गृह » वाम गठबन्धन भएपछि अब के हुन्छ ?
विचार

वाम गठबन्धन भएपछि अब के हुन्छ ?

– वीरेन्द्रमणि पौडेल
चितवन पोष्टप्रेमी मित्रहरु,
कलियुग अर्थात् पापीहरुको युगमा अपराधीहरुले लखेट्छन् र सज्जनहरु भाग्छन् भन्ने सुनिएको हो, विश्वास लागेको थिएन तर साँच्चै हो रहेछ । सत्ययुगमा सज्जनले अपराधीलाई सजाय दिन्थे, अहिले यो युगमा त्यसको ठीकविपरीत भएको छ । अर्थात्, अपराधीले सज्जनलाई हरेक कोणबाट सजाय दिएको छ । विनाकसुर सजाय दिएको छ । रह्यो कुरा न्यायको । न्याय त यतिबेला शक्तिशाली हेरेर गरिन्छ । को कति धनी छ, त्यो हेरेर दिइन्छ । कुन बेइमान कुन दलको हो, त्यो थाहा पाएपछि मात्रै न्यायका लागि ओठ चल्छन्, कलम घोटिन्छन् र अँगालो मारिन्छन् । अन्याय गर्नका लागि सुनियोजित रुपमा चारै जना अपराधीलाई न्यायाधीश बनाइन्छ र निर्दोषलाई सजाय दिन चोकचौराहामा मौखिक मुद्दा दर्ता गरिन्छ । मुद्दा दर्ता गर्नेहरु भोलिका दिनमा आफूले गरेका अपराधका पोकाहरु वास्तविक समाजमा छताछुल्ल हुँदा त्यसको परिणाम के हुन्छ, यतिबेला बेवास्ता गरिरहेका छन् । आफूलाई स्वघोषित न्यायाधीश ठान्नेहरु सिंगो नागरिक समाज ठानिरहेका छन् । समाज भनेको विभिन्न पेसाका, विभिन्न धर्मका, विभिन्न संस्कृति मान्ने, राष्ट्रप्रति जिम्मेवार नागरिकहरु हुन् भन्ने ज्ञानबाट निकै टाढा छन् । त्यसैले त तिनले आफूलाई सर्वेसर्वा न्यायाधीश ठानिरहेका छन् र अन्याय गर्न तम्सिरहेका छन् ।
मुलुकमा तीन चरणमा स्थानीय तहको निर्वाचन सकिएको छ । समाज विकासको गति पहिले जस्तो थियो आज पनि उस्तै छ । आर्थिक भ्रष्टाचार गर्नेहरुले गरिरहेका छन् । थिचिनेहरु थिचिएकै छन्, मिचिनेहरु मिचिएकै छन् । सुविधा भोग गर्नेहरु गरिरहेकै छन् । सुविधाबाट वञ्चितहरु त्यही अवस्थामा छन् । शक्तिका हिसाबले पहिले एउटा राजा थिए, अहिले धेरै राजाहरु छन् । एउटा राजाको शक्ति र सुविधा धेरै राजाहरुले बाँडेर प्रयोग गरेका छन् र खाएका छन् । पहिले पहिले उतिसारो हत्याहिंसाका घटनाहरु हुन्थेनन् अहिले दिनदहाडै अन्त होइन, राजधानी काठमाडौँमै नागरिक हत्या भएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन केही दिनअघिमात्रै गोलीको शिकार भए । सुरक्षा सुरक्षाकर्मीको सट्टा भगवान् पशुपतिनाथले गरिरहेका छन् ।
राजनीतिले बिस्तारै गन्तव्य समात्दै थियो, मंसिर १० र २१ मा प्रदेश र केन्द्रको निर्वाचन हुने मिति तोकिएको पनि हो । तर, अकस्मात् नेपालको इतिहासमा कसैले अन्दाजै नगरेको राजनीतिक घटना घट्यो । त्यो घटना हो– “नेपालको सबैभन्दा ठूला दुई कम्युनिस्ट घटक एमाले र माओवादी केन्द्रबीचको अहिलेको चुनावी तालमेल र भोलिको पार्टी एकीकरण ।” यसले मुलुकमा यति ठूलो तरंग खडा ग¥यो कि हरेक नागरिक अब के हुन्छ, चुनाव हुन्छ हुँदैन, भए शान्तिपूर्ण हुन्छ वा गोलमाल हुन्छ ? जस्ता तर्कवितर्क गर्न लागे । जनताको स्वाभाविक जिज्ञासालाई सम्बोधन गर्नु कर्तव्य भएको हुँदा यतिबेला अब के हुन्छ ? भन्ने प्रश्नको सम्भावित जवाफ खोज्नेतर्फ लागिएको छ ।
नेपाल विश्वको सदस्य राष्ट्र हो । विश्वको नक्सामा नेपाल अंकित छ । संयुक्त राष्ट्रसंघको सन् १९५५ मा सदस्यता लिएको छ । आर्थिक र सामाजिक विकासका हिसाबले कमजोर भएको हुँदा नेपालको चर्चा विश्वमा कमै हुन्छ । शक्तिशाली र धनी अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, चीन, उत्तर कोरिया, भारतलगायत देशको चर्चा वर्तमान विश्वमा ज्यादा र दैनिक हुन्छ । तर, यसपटक यस्तो भैदियो कि चर्चाबाट कुनातिर रहेको नेपाल विश्वको ध्यान सीधै आफूतिर तान्ने अवस्थामा आइपुग्यो । त्यो ध्यान खिच्ने सूत्र बन्यो, खासगरी दुई ठूला दल माओवादी र एमालेबीचको चुनावी तालमेल ।
यतिबेला विश्वमा कम्युनिस्टहरु रक्षात्मक अवस्थामा छन् । एक जमाना थियो, विश्व दुई ध्रुवमा बाँडिएको थियो । पुँजीवादीहरुको नेतृत्व अमेरिकाले गरेको थियो भने साम्यवादी कम्युनिस्टहरुको नेतृत्व सोभियत संघले गरेको थियो । जब मिखाइल गोर्भाचोभको पालामा सोभियत संघ विघटन भयो, तव विश्वमा एकमात्र दादा अमेरिकाको हैकम चल्न थाल्यो । सोभियत संघको पतनसँगै धेरै कम्युनिस्ट राष्ट्रहरु छिन्नभिन्न भए । कम्युनिस्ट देशहरु नै पतन भए । ह्युगो चाबेजको मृत्युपछिको भेनेजुयलाको हालत दयनीय बनेको छ । यतिबेला जसोतसो धानिएका कम्युनिस्ट देशहरुमध्ये क्युवाको नेतृत्वबाट फिडेल क्यास्ट्रो बाहिरिएपछि उनका भाइलाई मुलुक हाँक्न कठिन भएको छ । भियतनामले अपेक्षाकृत विकास गर्न सकेको छैन । उत्तर कोरियाले शस्त्रअस्त्रमा विकास गर्दै बमबारूदमा आफूलाई शक्तिशाली त बनाएको छ, तर भौतिक विकासका हिसाबले अघि बढ्न सकेको छैन । सन् १९४९ मा सांस्कृतिक क्रान्ति सफल भएको भन्ने माओत्सेतुङको देशमा सन् १९७६ मा उनको निधनपश्चात् विश्वसँग सीधा सम्बन्ध गाँस्न उपयुक्त हुने विचार राख्ने देङसियाओ पेङको आर्थिक नीतिले सफलता हासिल गर्ने छेकछन्द देखिएपछि त्यही बाटोमा हिँडेको चीन आज राष्ट्रपति सी जिन पिङको नेतृत्वमा आइपुग्दा आर्थिक विकासका हिसाबले संसारमा सबैभन्दा अघि बढेको छ । अब साम्यवादी सूत्र होइन, चीन पुँजी विकासमा लागिसकेको छ । प्रमाण अरु चाहिन्न, यही काफी छ कि चीनको १०९ अर्ब डलर अमेरिकामा लगानी भएको छ । उसले अमेरिकामा मात्र होइन, विश्वका अन्य थुप्रै मुलुकमा अरबौंँ डलर लगानी गरेको छ । यतिबेला जति डलर अमेरिकामा छैन होला, त्योभन्दा ज्यादा डलर चीनले संकलन गरिसकेको बताइन्छ । विश्वका कम्युनिष्ट राष्ट्रहरुको यो अवस्थालाई मध्यनजर गर्दा विश्व कम्युनिस्ट पूरै रक्षात्मक र कमजोर भएको अवस्थामा नेपालमा चाहिँ संसारलाई चकित पार्ने हिसाबले एक भई शक्तिका रुपमा उदाउँदा कम्युनिस्टविरोधी शक्तिशाली राष्ट्रहरु झस्किएको सजिलै महसुस गर्न सकिन्छ । सीधै भन्दा यसरी भन्न सकिन्छ कि नेपालमा कम्युनिस्ट फस्टाएको वा कम्युनिस्ट शासनमा आएको कम्युनिस्ट इतर विश्वले मन पराउँदैन । यही अवस्थालाई विचार गरेरै होला, प्रचण्ड र केपी ओली दुई भाइले “हाम्रो एकता कसैको विरूद्धमा होइन, राष्ट्रको हितलाई मध्यनजर गरेर गरिएको हो” भने । यो जवाफ यिनले नेपालभित्रका मुख्य दल नेपाली कांग्रेसलाई मात्रै दिएका होइनन्, लोकतान्त्रिक गणतन्त्र भारतलाई पनि दिएका हुन् । लोकतन्त्र र गणतन्त्र भन्ने अमेरिका, युरोप र भारतजस्ता देशले नेपालमा कन्युनिस्ट उदाएको कुनै पनि हालतमा देख्न सक्दैनन् । फेरि नेपालको खास र प्रमुख समस्या भनेको के मात्रै हो भने यो देश पूरै परनिर्भर देश हो । परनिर्भर भन्नुभन्दा भारतनिर्भर हो भन्दा अझै व्याकरण मिल्न जान्छ । किनभने, नेपालले आज पनि ७५ प्रतिशत भारतीय उत्पादन प्रयोग गरिरहेको छ । चीनले थोरै र समुद्रपारले त्योभन्दा पनि थोरै उत्पादन नेपाल पठाएका छन् । यसरी अरुको उत्पादनमा बाँच्ने नेपालमा कम्युनिस्ट हावी हुँदा संसारका अन्य देशहरुले सहयोग नगर्ने अवस्था आउने र छिमेकी भारतले समेत नाक नेप्ट्याउने अवस्था आउन सक्छ ।
भारत नेपाल मामलामा सधंैँ सक्रिय रहेको प्रमाण विगतले देखाएको छ । नेपालमा गणतान्त्रिक संविधान जारी हुँदा ताका “पहिले हाम्रो कुरा सुन अनि संविधान जारी गर” भन्ने भारतीय भनाइको नेपालका दलहरुले सुनुवाइ नगरेपछि रिसाएको भारतले ठाडै नाकाबन्दी गरेको अवस्थालाई हेर्दा के अनुमान गर्न सकिन्छ भने यतिबेला अमेरिकासँग मितेरी साइनो गाँसेको भारत प्रचण्ड र केपी ओली दुई भाइले अँगालो मारेर नेपालमा अन्य लोकतान्त्रिक शक्तिलाई “फुच्चे” सावित गर्न लागेपछि कुनै पनि हालतमा खुशी हुनेछैन । भारतका एक अनुभवी पत्रकार आनन्दस्वरुप बर्माका अनुसार नेपाल चीनतिर लस्किएला भन्ने डरमात्रै होइन, यसले आर्थिक विकास गरेर आत्मनिर्भर होला भन्ने पीर पनि मानिरहेको छ । त्यस कारण पनि हुन सक्छ, नेपाललाई के गर्दा गाह्रो हुन्छ भारतले त्यही गर्छ भन्ने विश्लेषण नेपाली नागरिक समाजको कुनाकाप्चामा भइरहेको छ ।
यता, भारतभक्तको रुपमा प्रचारित नेपाली कांग्रेस पार्टी अब हुने भनिएको निर्वाचनमा जान तर्सिएको छ । जानाजान हार्ने खेल खेल्न को तयार हुन्छ र ! नेपाली कांग्रेस मंसिर १० र २१ को निर्वाचनरुपी खेलमा भाग लिन तयार होस् । स्वतन्त्र निर्वाचन विश्लेषकहरुले बढीमा नेपाली कांग्रेसले नेपालभर केहीमात्र सिट जित्ने, उस्तै परे वाम गठबन्धनले दुईतिहाई सिट जित्ने आँकलन गरिसकेको अवस्थामा अहिले नेपाली कांग्रेस आत्तिनु अस्वाभाविक होइन । यस्तो अवस्थामा कम्युनिस्टविरोधी शक्तिशाली विश्व तरंगित हुनु र छटपटिनु सामान्य विषय बन्न जान्छ भने कुनै पनि हालतमा कम्युनिस्ट उदाउने निर्वाचन भाँड्नु तिनको कर्तव्य बन्न जान्छ । यो कोणबाट यसरी हेर्दा अबको निर्वाचन तोकिएको मितिमा नहुन सक्छ । मिति पछि सर्दै जाँदा चुनावै नहुन पनि सक्छ र संविधान कार्यान्वयन प्रक्रिया अवरूद्ध हुन सक्छ । कथंकदाचित निर्वाचन भइहालेको खण्डमा प्रचण्ड–ओली दुई भाइको हातमा मुलुकको शासनसत्ता जानेछ । यो खालको सत्ता टिक्न नदिन शक्तिशाली कम्युनिस्ट विरोधी दुनियाँले भएभरको बल लगाउने छ । “चिन्ता नगर हामी छौँ” लुकेर भन्ने र लुकेरै सहयोग गर्नेहरुलाई पनि विश्व दबाबलाई थेग्न मुश्किल हुने छ । त्यतिबेला फेरि नेपालमा चरम राजनीतिक अस्थिरता सिर्जना हुने छ । आखिर दुख पाउनेचाहिँ नेपाली जनता नै हुने छन् । वाम गठबन्धनपछि अब के हुन्छ ? बढीमा यही हुन्छ, जे अन्दाज यी शब्दहरुका अर्थले दिएका छन् ।

Comments

About the author

चितवन पोष्ट