ढुङ्गाना चलचित्रको मुख्य भूमिकामा छन् भने रूपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतले पनि अभिनय गरेका छन् ।

 

Comments

About the author

चितवन पोष्ट