गृह » रत्ननगरमा कोरियन लगानीमा उद्योग
अर्थ समाचार समाज

रत्ननगरमा कोरियन लगानीमा उद्योग

रत्ननगर । कोरियन लगानीमा रत्ननगरमा निर्माण सामग्री उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन गरिने भएको छ । कोरियालीहरुको संस्था एसवाई ग्रुपले एउटा घर निर्माणको लागि आवश्यक पर्ने सबै सामग्री उत्पादन गर्न रत्ननगर–१४ पिठुवामा उद्योग सञ्चालन गर्न लागेको हो ।
बिहीबार पिठुवास्थित गुञ्जमान ट्रष्टको जग्गामा सो उद्योगको भवन शिलान्यास गरिएको छ । सो अवसरमा ग्रुपका अध्यक्ष होङ योङ दोनले ६० करोड रुपैयाँको लगानीमा रत्ननगरमा उद्योग सञ्चालन गर्न थालिएको जानकारी दिए ।
उनले तीन महिनाभित्र भवन निर्माणसम्पन्न गरी उत्पादन सुरु गर्नेे जानकारी दिए । सो उद्योगले स्याण्डबीच प्यानल, पीभीसी झ्याल, स्टील ढोकालगायत घर निर्माणको लागि आवश्यक पर्ने सबै सामाग्री उत्पादन गर्ने उनले जानकारी दिए ।
एसवाई ग्रुपको ५० प्रतिशत र कोरियाली नागरिकहरु थाकुञ्जे र लिवाङको २५÷२५ प्रतिशत लगानीमा उद्योग सञ्चालन गर्न लागिएको हो । उद्योग सञ्चालनको लागि सो ग्रुपले ट्रष्टको ३५ कठ्ठा जग्गा २० वर्षको लागि भाडामा लिएको ग्रुपका प्रशासन प्रमुख देवेन्द्र हम्वाम्फेले जानकारी दिए ।
सो उद्योगबाट उत्पादित सामग्रीहरुबाट ५० तलासम्मको घर निर्माण गर्न सकिने र ५० वर्षसम्म घर टिकाउ हुने उनले जानकारी दिए । उनले शनिबारदेखि नै उद्योगको भवन निर्माण सुरू हुने जानकारी दिए ।
नेपालमा भूकम्प आएपछि कोरिया सरकार र नेपाल सरकारबीचमा सम्झौता भई सोहीअनुसारको निर्माण सामग्री उत्पादन गर्ने लगानी गर्न थालिएको हम्वाम्फेले जानकारी दिए ।
नेपालको आर्थिक र सामाजिक विकासमा सरकारलाई सहयोग गर्ने उद्देश्यले रत्ननगरको पिठुवामा उद्योग सञ्चालन गर्न लागिएको ग्रुपका अध्यक्ष दोनले जानकारी दिए । नेपालको बजार विस्तार र प्रवद्र्धनको लागि कोरियाले लगानी गरेको उनको भनाइ छ ।
‘नेपालका विपन्न परिवारको जीवनस्तर उकास्ने विषयमा हामी सकारात्मक छौँ’ उनले भने, ‘स्थानीयवासीलाई रोजगारी दिएर उनीहरुको जीवनस्तर उकास्न हामीले उद्योगमा लगानी गरेका हौँ । उद्योगमा अधिकांश स्थानीय युवायुवतीलाई रोजगारी दिने योजना रहेको अध्यक्ष दोनले बताए । उद्योगबाट उत्पादित सामग्रीहरु सस्तोमा बजारमा पठाएर घर निर्माणकर्तालाई आर्थिक भार कम गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा मेयर नारायण वनले विदेशी लगानीमा नगरभित्र सञ्चालन हुने उद्योगलाई सुरक्षा दिन आफूहरु तयार रहेको बताए ।
कार्यक्रममा गुञ्जमान ट्रष्टका अध्यक्ष तथा पूर्वराजदूत डा दुर्गेशमान श्रेष्ठले कोरियन लगानीमा सञ्चालन गर्न लागिएको सो उद्योगले स्थानीयवासीको जीविकोपार्जन र रोजगारी सृजना गर्ने भन्दै उद्योगलाई सहयोग गर्न आग्रह गरे ।
भवन शिलान्यास कार्यक्रममा वडा नं १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठ, वडा नं १६ का वडाध्यक्ष हेमराज थापालगायत स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comments

About the author

चितवन पोष्ट