गृह » संगीतमय बन्यो शक्तिखोर
कला समाचार समाज

संगीतमय बन्यो शक्तिखोर

शक्तिखोर । मंगलबार शक्तिखोर संगीतमय बनेको छ । स्थानीय शक्ति युवा क्लबले तिहारको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त विभिन्न कलाकारहरूको प्रस्तुतिले संगीतमय बनाएको हो । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायकहरू विष्णु खत्री, पुष्कल शर्मा, गायिका साबित्री जोशी, नवीन खड्कालगायतका कलाकारहरूले माहोल तताए । नेपाली चलचित्र क्षेत्रका निकै व्यस्त गायक तथा संगीतकार चेतन सापकोटाले पनि सहभागी दर्शकहरूलाई छमछमी नचाए । त्यतिमात्रै होइन, हास्य कलाकार विष्णु सापकोटा ‘हर्के हवल्दार’ र सुबोध गौतमको हास्यव्यङ्य प्रस्तुतिले दर्शकलाई मुर्छा पर्ने गरि हसाए ।
यसअघि गायक नवीन पौडेलले करिब दर्जन लोकदोहोरी गीत सुनाए भने हास्य कलाकार सुवोध गौतमको प्रस्तुतिले दर्शकहरू पेट मिचिमिचि हासे । कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका विभिन्न दलका शीर्षस्थ नेताहरूको क्यारिकेचर समेत गर्न भ्याए ।
मेरो देशमा एउटा बुद्ध पठाइदेउ भन्दै मञ्चमा गायक एवम् संगीतकार सापकोटाले उक्लिएपछि माहोल झनै तातेको थियो । त्यसपछि उनले क्रमशः दर्शकहरूसँग सेल्फी खिच्दै ‘दिल तोडेर नजाउ’, ‘मागेर पाउने भए म’, ‘भन भन आइ लभ यु’, ‘मलाई मेरै मायाको मात लाग्यो’ गाएपछि अन्तिममा ‘ठुङ्दे–ठुङ्दे गाउँदै मञ्चबाट बिदा भए । उनी बिदा भएपछि दर्शकदीर्घाबाट गडगडाहट ताली पाए ।
त्यसपछि मञ्चमा उदाएकी नव गायिका साबित्री जोशीले पनि माहोललाई उत्तिकै तताइन् । उनले ‘जुरेली चरी डालीडाली छ’, ‘चोखो माया’, ‘छड्के सलाम छ’, ‘हाम्रो गाउँको महोत्सव मेलामा’ लगायतका आफ्ना चर्चित गीत गाएर दर्शकलाई उचालिन् ।
त्यसपछि मञ्चमा उक्लिए चर्चित लोक तथा दोहोरी गायक एवम् शर्जक पुश्कल शर्मा । मुटु जलाई जलाईबाट मञ्चमा गीत गाउन सुरु गरेका शर्माले ‘आउँछ्यौ आउँदिनौं’, ‘लाउरे बाकी छोरी’, ‘सालैजो’ लगायतका आफ्ना चर्चित गीतहरु सुनाए । गायक शर्माले दर्शकसँगै गाएर कम्मर मर्काउन समेत भ्याए ।
त्यसपछि गायक विष्णु खत्रीले मञ्च तताए । साँझ परिसकेकाले उनलाई झनै सजिलो भयो । दिनभरको घामले आत्तिएका दर्शक पनि विष्णुको गीतमा छमछमी नाचे । प्राय जनताका गीत गाउने परिवर्तनका गीत गाउने गायक खत्रीले गाउँमा घर, बेसीमा खेत, भरिया दाइ, कम्मर भाँचेको, पल्टनबाट छुट्टीमा आको, भीरको बाटो धौलागिरीकोलगायतका गीत गाएर बिदा भए । साँझसम्म शक्तिखोर संगीतमय बन्यो ।

 

Comments

About the author

चितवन पोष्ट