गृह » प्रचण्ड माडी आउने साइत अझै जुरेन
प्रमुख समाचार राजनीति

प्रचण्ड माडी आउने साइत अझै जुरेन

भरतपुर । बाँदरमुढे विष्फोट प्रकरणमा माफी माग्न माडी नै आउने छु भनेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालमै गरेको वाचा अझै पूरा भएको छैन । माडी जाने मिति पटक–पटक तय भए पनि सर्दै आएको छ । अब त सोही बाँदरमुढेसमेत पर्ने चितवन क्षेत्र नं. ३ बाट प्रचण्ड चुनावमा उठ्दैछन् । तर, उनको माडी जाने कार्यक्रम तय हुन सकेको छैन ।
गत असोज १० मा भरतपुर आउँदा विमानस्थलमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले असोज २०÷२२ गते माडी जाने बताएका थिए । तर, सो समय पनि गुज्रिएको छ । न प्रचण्ड माडी आए, न फेरि आउने नयाँ मिति नै तय भएको छ । नेकपा माओवादी केन्द्र चितवनको बिहीबार बैठकसमेत बस्यो । तर, प्रचण्डको माडी कार्यक्रमका बारेमा कुनै निर्णय भएको छैन ।
पार्टीका चितवन संयोजक यमबहादुर परियारले चुनावी अभियानका क्रममा कात्तिक ७ मा जनसभा आयोजना गर्ने बैठकले निर्णय गरेको जानकारी दिए । सो सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठसमेत आउने छन् । त्यसपछि प्रचण्ड माडी जाने कार्यक्रम पनि तय हुने परियारको भनाइ छ ।
‘चुनावी कार्यक्रमहरु तय भएका छन् । कात्तिक ७ मा भरतपुरमा जनसभा गरेर प्रचार अभियान सुरू हुँदैछ । अध्यक्षसहितका नेताहरु आउने कार्यक्रम छ । माडी जाने कार्यक्रम पनि तय हुन्छ’ माओवादी केन्द्रको चितवन जिल्ला संयोजक परियारले भने । माडी बाँदरमुढेमा विसं २०६२ साल जेठ २३ मा यात्रुबाहक बस माओवादीले थापेको विद्युतीय धरापमा परेको थियो । सो विष्फोटमा ३८ जनाको ज्यान गएको थियो ।
घटनालगत्तै माओवादीका सर्वोच्च नेता रहेका प्रचण्डले प्रेस विज्ञप्ति निकालेर सो विष्फोट जनयुद्धकालकै सबैभन्दा ठूलो गम्भीर भूल भएको भन्दै माफी मागेका थिए । उपयुक्त समयमा माडीमै गएर पीडितहरुलाई प्रत्यक्ष भेटेर माफी माग्ने वाचा प्रचण्डले सोही विज्ञप्तिमा गरेका थिए । तर, त्यो दिन अहिलेसम्म आएको छैन ।
बाँदरमुढे घटनापछि दाहाल विसं ०६९ सालको फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर आएका थिए । त्यो बेला बाँदरमुढे घटनाका पीडितलाई सरकारले ६० लाख रुपैयाँको राहत दिने व्यवस्था गरेको बताएका थिए ।
तर, सो घोषणा कार्यन्वयनमा नै आएन । त्यो बेलामा पीडितहरुले प्रचण्डविरुद्ध प्रदर्शनसमेत गरेका थिए । त्यसअघि ०६३ सालको कात्तिक ३ गते दाहाल, डा बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’सहितका नेताहरुको टोलीले बाँदरमुढे घटनाका पीडितहरुसँग भरतपुरनजिकको गाउँ फूलबारीमा भेटघाट गरेका थिए । त्यसबेला नेताहरुले राहतको प्याकेजसहित माफी माग्न चाँडै माडी आउने प्रतिबद्धता जाहेर गरेका थिए ।
फूलबारीमा भएको प्रतिबद्धताअनुसार दाहाल ६३ सालको चैत १५ गते माडी आउने कार्यक्रम तय भएको थियो । गौरमा माओवादी कार्यकर्ताको हत्या भएपछि उनको कार्यक्रम स्थगित भएको थियो । त्यस्तै २०६४ सालको असार ९ गते आउने कार्यक्रम पनि रद्ध भएको थियो ।
जनयुद्धकालमै घटना भएको थियो । अध्यक्ष दाहालले नै गम्भीर भुल भएको भनेर माफी माग्न आउने प्रतिबद्धता आफैँले गरेका थिए । तर, सो घटनापछि जनयुद्धलाई विश्राम दिएर माओवादीले शान्ति सम्झौता गरेको पनि १२ वर्ष भइसकेको छ । प्रचण्ड दुई– दुईपटक देशको प्रधानमन्त्री भए । पछिल्लोपटक उनले चितवनबाटै चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
तर, बाँदरमुढेको सम्बन्धमा उनले विगतमा गरेका वाचाहरु पूरा नहुँदा पीडितहरु आक्रोशित बन्दै आएका छन् । आउँदो चुनावलाई प्रभावित गर्न प्रतिद्वन्द्वीले यो मुद्दालाई नउठाउलान् भन्न सकिँदैन । तर, प्रचण्डले बाँदरमुढेका घटना पीडितहरुलाई भेटेर माफी माग्ने विषयमा अझै गम्भीरता नदेखाएको आभाष सबैले गरेका छन् ।

Comments

About the author

चितवन पोष्ट