गृह » सार्वजनिक सूचनाको प्रवाह प्रभावकारी नभएको गुनासो
समाचार समाज

सार्वजनिक सूचनाको प्रवाह प्रभावकारी नभएको गुनासो

–तुलमान गुरूङ
भरतपुर । राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त यशोदादेवी तिम्सिनाले नेपालका सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले कार्यसम्पादनमा कार्यालयका सूचना अधिकारीलाई पनि सहभागी गराउनुपर्ने बताएकी छिन् ।
उनले कार्यालय भित्रको सही सूचना दिनका लागि सूचना अधिकारीलाई हरेक कार्य सम्पादनमा सहभागी गराए मात्रै उसले जनमानसमा सही सूचना दिन सक्ने बताएकी हुन् । आयोगले बुधबार भरतपुरमा आयोजना गरेको सूचनाको हक तथा सूचना व्यवस्थापन प्रणाली (एमआईएस) सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै सूचना आयुक्त तिम्सिनाले जनसाधारणसम्म सूचना पु¥याउने जिम्मेवारी सूचना अधिकारीको काँधमा रहेकोले सूचना अधिकारीले जनताले चाहेको सूचना समयमा दिनसक्नुपर्ने बताइन् ।
कतिपय कार्यालयहरुले सूचना दिन आलटाल गरेको भन्ने गुनासो बढ्दै गएको भन्दै सूचना आयुक्त तिम्सिनाले भनिन्, ‘कुनै पनि कार्यालयले सूचना दिनु भनेको आफूले गरेको कार्यसम्पादनको निःशुल्क विज्ञापन हो ।’ कुनै पनि कार्यालयमा जनतालाई दिन नमिल्ने सूचना नहुने भन्दै जनताकै काम गर्न सेवारत कर्मचारीले सूचना लुकाउन नहुने बताइन् । तर, कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयले मात्रै नभई सबै राजनीतिक पार्टीले पनि सूचना अधिकारी वा प्रवक्ता तोक्नुपर्ने बताइन् । केही समयअघि सम्पन्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि सूचनाको हकसम्बन्धी कार्यक्रम आयोजना गर्न सुझाव दिइन् । ‘यो कार्यक्रम जनमानसमा पु¥याउनु आवश्यक छ,’ उनले भनिन्, ‘बरू सूचना आयोगको तर्फबाट के सहयोग गर्नुपर्छ हामी तयार छौँ ।’
तर, चितवन जिल्लाको हकमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाहेकका कुनै पनि सरकारी कार्यालयमा सूचना माग्दा सजिलै र समयमा सूचना नपाएको गुनासो पनि उत्तिकै बढ्दो छ । प्रायः पत्रकारहरूले सूचना माग्दा पनि कार्यालय प्रमुखलाई नै ताक्नुपर्ने बाध्यता रहेको भन्दै नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारीले जिल्लाका सरकारी कार्यालयहरू अझै पनि सूचनामैत्री कार्यालय बन्न नसकेको गुनासो गरिन् । ‘कुनै पनि पत्रकारले सूचना लिन जाँदा कार्यालय प्रमुखलाई नभेटी सूचना अधिकारीबाट मात्रै पूर्ण जानकारी पाइँदैन,’ उनले भनिन्, ‘कुनै पनि कार्यालयको सूचना लिनका लागि कार्यालय प्रमुखलाई नै कुर्नुपर्ने भएपछि सूचना अधिकारी राख्नुको अर्थ के त ? पत्रकारहरूलाई त सूचना लिन सोचेजस्तो सहज छैन भने अरू सर्वसाधारण जनतालाई के होला ?’
यस्तै नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष जनक अर्यालले पनि सर्वसाधारणले कुनै पनि कार्यालयबाट सहजै सूचना पाउन सक्ने वातावरण नरहेको बताए । पत्रकारले पनि पहुँच भएकाले मात्रै समयमा सही सूचना पाउने परिपाटी रहेकोले यसको अन्त्य हुनुपर्ने धारणा राखे । ‘कुनै पनि कार्यालयको सूचना पहुँचको आधारमा होइन, सबै जनताले पाउनुपर्छ,’ उनले भने, ‘तब मात्रै त्यो कार्यालय सूचनामैत्री कार्यालय बन्न सक्छ ।’
तर, चितवन जिल्लाका विभिन्न कार्यालयमा सूचना अधिकारीको रूपमा कार्यरत कर्मचारीले भने कार्यालय प्रमुखहरूले सूचना अधिकारीलाई पूर्णरूपमा सूचना दिने अधिकार नदिएकैले कार्यालयको सूचना बाहिर पु¥याउन सहज नभएको गुनासो गरेका छन् । ‘कार्यालयका प्रमुख र सूचना अधिकारीबीचको के कुरा बाहिर ल्याउने र के कुरा नल्याउने भन्ने विषयमा समन्वय नै कम छ,’ कालिका नगरपालिकाका सूचना अधिकारी बलराम लुईँटेलले गुनासो गर्दै भने, ‘कुनै पनि कार्यालयमा कार्यालय प्रमुखले के–के सूचना बाहिर ल्याउने भन्ने विषयमा प्रष्ट नपारेसम्म यो समस्या रहिरहन्छ ।’
जिल्ला कृषि विकास कार्यालय चितवनकी सूचना अधिकारी कमला न्यौपानेले पनि आफ्नै कार्यालयभित्रको पूर्ण सूचना कार्यालयकै सूचना अधिकारीले नपाउने हुँदा समयमै सूचना दिन नसकेको गुनासो गरिन् । सूचना लिनेहरूले पनि सूचना तयार पार्ने सम्मको समय नदिने र तत्कालै चाहियो भन्न आउने भएकोले सूचना अधिकारी दोहोरो मारमा परेको उनको भनाइ छ ।
यस विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने सबै कार्यालयमा सूचना अधिकारी तोकिसकिएको हुँदा कुनै पनि कार्यालयबाट सूचना पाइएन भन्ने गुनासो आउन नहुने बताए । ‘सरकारी कार्यालयको सूचना भनेको नित्तान्त जनताको सम्पत्ति र नासो भएकोले सबै सरकारी निकायहरूले सूचना दिनुपर्दछ,’ उनले भने, ‘यसका लागि हामीले लगभग जिल्लाका सबै कार्यालयहरूमा नाम, सम्पर्क नम्बर र सूचना अधिकारीको तस्बिरसहितको फ्लेक्स सबैले देख्ने ठाउँमा झुण्ड्याएका छौँ ।’
यसरी सूचना अधिकारी तोकेर काम गर्दा पनि जनसाधारणबाट सूचना नपाएको अत्यधिक गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारी भट्टले सबै कार्यालयहरु सूचनामैत्री बन्न सक्नुपर्ने बताए । अबका दिनमा कुनै पनि कार्यालयको कार्यालय प्रमुख र सूचना अधिकारीबीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने उनको भनाइ छ ।

 

Comments

About the author

चितवन पोष्ट