गृह » कालिकाको म्युजिक अवार्ड
कला

कालिकाको म्युजिक अवार्ड

गैँडाकोट । कालिका एफएमको १५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार सम्पन्न भएको १३ औँ कालिका म्युजिक अवार्डमा देशभरका झण्डै दुई दर्जन बढी कलाकारहरु सम्मानित भएका छन् ।
कालिका एफएम प्रालिको १५ औँ तथा टिभी कालिकाको तेस्रो वाषिर्कोत्सवको अवसरमा असोज १ गतेबाट आयोजित सम्पूर्ण कार्यक्रमको म्युजिक अवार्ड प्रदान गरेपछि बिहीबार समापन भएको छ । गैँडाकोटको नारायणी रिसोर्टमा सञ्चालन भएको कार्यक्रमलाई सम्बोधन गर्दै मह जोडी हरि बंश आचार्य र मदनकृष्ण श्रेष्ठले गीतसंगीत सँगै समाज सेवामा कालिका मिडिया देशकै उदाहरणीय बनेको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका महजोडीले गीतसंगीत क्षेत्रसँगै हास्य क्षेत्र उत्पादनशील रहेको बताउँदै यस क्षेत्रमा लाग्ने सबैमा आफूहरु स्वागत गर्न आतुर रहेको बताए । कार्यक्रममा कालिका मिडियाकी निर्देशक रीना गुरुङले गीतसंगीतको सम्मान सँगै बिशुद्ध समाजसेवाको लागि मिडियाको स्थापना गरिएको बताइन् ।
कालिका म्युजिक अवार्ड तथा वार्षिकोत्सव समापन समारोहमा ्प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, चितवन प्रहरी प्रमुख दीपक थापा, ट्राफिक प्रमुख सन्तोष पन्तलगायतले कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए । त्यस्तै कालिका एफएम म्युजिक अवार्डअन्तर्गत पप गीतसंगीत संयोजन विधामा हिमाल सागर, महिला तर्फको सर्वोत्कृष्ट महिला गायिका टीका प्रसाई, पुरुषतर्फको सर्वोत्कृष्ट गायक हेमन्त राना, सर्वोत्कृष्ट गीतकारतर्फ योगेन्द्रमणि दाहाल, सर्वोत्कृष्ट पप ब्यान्डतर्फ नाइन्टिन सेभेन्टिन एडी, त्यस्तै आधुनिक गीत विधामा सर्वोत्कृष्ट गायक युवराज चौलागाई, सर्वोत्कृष्ट गायिका सत्यकला राई, संगित संयोजनतर्फ राजकुमार बगर, सर्वोत्कृष्ट शब्दतर्फ एकनारायण भण्डारी सम्मानित भएका छन् ।
यसैगरी नेपाली चलचित्र विधामा सार्वाेत्कृष्ट गायक सुगम पोख्रेल, सर्वोत्कृष्ट गायिका रजिना रिमाल, संगीत संयोजन दीपक शर्मा, सर्वोत्कृष्ट शब्द शान्ति प्रिय, त्यस्तै लोकदोहोरी विधामा सर्वोत्कृष्ट गायक राजु परियार, सर्वोत्कृष्ट गायिका देवी घर्ती मगर, सर्वोत्कृष्ट धुन सिरिष देवकोटा, सर्वोत्कृष्ट शब्द रमेश बिजी, स्थानीय लोकदोहोरी सर्वोत्कृष्ट कलाकारतर्फ लक्ष्मी दाहाल, सवोत्कृष्ट गजल विधातर्फ राज सागर र शीतल कादम्बिनी सर्वोत्कृष्ट भिडियो तर्फ निकेश खड्का, सर्वोत्कृष्ट राष्ट्रिय गीततर्फ राजेन्द्र बजगाई, सर्वोत्कृष्ट युगल गायनतर्फ राजनराज सिवाकोटी र अञ्जु पन्त, वर्षभरीको सार्वोत्कृष्ट गीतको तर्फबाट ‘कुटुमा कुटु’ गीत बाट राजनराज सिवाकोटी सम्मानित भए । मध्य नेपालको उत्कृष्ट गायक मनोज महतो, उत्कृष्ट संगीत संयोजनतर्फ महाराज थापा र सर्वोत्कृष्ट नव प्रवेशीतर्फ मीरा कार्कीले यस वर्षको कालिका एफएम म्युजिक अवार्ड पाएका छन् । म्युजिक अवार्डले कलाकारहरुलाई प्रतिस्पर्धा तथा गुणस्तरियतामा अघि बढ्न उत्प्रेरणा मिल्ने कालिका मिडियाले विश्वास लिएको छ । त्यसैगरी कार्यक्रममा स्थानीयस्तरमा सञ्चालित भलिबल प्रतियोगिता, हाजिरीजवाफ, वाटर पोलो, पञ्चेबाजालगायतका विभिन्न प्रतियोगिताका विजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो ।

Comments

About the author

चितवन पोष्ट