गृह » देवघाटमा सांस्कृतिक उत्सवको रौनक
कला समाचार समाज

देवघाटमा सांस्कृतिक उत्सवको रौनक

देवघाट । तिहारको अवसर पारेर पवित्र तीर्थस्थल देवघाटधाममा बृहत् लोक सांस्कृतिक उत्सव आयोजना गरिएको छ । नेपाली मौलिक लोकसंस्कृतिको उत्थान र जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ख्यातिप्राप्त विभिन्न कलाकारहरूले प्रस्तुति दिइरहेका छन् ।
कार्यक्रमको पहिलो दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अमरविरही गुरूङ, पूर्वअध्यक्ष प्रजापति पराजुली, गायिका चन्द्रा गुरूङ, सुमन आलेमगरलगायतका कलाकारहरूले उपस्थित दर्शकलाई छमछमी नचाए । सबैभन्दा पहिले प्रतिष्ठानका पूर्वअध्यक्ष प्रजापति पराजुलीले मञ्च उक्लिएर भजन चुड्का गीतबाट आफ्नो प्रस्तुति सुरू गरे ।
एक मानेमा के छ के छ, दुई मानेमा दही छ,
सबैभन्दा सजिलो त देवघाट आउनु रै’छ,
सानो बाजा टिन्टिङ मिन्टिङ ठूलो बाजा घुन्न,
हाम्रो धर्म संस्कृतिलाई कहिल्यै भूल्नु हुन्न
यहीँ घडेरी किन,
अन्त खोज्दै नहिन, भन्दै आफ्नो गायन सुरू गरेका गायक पराजुली नै सोमबारको प्रमुख केन्द्रबिन्दु बने । उनले तीजका प्रसंग कोट्याउँदै नेपाली लोकसंस्कृतिमा विकृति मौलाएकोले त्यसलाई पूर्णरूपमा निस्तेज पार्नुपर्ने बताए । ‘मैले यस्तो विकृति आओस् भनेर तीजको गीत लेख्न सुरू गरेको होइन । तर, अहिले मैले सोँचेभन्दा ठ्याक्कै उल्टो भइदियो ।’
कालो कोट, कालो पाइन्ट र कालै जुत्तामा ठाँटिएका गायक पराजुलीले लोक गीत, भजन, तीज, चुड्कालगायतका दर्जनभन्दा बढी गीत गाएर देवघाट तताए । यस्तै प्रतिष्ठानका संस्थापक अध्यक्ष अमरविरही गुरूङले पनि नेपाली लोकसंगीतको क्षेत्रमा विस्तारै मौलिकता हराउँदै गएको स्वीकार गरे । ‘हुन त २० वर्ष पहिले र अहिलेको समयलाई तुलना गर्न मिल्दैन । समयअनुसार सबै क्षेत्रमा परिवर्तन हुनु स्वभाविक हो,’ उनले भने, ‘तर, अहिलेका युवापुस्ताले गीतको मौलिकता र मर्मलाई बुझन सकेका छैनन् । त्यसरी मौलिकता र मर्म नै नरहने गरि परिवर्तन गर्नु कुनै पनि हालतमा स्वीकार्य छैन ।’
यसमा सञ्चार माध्यमहरूको पनि मुख्य हात रहने उनको भनाइ छ । ‘सञ्चार माध्यमले पनि कसलाई कति मह¤व दिने भन्ने विषयमा सोच्नु आवश्यक छ,’ उनले भने, ‘आफ्नो प्रचारप्रसारको लागि समाजमा पचाउनै नसक्ने गीतसंगीत र त्यस्ता खालका कलाकारहरूलाई प्राथमिकतामा पार्नु हुँदैन ।’
नेपाली लोकसंगीतमा सकारात्मक भन्दा नकारात्मक कुराहरू बढी आउन थालेकोले पुराना पुस्ताका कलाकारहरूलाई आफ्नो छवि जोगाउन पनि मुस्किल परेको भन्दै लोक गायिका चन्द्रा गुरूङले चिन्ता व्यक्त गरिन् । ‘अहिलेका कलाकारहरूको अगाडि देखिन पनि नसक्ने भयो,’ उनले भनिन्, ‘राज्यले नेपाली संस्कृतिमाथिको यस्तो विकृति विसंगतिलाई नहटाउने हो भने नेपाली संस्कृति हराउन धेरै समय लाग्दैन ।’ यस्ता विकृति विरूद्ध समाजबाट नै अभियान चलाउनुपर्ने बेला आएको उनले बताइन् ।
त्यसो त कार्यक्रममा पुराना पुस्ताका कलाकार मात्रै होइन, अहिलेका नयाँ पुस्ताका कलाकार पनि सहभागी थिए । गायक सुमन आलेमगरले आदिवासी जनजातिको संस्कृति र पहिचान झल्किने खालका चुड्का (कौडा) गीत प्रस्तुत गरे ।
नेपाली लो संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि गाउँ सुधार समिति देवघाटले विगत तीन वर्षदेखि सांस्कृतिक उत्सव आयोजना गर्दै आइरहेको छ । यसपटकको कार्यक्रम आयोजना गर्नका लागि देवघाट गाउँपालिकाले मुख्य सहयोग गरेको कार्यक्रम संयोजक आशिक रानामगरले जानकारी लिए । गाउँपालिका प्रमुख दुर्गबहादुर थापामगरले पनि संस्कृति संरक्षणको लागि गाउँपालिका सधैँ सकारात्मक रहने बताए ।
कार्यक्रममा आइतबार र सोमबार गरी दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने समितिका अध्यक्ष शुकू गुरूङले जानकारी दिए । खुमन अधिकारी, पृथ्वी गुरुङ, भूमिका गिरी, पार्वती भुजेल, जादुगर बलराम सरकार, हाँस्य टेलिश्रृङ्खला मेरी बास्सै समूह र कपिल थापामगरको विशेष प्रस्तुति रहने छ । यसपटकको कार्यक्रममा देवघाट गाउँपालिकाअन्तर्गत वडास्तरीय मौलिक नृत्य प्रतियोगितासमेत आयोजना गरिएको छ ।

Comments

About the author

चितवन पोष्ट