गृह » राइनो कप भलिबलमा तीन खेल
खेलकुद

राइनो कप भलिबलमा तीन खेल

भरतपुर । दोस्रो वातावरणमैत्री राइनो कप खुल्ला भलिबल प्रतियोगिता बिहीबारदेखि भरतपुर महानगरपालिकाको चम्पानगरमा सुरू भएको छ ।
भरतपुर–१३ स्थित हिमाल युवा क्लबको आयोजनामा भएको प्रतियोगिता एक समारोहबीच भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै मेयर दाहालले राष्ट्रिय खेलको मान्यता पाइसकेको भलिबल खेलको विकासका लागि आगामी नगरपरिषद्बाट योजना पार्ने प्रतिबद्धता जनाइन् । क्लबका अध्यक्ष केशव देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल, मध्यवर्ती व्यवस्थापन समितिका शंकर महतो, भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीलगायतले मन्तव्य राख्दै वातावरणसँगै वन्यजन्तुको संरक्षणका लागि युवाहरु क्रियाशील हुनुपर्नेमा जोड दिए ।
प्रतियोगिताअन्तर्गत बिहीबार तीन खेल भएका छन् । पहिलो खेलमा आयोजक हिमाल युवा क्लब ‘बी’, किसान युवा क्लब बद्रहनी र एडभेन्चर नेपाल माडी विजयी भएका प्रतियोगिताका प्रचारप्रसार संयोजक विवेक पोखरेलले जानकारी दिए ।
पहिलो खेलमा आयोजक हिमाल क्लब ‘बी’ ले कञ्चन समाज कञ्चनवस्तीलाई २५–१२, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो । दोस्रो खेलमा किसान युवा क्लबले निरन्तर युवा क्लब भरतपुर–२१ लाई २८–२६, २५–१९ र २६–१४ तथा एडभेन्चर नेपालले हिमाल युवा क्लब ‘ए’ लाई २५–२१, २५–१५ र २५–९ को सोझो सेटमा पराजित गरेको प्रचारप्रसार संयोजक पोखरेलले बताए ।
प्रगतिको लागि युवा शक्ति, खेल विकासको लागि युवा शक्ति भन्ने नाराका साथ सुरू भएको भलिबल प्रतियोगिता असोज २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका १६ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र तथा उपविजेतालाई नगद ३० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने देवकोटाले बताए ।
त्यस्तै सेमिफाइनलमा पराजित हुने टिमले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका प्रचारप्रसार समिति संयोजक विवेक पोख्रेलका अनुसार सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ, सर्वोत्कृष्ट सटर, सर्वोत्कृष्ट लिफ्टर र सर्वोत्कृष्ट डिफेन्सले समान नगद ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Comments

About the author

चितवन पोष्ट