गृह » कात्तिक ९ बाट ऐश्वर्य प्रदर्शनमा
कला

कात्तिक ९ बाट ऐश्वर्य प्रदर्शनमा

नारायणगढ । आउँदो कात्तिक ९ अर्थात छठ पूजाको दिनदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’को टोली सोमबार नारायणगढ आएको छ । चलचित्र प्रदर्शन मिति नजिकिँदै गर्दा ‘ऐश्वर्य’बाटै निर्मातासमेत बनेका नायक रमेश उप्रेती, नायिका दीपिका प्रसाई, प्रशान्त ताम्राकार, निर्मल शर्मालगायतका कलाकारको टोली नारायणगढ आइपुगेका हुन् ।
मोफसलमा प्रचार–प्रसार गर्नका लागि चलचित्र टोलीले पोखराबाट मोफसल यात्रा गरेको हो । यसपछि हेटौँडा हुँदै पूर्वका जिल्लाहरूमा पुग्ने योजनासहित चितवन आइपुगेको चलचित्रका निर्माता तथा नायक उप्रेतीले बताए । चलचित्र बलिउड स्टाइलमा निर्माण भएको भन्दै आफूले खेलेका चलचित्रहरूमा अहिलेसम्मकै फरक चलचित्र बनेको उनले दाबी गरे ।
‘यो मायाँले लौ न सतायो’ चितवनमै छायांकन गरिएको प्रसंग कोट्याउँदै नायक उप्रेतीले चितवनसँगको सम्बन्ध देशका अन्य शहरभन्दा फरक रहेको बताए । लामो समयसम्म अमेरिका बसेर फर्केका नायक उप्रेतीको यसअघि प्रदर्शन भएको चलचित्र ‘ब्रासलेट’ले भने त्यति सफलता पाउन सकेन । तर, ‘ऐश्वर्य’ भने धेरै समयअघिको सपना भएकोले लगानी र मेहेनतको हिसाबले सफलता पाउनेमा आफू ढुक्क रहेको बताए । ‘मेरो मात्रै सपना होइन, तीन करोड नेपालीको सपना हो ‘ऐश्वर्य’ उनले भने, ‘त्यसैले हलसम्म पुग्नुहुने दर्शकहरूले ‘ऐश्वर्य’ हेरेर सुख, शान्ति, प्राप्ति सबै कुरा पाउन सक्नुहुनेछ ।’ त्यसैले नेपाली चलचित्र क्षेत्रका दर्शकहरूका लागि फरक स्वाद पाउने उनको भनाइ छ ।
‘प्राइभेट जेट चढ्दैमा चलचित्र हिट हुने होइन,’ उनले भने, ‘चलचित्र चल्नको लागि दर्शकको रोजाइ र चाहनाअनुसारको कथावस्तु हुनुपर्छ । दर्शकको मन मस्तिस्कलाई छुने खालको कथा हुनुपर्छ ।’ दर्शकको माया र चाहनाअनुसार आफू फेरि फिल्म उद्योगमा फर्किएको भन्दै उनले भने, ‘मलाई सुपरस्टार हुनुछैन । केवल दर्शक र मिडियाकर्मीको साथ पाए पुग्छ ।’ देशबाहिर रहँदा पनि नेपाली फिल्मको विषयमा आफूलाई छटपटी भइरहने हुँदा फर्के लगत्तै छ महिना ‘ब्रासलेट’मा व्यस्त भएको र त्यसपछि पूर्णरूपमा ‘ऐश्वर्य’मा समय खर्चिएको उनले बताए । ‘करिब दुई वर्षसम्म म पूर्णरूपमा यही चलचित्रको लागि व्यस्त भएँ,’ उनले भने, ‘दर्शकको मायाले गर्दा मैले फेरि पनि चलचित्र क्षेत्रमा समय खर्चिएको छु । जबसम्म रहन्छु तबसम्म यही क्षेत्रमा रहन्छु । पैसा कमाउन जस्तो दर्शकको माया कमाउन सजिलो छैन ।’
साथै यही चलचित्रबाट नायिकाको रूपमा प्रवेश गरेकी दिपिका प्रसाई र खलपात्रको प्रमुख भूमिकामा रहेका प्रशान्त ताम्राकारको परिचयसमेत फेरिने उनले दाबी गरे । ‘सायद प्रशान्त जीले म खेल्दिन भनेको भए फिल्म नबन्न पनि सक्थ्यो,’ उनले भने, ‘किनकी दर्शकको रोजाइअनुसारको कथासँग पात्र म्याच हुनुपर्छ ।’
यस्तै चलचित्रकी नायिका दीपिका प्रसाईले पनि गीत र टे«लरबाटै आफ्नो उचाइ माथि पुगिसकेको महसुस भएको बताइन् । ‘मेरो डेव्यु फिल्म भए पनि म यति एक्साइटेड छु,’ उनले भनिन्, ‘किनकी दर्शकहरूबाट नसोचेको प्रतिक्रिया पाएकी छु ।’ चलचित्रका कलाकार ताम्राकारले पनि आफूले दुई दशकभन्दा बढी समय रंगमञ्चमा बिताए पनि ‘ऐश्वर्य’ जस्तो राम्रो चलचित्रमा काम गर्ने मौका नपाएको बताए । उनले यसअघि चलचित्र ‘मुखौटा’ र ‘सम्बोधन’मा अभिनय गरेका थिए । उनी अभिनित यो तेस्रो चलचित्र हो ।
चलचित्रमा रमेश उप्रेती, दिपिका प्रसाई, प्रशान्त ताम्राकार, निर्मल शर्माका साथै केकी अधिकारी, अर्जुन श्रेष्ठ, केशव भट्टराई, सुनिता ठाकुर, विकास खतिवडा, असमत पोख्रेललगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् । वैष्णोदेवी फिल्म्स्को व्यानरमा बनेको चलचित्रमा लेखन निर्देशन भने दिवाकर भट्टराईले गरेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र बिराज गौतमको संगीत रहेको छ । चलचित्रको ‘गीत तिमी रोएको पल’ र ट्रेलरलाई दर्शकले अत्यधिक रूचाएका छन् ।

Comments

About the author

चितवन पोष्ट