गृह » डा. केसीको जीवन रक्षा गर
सम्पादकीय

डा. केसीको जीवन रक्षा गर

मेडिकल शिक्षाको पहुँच सर्वसाधारणसम्म पुगोस्, यस क्षेत्रमा व्याप्त माफियातन्त्रको अन्त्य होस् र माथेमा आयोगको प्रतिवेदन संसद्बाट जस्ताको तस्तै पारित गरियोस् भन्ने प्रमुख मागसहित गत एक सातादेखि राजधानीको शिक्षण अस्पतालभित्र आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसीको मागप्रति सरकारी उदासीनता यथावत् रहेको छ । अहिले सरकारको ध्यान राजनीतिक ध्रुवीकरणको कारण उत्पन्न असहज परिस्थितितर्फ केन्द्रित भइरहेको कारण डा. केसीका जायज मागहरु सम्बोधन गर्नेतर्फ सरोकारवाला निकायहरु मौन देखिएका हुन सक्छन् । डा. केसीको यो १३ औँ आमरण अनशन हो । उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको सर्वाङ्गीण हितका लागि पटकपटक गरेको आमरण अनशनप्रति विगतमा पनि सरकारको संवेदनशीलता प्रदर्शन हुन सकेको थिएन ।
अब डा. केसी एक व्यक्ति मात्र नभएर सत्य, निष्ठा, आदर्श र न्यायका प्रतीक बनिसकेका छन् । सत्तारुढ दल र प्रतिपक्षी दलहरुसमेतले उनको यो त्याग र न्यायको चीत्कार सुन्ने प्रयास गर्नु अत्यावश्यक भएको छ । पटकपटक अनशन बस्दा उनको शरीर शिथिल बनिसकेको कुरा उनको उपचार र रेखदेखमा संलग्न चिकित्सकहरुले बताएका छन् । अब सरकारले सत्ता–स्वार्थको सेरोफेरोभन्दा माथि उठेर आदर्शका प्रतीक डा. केसीका जायज मागहरु तत्काल सम्बोधन गर्नु अत्यावश्यक भैसकेको छ । उनी एक चिकित्सक मात्र नभएर यो देशको एक आदर्श नागरिक र आस्थाको धरोहर पनि हुन् । चिकित्सा शिक्षा महँगो भएको, ग्रामीण भेगमा यसको पहुँच नभएको र माफियातन्त्रले गाँजेर पूर्ण व्यापारीकरण गराउँदै लैजान लागेको प्रतिकूल स्थितिप्रति डा. केसीले ध्यानाकर्षण गरेका हुन् ।
अब डा. केसीको जीवन रक्षा गर्ने प्रमुख जिम्मेवारी सरकारको काँधमा आइपुगेको छ । यदि उनको जीवन तल–माथि पर्न गयो भने सरकारको इज्जत अन्तर्राष्ट्रिय जगत्मा समेत नकारात्मक हुनेछ । नागरिकप्रति राज्यको जिम्मेवारी हुन्छ कि हुँदैन भन्ने कुरा प्रमाणित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाका लागि यो आफैँमा एक अग्निपरीक्षा सावित हुनेछ । साथै, चिकित्सा शिक्षाको क्षेत्रमा व्याप्त माफियातन्त्रलाई समूल नष्ट गरेर गरिबका छोराछोरी पनि चिकित्सक बनेर गाउँगाउँमा सेवा गर्न पुगून् भन्ने डा. केसीको सपना साकार पार्न संसद् र सरकार दुवै पक्षको सदाशयता अहिलेको आवश्यकता बन्न गएको छ । समाजका हरेक क्षेत्रमा व्याप्त राजनीतीकरणको अन्त्य गर्दै २१ औँ शताब्दीको समृद्ध नेपाल निर्माणमा डा. केसीका जायज मागहरुले राजमार्गको काम गर्ने अपेक्षा देशका प्रबुद्ध वर्गले लिएका छन् । तसर्थ, डा. केसीका जायज मागहरु पूरा गर्दै उनको जीवन रक्षा गर्न हामी सरकारसँग आग्रह गर्दछौँ ।

Comments

About the author

चितवन पोष्ट