गृह » प्याराडाइज युवा क्लब विजयी
खेलकुद समाचार

प्याराडाइज युवा क्लब विजयी

रत्ननगर । पूर्वी चितवनको रत्ननगर–६ स्थित दोरङ्गीमा आयोजना गरिएको वडास्तरीय फुटबल प्रतियोगितामा प्याराडाइज युवा क्लब रत्ननगर–७ विजयी भएको छ ।
शुभदीपावली तथा छठ पर्वको अवसरमा दोरङ्गी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा सीटीएफ युथ सोसाइटी बहेरालाई १ का विरुद्ध ३ गोल अन्तरले पछि पार्दै प्याराडाइज युवा क्लबले उपाधि जितेको हो । १३ टीम सहभागी सो प्रतियोगिताको अनुशासित टीममा कालिका नगरपालिका वडा नं ३ को लालीगुँरास युवा क्लब, उत्कृष्ट खेलाडीमा प्याराडाइजका अनिल मगर र उत्कृष्ट गोल किपरमा सोही क्लबका साजेस चौधरी घोषित भएको क्लबका सचिव भाजुराम महतोले जानकारी दिए । प्रतियोगितामा पहिलो हुने टीमले तीन हजार रुपैयाँ नगदसहित शिल्ड र मेडल, दोस्रो हुने टीमले नगद एक हजार ५ सय रुपैयाँ र शिल्ड, मेडल प्राप्त गरेको सचिव महतोले जानकारी दिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का वडाध्यक्ष बलराम दाहालले विजयी टीम र खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताका संयोजक बासु चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा नं ६ का वडा सदस्य किरण महतो, केशरीमाया सुनार, मृगकुञ्जका राममणि खनाल, स्थानीय समाजसेवी केदार चापागाईं र क्लबका सदस्य मनोज चौधरीले मन्तव्य राखेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट