गृह » महानगरको नगर सभा कात्तिकमा करिब पाँच अर्बको बजेट प्रस्तुत हुने
अर्थ प्रमुख समाचार

महानगरको नगर सभा कात्तिकमा करिब पाँच अर्बको बजेट प्रस्तुत हुने

–किशोर खनाल
के–के छ प्राथमिकतामा 
– कृषि, पर्यटन र रोजगार 
– पूर्वाधार विकास 
– सम्पतिको संरक्षण र योजना
– सडक, ढल, पुल र सहरी विकास
– शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ 
भरतपुर । भरतपुर महानगरपालिकाको पहिलो नगर सभा तीन दिनसम्म हुने भएको छ । भरतपुर महानगरपालिकाको बोर्ड बैठकले कार्तिक २८ देखि ३० गतेसम्म नगर सभा गर्ने निर्णय गरेको छ । महानगरपालिकाले नगर सभाको तयारी तीव्र रुपमा गरिरहेको छ ।
भरतपुर महानगरपालिकाको पहिलो नगर सभाबाट करिब पाँच अर्बको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ । पहिलो नगर सभाले पूर्वाधार विकास, कृषि पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक ढललगायतका विविध पक्षलाई विशेष प्राथमिकता दिने भएको छ ।
‘पहिलो नगर सभाबाट महानगरको विकासमा धेरै कुरा समेट्ने प्रयास भइरहेको छ, अहिले हामी नगर सभा सम्पन्न गर्नको लागि घनीभूत छलफलमै जुटिरहेका छौँ’ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भनिन्, ‘महानगरपालिकामा रहेका २९ वटा वडाको भेला राखेर त्यहाँको सम्भावना, विशेषता, पहिचान र समस्याहरु बुझ्ने काम भइरहेको छ ।’
महानगरपालिकाले कात्तिक ७ देखि १३ गतेसम्म वडा भेलाको आयोजना गर्ने भएको छ । वडा भेला भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह र कार्यकारी अधिकृत प्रेमराज जोशीको नेतृत्वमा हुनेछ ।
‘वडा भेलाबाट त्यहाँको समस्या पहिचान हुनेछ, त्यो वडामा कस्ता योजनाहरु आवश्यक छ ? त्यो वडा केको लागि प्रसिद्ध छ ? यस विषयमा भेलामा विस्तृत छलफल हुन्छ’ भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले भनिन्, ‘वडाको समस्या पहिचान गरेर नगर सभाबाट महानगरपालिकाले बजेट विनियोजन गर्नेछ ।’ उनले वडाको अति आवश्यक पर्ने कुराहरुलाई बढी प्राथमिकता दिएर अघि बढ्ने बताइन् ।
‘कतै ढलको आवश्यक होला, कतै कालोपत्रे, कतै सरसफाइ त कतै खानेपानीको आवश्यक होला अनि कतै पर्यटन पूर्वाधारको विकास गर्नुपर्ला’ उपमेयर शाहले भनिन्, ‘कुन वडालाई कुन काम गर्न कति बजेट पर्छ त्यसको पहिचान गरेर योजना र बजेट नगर सभाबाट पारित हुनेछ । तुरुन्तै गर्नुपर्ने कामलाई नगर सभाले प्राथमिकता दिएर पास गर्नेछ ।’
क्षेत्रगत समितिहरु गठन
नगर सभा सम्पन्न गर्न क्षेत्रगत योजनाको छनौट गरी बजेट तर्जुमा समितिमा पेस गर्नको लागि महानगरपालिकाले पाँच सदस्यीय क्षेत्रगत समितिहरु गठन गरेको छ । भरतपुर वडा नम्बर १ का वडाध्यक्ष जयराम श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक विकास समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा नरेन्द्रकुमार कन्दङवा, लालकुमारी सुवेदी गौतम, सरस्वती सुनार र राजस्व शाखा प्रमुखलाई सदस्य सचिवमा राखिएको छ ।
त्यस्तै, वडा नम्बर २५ का वडाध्यक्ष विजयकुमार भुजेलको संयोजकत्वमा सामाजिक विकास समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा हरिप्रसाद आचार्य, ओमप्रसाद पोख्रेल, अन्जु परियार र सदस्य सचिवमा तुलसीप्रसाद श्रेष्ठ रहेका छन् । यस्तै, भरतपुर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको संयोजकत्वमा पूर्वाधार विकास समिति गठन भएको छ । यसको सदस्यहरुमा चित्रसेन अधिकारी, राजेन्द्रमणि काफ्ले, देवी परियार र सदस्य सचिवमा कृष्णबहादुर मल्ल ठकुरी रहेका छन् ।
यसैगरी शम्भुप्रसाद भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय वातावरण तथा विपद् व्यवस्थापन समिति गठन भएको छ । सदस्यहरुमा बाबुराम अधिकारी, सरिता पाठक, सीता दर्जी र सदस्य सचिवमा सुशीला रेग्मी अधिकारी छन् । यस्तै, पदमपाणि सुवेदीको संयोजकत्वमा संस्थागत विकास तथा सेवा प्रवाह  समिति गठन भएको छ । सदस्यहरुमा चक्र रुचाल, ललितमान गुरुङ, विमला भट्टराई र सदस्य सचिवमा खगेश्वर अधिकारी रहेका छन् । यसैगरी विष्णुप्रसाद महतोको संयोजकत्वमा वित्तीय व्यवस्थापन र सुशासन समिति गठन भएको छ । सो समितिको सदस्यमा गोविन्द तामाङ, यमलाल कँडेल, पार्वती विक र सदस्य सचिवमा प्रमुख लेखा नियन्त्रक खडानन्द अधिकारी रहेका छन् । ‘यी ५ वटा अस्थायी समितिहरु नगर सभा सम्पन्न गर्नको लागि बनाइएको हो, नगर सभा भएपछि यी समितिहरु स्वतः खारेज हुन्छ’ उपप्रमुख पार्वती शाहले भनिन् ।
महानगरको थप निर्णय भरतपुर महानगरपालिकाले बोर्ड बैठकले सबै वडा कार्यालयको वडा बजेट सञ्चालनको लागि नेपाल राष्ट्र बैँकबाट स्वीकृत प्राप्त बैँकमा खाता खोली वडा कार्यालयबाट मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी भरतपुर महानगरपालिकाको वडा नम्बर २९ को उत्तरतर्फको सिमानामा सुरू हुने नारायणगढ मुग्लिन सडक खण्डमा लायन्स क्लब अफ बैद्धिकनगरलाई स्वीकृत डिजाइनबमोजिमको स्वागतद्वार निर्माण गर्न यस कार्यालयको योजना शाखाबाट रेखदेख हुने गरी अनुमति दिने निर्णय पनि महानगरले गरेको छ । त्यस्तै, भरतपुर महानगरपालिकाको सबै वडा कार्यालयहरुले आवश्यक फर्निचर, पानी, बिजुली, बत्ती, शौचालय, भवन, कार्यालय व्यवस्थापनको लागि कात्तिक १५ गतेभित्र प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने निर्णय पनि महानगरले गरेको छ ।
यसरी हुँदैछ नगर सभा कात्तिक १३ गते प्रत्येक वडाको भेला सकिएपछि वडा कार्यालयले कात्तिक १५ गतेसम्म योजना तथा कार्यक्रमहरु (विषय क्षेत्रगतअन्तर्गत रहेर) प्राथमिकीकरणसहित महानगरपालिकामा पेस गर्नेछन् । कात्तिक १६ गते बजेट तथा कार्यक्रम तर्जुमा समितिको पहिलो बैठकमा वडाबाट प्राप्त योजना तथा कार्यक्रमहरु पेस हुनेछन् । कात्तिक १७ देखि १९ गतेसम्म विषय क्षेत्रगत समितिको बैठकमा योजना तथा कार्यक्रममाथि छलफल हुनेछ । कात्तिक २० गते बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकमा विषय क्षेत्रगत समितिबाट सिफारिस भएका योजना तथा कार्यक्रमहरुमा छलफल तथा कार्यापालिकामा सिफारिस हुनेछ । कार्तिक २४ र २५ गते नगर कार्यपालिकाको बैठक बस्नेछ । कार्तिक २८ देखि ३० गतेसम्म नगर सभा सम्पन्न हुनेछ ।

Comments

About the author

चितवन पोष्ट