गृह » व्यावसायिक फूलखेतीमा रमाउँदै महिलाहरु
अर्थ समाचार समाज

व्यावसायिक फूलखेतीमा रमाउँदै महिलाहरु

दिपेन्द्र अधिकारी
भरतपुर । २८ जनाको समूह छ । जसमा २४ जना महिला छन् । भरतपुर महानगरपालिका–७ उज्ज्वल टोलका महिलाहरु अहिले फूलखेतीमा संगठित रुपमा लागेका छन् । फूलखेतीबाट राम्रो आम्दानी हुने छनक देखेपछि उनीहरु व्यावसायिक रुपमै फूलखेतीमा लागेका हुन् । हाल उनीहरुले बारीभरि सयपत्री फूल फुलाएका छन् ।
रहर नै रहरले गरिएको फूलखेतीले अहिले व्यावसायिक सफलता हात पार्न थालेपछि महिलाहरु नै अचम्मित बनेका छन् । बजारको माग धान्न मुस्किल परेको छ । यस वर्ष तिहार केहीअघि पर्नाले फूल पूर्णरुपमा तयार भइनसकेको समूहमा आवद्ध महिलाहरु बताउँछन् ।
फूलखेतीका लागि डेढ बिघा जग्गा भाडामा लिइएको छ । प्रतिकट्ठा वार्षिक एक हजार ५०० रूपैयाँमा जग्गा भाडामा लिएर खेती गर्न लागेको तीन वर्ष भएको छ । तीन वर्षअघि स्थानीय सबैका घरमा कम्तीमा १० वटा फूलका बिरुवा रोप्ने अभियान सुरू भएको थियो । गत वर्ष प्रत्येक बिरुवाबाट नौवटा कलमी निकाली ‘सय घर सय फूल’ अभियान विस्तार गरिएको समूहका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताए । यस समूहको अध्यक्षमा पुरुष रहे पनि सल्लाहकारबाहेकका अन्य पदमा भने सबै महिला रहेका छन् ।
‘४५ हजार मालाको माग भएको छ, उपाध्यक्ष गोमा बरालले भनिन्, ‘यस वर्ष ३० हजारमात्र माला उत्पादन गर्न सकिन्छ ।’ यस वर्षको बजार मागको आधारमा अर्को सालमा बढी क्षेत्रमा फूलखेती गर्ने योजना रहेको उनले बताइन् । उनका अनुसार प्रतिगोटा मालाको ७० रूपैयाँमा बेच्न सकिए पनि २१ लाख आम्दानी गर्न सकिने छ । फूलको बीउ मकवानपुरबाट ल्याइएको हो ।
तिहारलाई लक्षित गरी टिपेको फूलको माला बनाउन स्थानीयवासीले रोजगारीसमेत पाएका छन् । समूहकी उपाध्यक्ष गोमा बरालले प्रतिमाला पाँच रूपैयाँमा स्थानीय महिलाले माला तयार गर्ने र एक दिनमा एकजनाले २०० वटासम्म माला तयार गर्न सक्ने हुँदा दैनिक हजार रुपैयाँ आम्दानी हुने उनले बताइन् । सयपत्रीबाहेक पनि अन्य फूलहरु रोप्ने तयारी रहेको उनले बताइन् ।
सामान्य ज्ञानका आधारमा गरिएको फूल खेतीले स्थानीयको जीवनस्तरमा समेत सकरात्मक प्रभाव पारेको छ । फूलमा लाग्ने रोग, मौसमको प्रतिकूलता, सिंचाइको अभावले गर्दा धेरै नोक्सानी व्यहोर्नुपरेको अध्यक्ष श्रेष्ठले बताए । यस वर्ष पनि तिहारका लागि फूल माग भइसकेको उनीहरुको भनाइ छ । चितवनका साथै गोरखा, नवलपरासी जिल्लामा पनि फूल खपत हुने गरेको छ ।

Comments

About the author

चितवन पोष्ट