गृह » सडक दुर्घटनाको पुनरावृत्ति
सम्पादकीय

सडक दुर्घटनाको पुनरावृत्ति

नेपालमा सडक दुर्घटना अब नियमित आकस्मिकताजस्तै भएको छ । धादिङको गजुरीमा केही दिनअघि भएको सडक दुर्घटनामा ३१ जनाको ज्यान गएको खबर सेलाउन नपाउँदै सोमबार गुल्मी र उदयपुरमा भएको सडक दुर्घटनामा १९ जनाको ज्यान गएपछि नेपालको सडक संरचना, गाडी र चालकको अवस्था अब गम्भीरतापूर्वक सोच्नुपर्ने भएको छ । अदक्ष चालक, मापसेको प्रयोग र पहाडी भूभागमा रहेका घुम्ती र मोडहरुले सडक दुर्घटनालाई पटकपटक निम्त्याइरहेका छन् । एक सरकारी तथ्याङ्कअनुसार नेपालमा प्रतिवर्ष दुई हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।
ट्राफिक प्रहरी कार्यालयहरुले ठाउँठाउँमा चेकपोस्ट राखेर चालकको स्थिति र गाडीको स्थिति पनि चेकजाँच गर्ने व्यवस्था मिलाइएमा धेरै हदसम्म सडक दुर्घटना न्यूनीकरण हुनसक्ने अनुमान गर्न सकिन्छ । पटकपटक भइरहेका सडक दुर्घटनाहरुले सर्वसाधारण नागरिकको मनमस्तिष्कमा नकारात्मक असर पार्दै लगेको छ । आफ्नो गन्तव्यमा जानका लागि गाडी नचढी पनि नहुने र चढ्दा ज्यानैसम्म जानसक्ने अवस्थाको अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने अवस्था उत्पन्न भइसकेको छ । यसरी पटकपटक सडक दुर्घटना भइरहँदा त्यसबाट ठूलो संख्यामा भइरहेको मानवीय क्षतिलाई कदापि मूल्यमा आँकलन गर्न सकिँदैन । मानिसको विकल्प मानिस मात्र हुनसक्ने भएकाले सरकार यस विषयमा अत्यन्त संवेदनशील बन्नुपर्ने अवस्था आइसकेको छ ।
यसरी सडक दुर्घटना निरन्तर हुने गरेको छ भने नेपालको हवाई सेवा पनि त्यति भरपर्दो र सुरक्षित रहेको छैन । पहाडी भूभागमा बनेका सडकहरुको संरचनाको कमजोर पक्ष र मुग्लिन–नारायणगढ सडकखण्डको स्थितिले धेरै जनाको ज्यान लिइसकेको परिप्रेक्ष्यमा अब यो दुःखद अवस्था अन्त्य गर्न सडक विभाग र ट्राफिक प्रहरीले समन्वयात्मक भूमिका निर्वाह गर्नु अब अत्यावश्यक भइसकेको छ । गाडी दुर्घटना भइरहने, मानिसहरु ठूलो संख्यामा मरिरहने र सरकार मूकदर्शक भएर हेरिरहने वर्तमानको दुःखद नियति अब जतिसक्दो छिटो अन्त्य हुनुपर्दछ । एक जना अभिभावकको दुर्घटनामा परेर अकालमा मृत्यु हुँदा सिंगो परिवार प्रभावित हुने गर्दछ । त्यतिमात्र नभएर धेरै जनाको भाग्य, भविष्य र रंगीन सपनाहरुलाई पनि एकैचोटि हावामा उडाउने गर्दछ । तसर्थ, हाल भइरहेको सडक दुर्घटना अन्त्य गर्न अब ठोस कदम चाल्नु आवश्यक भइसकेको छ ।

 

Comments

About the author

चितवन पोष्ट