गृह » ‘प्रेमप्राप्तिका लागि गरिने प्रार्थना हो गजल’
अन्तर्वार्ता साहित्य

‘प्रेमप्राप्तिका लागि गरिने प्रार्थना हो गजल’

अमृता न्यौपाने ‘उदासी’
गजलकार नवराज निर्वाहको जन्म आजभन्दा लगभग ३५ वर्षअघि चितवनको पार्वतीपुरमा भएको हो । औपचारिक शिक्षामा उनले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् भने उनको पेसा शिक्षण हो । उनी ‘कर्मी नाट्य समूह’, ‘अराजक अक्षर समूह’लगायतका संस्थामा आबद्ध छन् । निर्वाहका रचनाहरु विभिन्न पत्रपत्रिकामा फुटकर रुपमा प्रकाशित छन् भने उनी विभिन्न साहित्यिक प्रतियोगितामा पुरस्कृत पनि भएका छन् । उनको प्रकाशोन्मुख कृति ‘निर्वाह चल्छ’ गजलसङ्ग्रह हो । उनी हाल एक श्रीमती र एक छोरीका साथ भउमनपा–११, बसेनीमा बस्छन् । प्रस्तुत छ, चितवन पोष्ट दैनिकले गजलकार नवराज निर्वाहसँग गरेको स्रष्टासँग संवाद :
१. गजल लेखनयात्राको सुरूवात कहिलेबाट र कसरी गर्नुभयो ?
– कहिलेदेखि गजल लेख्न थालियो भन्ने हेक्का छैन । २०५८ सालतिर चितवनमा पहिलो रेडियो सिनर्जी एफएम सुरू भएपछि गजल सुनिन र मन पराइन थालियो । एक किसिमको मिठास र आनन्द पाइन थालियो, अनि सुन्दासुन्दै आफूलाई नि गजल फुर्न थालेछ । लेखेपछि एफएममा पठाइने गरिन्थ्यो । त्यहाँ गजल वाचिन थाल्यो । साथीभाइले तैँले लेखेको गजल सुनियो नि यार एफएममा भन्दै आउथेँ अनि झन् लेख्न थालियो ।
२. आफ्नो साहित्यिक प्रेरणाको स्रोत के र कसलाई मान्नुहुन्छ ?
– ठ्याक्क यही व्यक्तिको कृतिले भन्दा पनि मलाई बालकुमारी माविमा नेपाली पढाउने गुरूवर डा. लक्ष्मणप्रसाद गौतम र गुरूआमा सरस्वती रिजालका कर्र्णिप्रय स्वरमा लय हाली पढिएका कविता अनि मनै छुने गरि विश्लेषण गरिएका साहित्यका विभिन्न विधाहरुले साहित्यप्रति झकझकाएको थियो । र अझ भन्नुपर्दा, मातृवियोगका कारणले आफूले खाएका हण्डरहरु, भोग्नुपरेका तीता र नमीठा कथाव्यथाका अनुभवहरुलाई कागजमा पोख्दापोख्दै अहिले लेख्ने लत बसेको छ ।
३. तपाईंको विचारमा साहित्य के हो ? साहित्य कसका लागि हुनुपर्दछ ?
– मलाई लाग्छ, साहित्य समाजको ऐना हो जसलाई कागजी समतल सतहमा विभिन्न रुपमा उतारेर आनन्द लिने र दिने काम गरिन्छ ।
मेरो व्यक्तिगत भोगाइमा भन्नुपर्दा मचाहिँ आफ्नै आनन्द र सन्तुष्टिका लागि लेख्छु र त्यसलाई पढेर अनुरागीहरुले पनि आनन्द लिनुहुन्छ होला । तर, अहिले पनि प्लेटोले भनेजस्तै देश, समाज र व्यक्ति सुधारक हुनुपर्दछ भन्ने मान्यता नि रहिआएको छ ।
४. चितवनका साहित्यिक गतिविधिमा कत्तिको सहभागी हुने गर्नुभएको छ ?
– चितवनमा साहित्यसँग सम्बन्धित धेरै नै कार्यक्रमहरु हुँदै आइरहे पनि कार्यव्यस्तताले गर्दा मनले चाहँदाचाहँदै पनि सोचेजति उपस्थित हुन पाइरहेको छैन । अध्ययनको सिलसिलामा काडमाडौँमा बिताइएको एक दशक अवधिमा चाहिँ उल्लेख्य रुपमा निकै चाखका साथ साहित्यिक बसाइँहरुमा गएर उभिने गरिन्थ्यो । अहिले आफू जान नभ्याइएका कार्यक्रमहरु प्रत्यक्ष अथवा रेकर्डको माध्यमबाट साहित्यिक तिर्खा मेट्ने गर्दछु ।
५. गजल विधाबाट प्रेमरस व्यक्त गर्न सजिलो हुन्छ भन्छन्, युवा गजलकारहरु । यसमा तपाईंको अभिमत के रहेको छ ?
– एकदम, यसमा दुईमत नै देखिँदैन । गजलका सुरूवाती इतिहासलाई हेर्दाखेरि गजलको मुख्य उद्देश्य नै प्रेमरस, प्रेमभाव पस्कनु र पोख्नु हो । गजल कुनै सुन्दर नारीप्रति मोहित भएर उसको रुपको बयान गर्दै लेखिएको साहित्यिक रुप हो । नारीसँग गरिएका प्रणयवार्ता हो । प्रेमिकाका विषयमा कुराकानी हो । गजल आफैँमा प्रेमिल छ । स्रोता र पाठकलाई चरप्प बाँधेर मादकता दिने खालको हुन्छ । यसमा प्रयोग गरिएका काफिया, रदिफ, रूक्नहरुको श्रृंगारिक तालले बेताल बनाई उडाइदिन्छ प्रेमिल दुनियाँमा ।
६. साहित्यमा गजललाई ‘रूने माध्यम’ पनि भनिन्छ । के गजलबाट स्रष्टाहरु रून सक्छन् ?
– रूनेमात्र नभई रूवाउने विधा पनि भन्छु म त । प्रेमको भीख माग्न गरिने आलाप हो गजल । फुक्र्याइँ हो गजल, धुक्र्याइँ हो गजल । प्रेमप्राप्तिका लागि गरिने प्रार्थना हो गजल । ‘तिमीबिना मरिहाल्छु आउ बचाऊ’ भनी मागिने गुहार हो गजल । प्रेमरस भरिएको प्रेमिकाको मुहार हो गजल । प्यास हो गजल । प्यासी हो गजल । पानी हो गजल । आगो हो गजल । अब आफैँ भन्नुस्, रूने हो कि हँसाउने माध्यम हो गजल ?
७. मोतीराम भट्टकालीन नेपाली गजल र हालको नेपाली गजलमा गुणस्तरको हिसाबले कत्तिको फरक अनुभव गर्नुहुन्छ ?
– कलकल बगेको स्वच्छ, स्निग्ध नारायणीमा बाढी आउँछ, पानीको मात्रा बढ्छ, हाँ हाँ र हुँ हुँ गर्दै सब बढार्छ । तर, नारायणीको सुन्दरता र शालीनतामा ह्रास आउँछ । हो, त्यस्तै भेद छ मोतीकालीन गजल र हालको गजलको गुणस्तरमा । तर, अहिलेका गजलका सबल पक्ष भनेको विषयवस्तुको विविधता हो । संगीतको समिश्रण गरी गाइने र विभिन्न विद्युतीय माध्यममा दोहोरिरहने कारणले गजल अहिलेका युवापुस्तामाझ लोकप्रिय बनिरहेको चाहिँ पक्कै हो ।
८. अंग्रेजी साहित्य र नेपाली साहित्यको स्तरमा केकत्तिको भिन्नताको अनुभव गर्नुहुन्छ ?
– अंग्रेजी भाषा एउटा माध्यम भाषा हो, जुन संसारका अधिकांश देशहरुमा प्रचलित छ । अंग्रेजी भाषाको पहुँच धेरै भएकाले यस भाषामा लेखिएका साहित्यको साहित्यिक दायरा नेपाली साहित्यको तुलनामा निकै फरक छ । गुणस्तरको कुरामा नेपाली साहित्य पनि साहित्यानुरागीहरुको प्यास मेटाउने खालको नै छ भन्नुपर्दछ ।

(गजल)
पोखरेली उनी रैछिन् म चितवनको
तालको कुरा गरिनँ मैले हरियो वनको

मुस्कानमा माछापुच्छ«्रे टल्काउँदै बोल्दा
हात्ती, गैँडा, मृग, मयूर नाचे मेरा मनको

रुपा, फेवा, बेगनासझैँ शान्त र शालीन
देवघाटमा देख्दा आभास आफ्नोपनको

सिग्लेसको गुराँस शिरमा साह्रै सुहाएको
लाठी नाच सौराहामा मारिन् एक फन्को

सेतीसरी जीउडाल फुक्दै, सुक्दै, लुक्दै
वाल्मीकिले आश्रम गई बयान गरे तनको

Comments

About the author

चितवन पोष्ट