गृह » विद्युत् महसुल भुक्तानी अब अनलाइनबाट
अर्थ प्रविधि समाचार समाज

विद्युत् महसुल भुक्तानी अब अनलाइनबाट

भरतपुर । बिजुलीको महसुल बुझाउँन जादा घण्टौं लामो लाइनमा बस्नुपर्ने झन्झटबाट ग्राहकहरुले मुक्ति पाउने भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले नयाँ प्रविधिमा आधारित विद्युत् महसुल भुक्तानी प्रणाली अपनाएपछि लाइनमा बस्नुपर्ने अवस्था मात्रै अन्त्य भएको होइन प्राधिकरणमै आउनुपर्ने बाध्यतासमेत हटेको छ ।
प्राधिकरणले अनलाइनमा आधारित भुक्तानी प्रणाली सुरू गरेको छ । शुक्रबार सो बारेमा जानकारी दिन भरतपुर वितरण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख रामदुलार यादवले विभिन्न आठ अनलाइन भुक्तानी कम्पनी मार्फत महसुल बुझाउन सकिने बताए । जसमा ई–सेवा, पेप्वाइन्ट प्रालि, सीएफएस रेमिट जस्ता कम्पनीहरु छन् ।
त्यस्तै प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, यती डेभलपमेन्ट बैंक, हिमालयन बैंक जस्ता बैंकहरु र सीटी एक्सप्रेस सेवामार्फत बिजुलीको महसुुल भुक्तान गर्न सकिने कार्यालय प्रमुख यादवले बताए । यसरी महसुल भुक्तानी गर्दा ग्राहकहरुले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । यसका साथै प्राधिकरणले दिने नियम अनुसारका छुट पनि पाउने नै छन् ।
‘यहाँ कार्यालयमा नआई बैंक र अन्य सेवा मार्फत भुक्तानी गर्दा नियमित पाउने छुट नपाउने पो हो कि वा महसुल बुझाउँदा बिलमा उल्लेख भएको बाहेक पनि अतिरिक्त सेवा शुल्क तिर्नुपर्ने पो हो कि भन्ने ग्राहकको मनमा होला । तर, त्यस्तो केही हुँदैन’ प्रमुख यादवले भने । कार्यालयमा आएर घण्टौ कुरेर भुक्तानी गर्नुभन्दा प्रविधिको उपयोग गरी चाडै सेवा दिन खोजेको उनले बताए ।
कार्यक्रममा उपस्थित ई–सेवाका प्रतिनिधि कमल सापकोटाले मोबाइल फोन वा कम्प्युटरमा ई–सेवाको एप्लिकेशन डाउनलोड गरेर घर बसेरै महसुल बुझाउन सकिने बताए । यसो नगरे पनि ईसेवाको सेवा दिने विभिन्न काउन्टरबाट भुक्तानी गर्न सकिने बताए । ई–सेवाका चितवनमा मात्रै १५ भन्दा धेरै प्वाइन्टहरु रहेको सापकोटाले जानकारी दिए ।
ई–सेवाले विद्युत् महसुल भुक्तानीमा पहिलो पटक काम गरे पनि टेलिफोन महसुल, मोबाइल ब्यालेन्स रिचार्जमा वर्षौ पहिले देखि काम गर्दै आएको सापकोटाले जानकारी दिए । त्यस्तै ई–प्वाइन्ट प्रालिका ऋषिराम सुवेदीले मेशिनहरु मार्फत आफूहरुले ठाउँठाउँमा महसुल भुक्तानीको सुविधा दिँदै आएको जानाकारी दिए ।
ग्राहकले यसरी अनलाइनमार्फत भुक्तानी सेवा सुरू गर्नुअघि ग्राहक नम्बर, ग्राहक कोड र विद्युत् उपभोग गर्ने शाखाको नाम जानकारी हुनुपर्ने भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवको भनाइ छ । यसरी भुक्तानी गर्दा एक लाख रूपैयाँसम्मको महसुल मात्रै भुक्तानी गर्न मिल्ने उनले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमा ७४ हजार ग्राहकहरु रहेका छन् । भरतपुर महानगरसहित माडी नगरपालिकाका ग्राहकहरु यो वितरण केन्द्रअन्तर्गत पर्दछन् । मिटिर रिडिङ भएपछि दोस्रो दिन विवरणहरु अपलोड हुनेछ । महसुल भुक्तान भएको पनि दोस्रो दिन मात्रै रकम घट्ने छ । विवरण अपलोड गर्न केही समय लाग्ने भएका कारणले मात्रै यसो हुने यादवले बताए ।
‘यो परीक्षणपछि मात्रै सुरू गरिएको सेवा हो । भुक्तानी गरेपछि त्यसको प्रमाणहरु इलेक्ट्रोनिक भर्सनमा मात्रै नभएर प्रिन्टमा पनि आउँछ । त्यसैले तिरेको प्रमाण पनि प्राप्त हुन्छ । तिरेको पैसा गोलमाल हुने पो हो कि भन्ने त्रास पनि ग्राहकले नराखे हुन्छ’ कार्यालय प्रमुख यादवले भने ।

Comments

About the author

चितवन पोष्ट