गृह » जिउनी बेचेर मन्दिर र स्कुलको भवन निर्माण 
अर्थ प्रमुख समाचार

जिउनी बेचेर मन्दिर र स्कुलको भवन निर्माण 

भरतपुर । बुढेसकालमा खर्च गर्न सजिलो हुन्छ भनेर बाबुआमाले छोराहरुलाई अंश लगाएपछि आफ्नो नाममा पनि केही जग्गा जमिन राख्छन् । भरतपुरका कुलबहादुर भण्डारीले पनि त्यसै गरे । तर, आफ्नो नाममा राखेको जिउनीको ठूलो हिस्सा उनले आफ्नो लागि नभएर सामाजिक क्षेत्रमा खर्च गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं १२ नौरङ्गेमा रहेको धनगढा क्षेत्र चितवनको नयाँ पर्यटकीय क्षेत्रका रुपमा उदाउँदै छ । धनगढा पोखरी र मन्दिर हेर्न त्यहाँ दिनहुँ भीड बढ्दो छ । सो क्षेत्रको विकासमा भण्डारीको योगदान मह¤वपूर्ण छ । त्यहाँ रहेको मन्दिर उनले आफ्नै खर्चमा बनाएका हुन् ।
विसं २०१८ सालमा लमजुङबाट चितवन झरेको भण्डारीको आस्थाचोकमा बसोबास छ । नौरङ्गेको धनगढा क्षेत्र पहिला निकै उपेक्षित थियो । अहिले निकै भब्य देखिने पोखरी कुनै समय अनेक खालका झार झाडीले पुरिनै लागेको थियो । ५० सालतिर आफू र हर्कबहादुर केसी भएर त्यहाँको झाडी र ढड्डी फाँड्न सुरू गरेको भण्डारीले बताए ।
अहिले पोखरी अगाडि मन्दिर छ । ४०÷४२ सालमा त्यहाँ एउटा थुम्को र जमुनाको रुख थियो । पुरातत्व विभागको टोलीले सो ठाउँमा राजा मणिमुकुन्द सेनकै पालामा मन्दिर बनेको र ९० सालको भूकम्पमा मन्दिर भत्केको निष्कर्ष निकाल्यो । त्यस ठाउँमा फेरि मन्दिर बनाए ऐतिहासिक ठाउँको जीर्णोद्वार हुने देखेर मन्दिर बनाउन आफैँ तम्सिएको उनले बताए ।
अहिले बनेको मन्दिरमा लगभग उनकै पूरै खर्च छ । ‘लगभग ६० लाख रुपैयाँ खर्च भएको छ । सो रकम मैले आफ्नै चार कठ्ठा जग्गा बेचेर जुटाएको हो’ भण्डारीले भने । हाल मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका भण्डारीलाई बुधबार एकीकृत धनगढा विकास समितिले आयोजना गरेको कार्यक्रममा सम्मान पनि गरियो ।
धनगढा पोखरी अगाडि रहेका कारण सो मन्दिरलाई धनगढा मन्दिर भने पनि सो मन्दिर धनेश्वर महादेवको हो । मन्दिरमा पुरानो बसाहा र गणेशका मूर्तिहरु छन् । मन्दिर बनाउन जमुनाको रुख काट्दा पुराना मूर्ति र शिव लिङ्ग फेला परेको भण्डारीले जानकारी दए ।
दुई छोरामध्ये एक छोरा अमेरिकामा छन् । एउटा छोरा व्यापारमा छन् । त्यसैले आफू निस्फिर्की समाजसेवामा लागेको उनले बताए । धन भए पनि सामाजिक काममा खर्च नगर्नेहरु कति छन् कति । तर, सामाजिक भावना भएका कारण भण्डारीले आफ्नो महङ्गो जग्गा बेचेर सामाजिक काममा खर्च गरेको स्थानीयहरु बताउँछन् ।
उनले आस्थाचोकको मोहन माविका लागि पनि सहयोग गरेका छन् । विद्यालय भवन बनाउन ५५ लाख रुपैयाँ जति सहयोग गरेको भण्डारीले जानकारी दिए । शिक्षा र संस्कार संस्कृति समाज विकासका लागि मह¤वपूर्ण हुने भण्डारीको भनाइ छ । त्यसैले पुरातात्विक मह¤व बोकेको मन्दिर क्षेत्र र विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई निकै सन्तोष भएको उनले बताए ।
धनगढा क्षेत्र २०/३० वर्षअघि निकै दयनीय अवस्थामा थियो । विस्तारै रुप फेर्दै गएको देख्दा उनी दंग छन् । धनगढा क्षेत्र हराभरा होस् । देख्दै सुन्दर होस् भन्ने चाहना उनको छ । हिजो बिरुप झाडी भएको ठाउँमा आज पोखरी र पोखरीको बीच–बीचमा मन्दिर भएको देख्दा उनी निकै प्रफुल्लित हुने गर्छन् ।

शिलालेख अनावरण 
भरतपुर । दीपावली तथा छठको अवसर पारेर धनगढा एकीकृत विकास समितिले धनगढा क्षेत्रभित्र बुधबार शिलालेख अनावरण गरेको छ ।
कार्यक्रममा शुभकामना आदानप्रदानसँगै आजीवन सदस्यलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ । कार्यक्रमको अवसर पारेर वक्ताहरुले धनगढालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय आन्तरिक पर्यटकको उपस्थिति बाक्लिदै गएको भए पनि उक्त ठाउँ साघुँरो भएकाले स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै क्षेत्र फराकिलो पार्नुपर्ने एमाले नेता विजय सुवेदीले बताए । सानो ठाउँमा भौतिक संरचना निर्माण गर्न गाह्रो हुने भएकाले पर्यटकहरुको मन लोभ्याउनको लाग उक्त धनगढा पार्कको ठाउँ विस्तार गर्नुपर्ने सुवेदीको भनाइ छ । धनगडामा आन्तरिकका अलावा बाह्य पर्यटक समेत भित्र्याउन सकेको खण्डमा पर्यटन प्रवद्र्धनका साथै आम्दानीको राम्रो स्रोत उपलब्ध हुने बताइएको छ । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डाक्टर तिलचन्द्र भट्टराई प्रमुख अतिथि रहेका थिए । भट्टराईले धनगडा क्षेत्रको एकीकृत विकासको लागि आफूले सक्दो सहयोग गर्ने भट्टराईको भनाइ छ ।
कार्यक्रममा भरतपुर वडा नम्बर १२ का अध्यक्ष नरेन्द्र कन्दङवा, समाजसेवी बाबुराम अधिकारी, दिनेशकुमार चुके, ज्योति पुस्तकालयका अध्यक्ष प्रविन पन्त, धनगढा एकीकृत विकास समितिका सल्लाहकार सुदिपसिंह अधिकारीलगायतले मन्तव्य राखेका थिए । धनगढा एकीकृत विकास समितिका अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष मीरा घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन् ।

Comments

About the author

चितवन पोष्ट