गृह » वन्यजन्तुका अपराधी पछ्याउन कुकुरहरु
समाचार समाज

वन्यजन्तुका अपराधी पछ्याउन कुकुरहरु

कसरा । कुकुरको सुँध्ने शक्ति निकै सशक्त हुन्छ । यसैको फाइदा उठाएर अपराध नियन्त्रणमा पनि कुकुर प्रयोग गर्ने क्रम बढ्दो छ । समाजका अन्य अपराधमा झैँ वन्यजन्तु अपराधमा पनि अपराधी खोज्न कुकुरको प्रयोग सुरू भएको छ ।
पहिला प्रहरीको कुकुर उपयोग हुन्थ्यो । अहिले चितवन निकुञ्जको मुख्यालय कसरामा नै तालिम प्राप्त कुकुरहरु तैनाथ भएका छन् ।
‘७१ सालबाट भारतबाट चारवटा तालिम प्राप्त कुुकुर ल्याएका छौँ । गस्तीमा पनि कुकुर प्रयोग हुन्छ । खास गरेर वन्यजन्तु अपराधका घटना भएमा अपराधीहरु पछ्याउन कुकुरको प्रयोग गर्ने गर्दछौँ’ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले भने । कुकुरको स्याहारमा सेनाको एउटा ‘डग स्वाड’ नै तैनाथ छ ।
सूचना अधिकारी अर्यालका अनुसार सेनाको चार पाँचजनाको टोली कुुकुरको रेखदेखमा खट्छ । कुकुरको लागि छुट्टै घर छ । नियमित नुहाइधुवाइ हुन्छ । जसका लागि स्वीमिङ पुल नै निर्माण गरेको अर्यालले जानकारी दिए । कुकुरका लागि मासिक खर्च ४०÷५० हजार रुपैयाँको हाराहारीमा हुने गरेको सूचना अधिकारी अर्यालले जानकारी दिए । प्रभावकारी अनुसन्धानका लागि यो खर्च गरेको उनले बताए ।
चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तुहरु बस्छन् । लोप हुने अवस्थामा रहेका एकसिंगे गैँडा, पाटे बाघलगायतका वन्यजन्तुहरु जोगाउन यो निकुञ्ज स्थापना भएको हो । यी दुर्लभ वन्यजन्तु मारेर अन्तर्राष्ट्रिय बजारमा गैरकानुनी रुपमा कारोबार गर्नेहरुको पनि ठूलो गिरोह छ । त्यस्ता गिरोहविरुद्ध सशक्त कारबाही गर्नका लागि सहयोगी होस् भनेर कुकुरको प्रयोग सुरू भएको हो ।
विसं ०६७ सालको चैत्रमा चितवन निकुञ्जभित्र गैँडा मर्दा पहिलोपटक अनुसन्धानका लागि तालिम प्राप्त कुुकुर प्रयोग भएको थियो । त्यसपछि पटक–पटक कुकुरको प्रयोग हुँदै आएको छ । तर, कुकुर प्रयोग भए पनि अपराधी समाउन भनेजस्तो सफलता मिलेको छैन । तस्करहरुले गएको चैत्रमा निकुञ्जको जगतपुर मध्यवर्ती क्षेत्रमा गैँडा मारेका थिए ।
त्यो बेलामा पनि कुकुरको प्रयोग भएको थियो । तर, पानी आएका बेलामा घटना भएका कारण कुकुरले प्रभावकारी रुपमा काम गर्न सकेन भन्छन् निकुञ्जका अधिकारीहरु । तर, अपराध अनुसन्धानमा कुकुर प्रयोग हितकारी नै हुने ठोकुवा उनीहरुको छ ।
तस्करहरु सशक्त बन्दै नयाँ–नयाँ तरिका अपनाएर चोरी शिकार गर्ने हुँदा निकुञ्जले पनि आफुलाई त्यही रुपमा परिस्कृत गर्नु परेको उनीहरु बताउँछन् । वन्यजन्तु अपराधमा कडा कारबाही हुने कानुनी प्रावधान छ । वन्यजन्तु मारेमा वा यसको अङ्गको कारोबार गरेमा पाँचदेखि १५ वर्षसम्म कैद वा पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा कैद र जरिवाना दुवै हुने कानुनी प्रावधान छ । त्यसैले वन्यजन्तु अपराध अनुसन्धानलाई वैज्ञानिक र प्रभावकारी बनाउन कुकुरको प्रयोगले पनि ठूलो मद्दत गर्ने निकुञ्जका अधिकारीहरुको भनाइ रहेको छ ।

Comments

About the author

चितवन पोष्ट