गृह » कृषि पेसा गर्नेलाई क्यान्सर रोग बढी, कुल बिरामीको लगभग साढे ३७ प्रतिशत कृषक
प्रमुख समाचार स्वास्थ्य

कृषि पेसा गर्नेलाई क्यान्सर रोग बढी, कुल बिरामीको लगभग साढे ३७ प्रतिशत कृषक

भरतपुर । नेपाललाई कृषि प्रधान देश भनिन्छ । सायद यही कारण पो हो कि क्यान्सर रोग लागेर उपचारका लागि आउनेमध्येमा कृषि पेसा गर्नेहरु अत्यधिक छन् । हालै सार्वजनिक भएको राष्ट्रिय क्यान्सर रजिष्ट्रीको १० वर्षे रिपोर्टमा यो विवरण उल्लेख छ ।
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २००३ देखि राष्ट्रिय क्यान्सर रजिष्ट्री कार्यक्रम सुरू गरेको छ । सो अस्पतालसहित काठमाडौँको वीर अस्पताल, महाराजगञ्ज शिक्षण अस्पताल, कान्ति बालअस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पोखराको मणिपाल शिक्षण अस्पताल र धरानको बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने क्यान्सरका बिरामीको तथ्याङ्क राख्छ ।
सन् २००३ देखि २०१२ सम्मको १० वर्षे अवधिको सबै खाले विवरण समेटिएको प्रतिवेदन असोज १० गते सम्पन्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा सार्वजनिक भएको हो । सो १० वर्षमा सबै सात अस्पतालमा गरेर क्यान्सरको उपचार गराउन ५६ हजार १३ जना नेपालीहरु आएका छन् । पेसागत हिसाबमा कृषि पेसा अंगाल्नेहरु यो १० वर्षमा २० हजार ९५३ छन् ।
यो संख्या कुल बिरामीको लगभग साढे ३७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा थोरै व्यापार गर्नेहरुको संख्या छ । जसको संख्या जम्मा एक हजार ४२९ छ । यो संख्या कुल बिरामीमध्ये दुई दशमलब ६ प्रतिशत हो । त्यसपछि कार्यालयहरुमा काम गर्नेहरु छन् । जसको संख्या तीन दशमलब सात प्रतिशत छ ।
कृषिपछि घरेलु काम गर्नेहरुको संख्या बढी छ । यस्तो काम गर्नेहरु १६ हजार ३७ जनालाई क्यान्सर भएको छ । पुरुषहरुको मात्रै संख्या हेर्दा कृषि काम गर्नेमा क्यान्सर भएकाहरु ५० प्रतिशतभन्दा बढी छन् । १० वर्षमा क्यान्सर हुने पुरुषहरुको संख्या १८ हजार २०८ छ । क्यान्सर भएका यी पुरुषमध्ये १० हजार ३६० जनाको पेसा कृषि उल्लेख छ । पुरुष बिरामीमा यो झण्डै ५७ प्रतिशत हो ।
क्यान्सर भएका महिलामा घरायसी काम गर्नेहरुको संख्या धेरै रहेको छ । १० वर्षमा क्यान्सर भएका कुल २१ हजार ४८ जना नेपाली महिलामध्ये नौ हजार ७८८ जनाको पेसा घरायसी काम रहेको छ । त्यसपछिमात्रै कृषि पेसा रहेको छ । क्यान्सर भएका बिरामी महिलामध्ये ६ हजार ५८० जनाले आफ्नो पेसा कृषि भएको बताएका छन् । व्यापार र कार्यालयमा काम गर्ने क्यान्सरग्रस्त महिलाहरुको संख्या दुई र तीन प्रतिशतको हाराहारीमा छ ।
बिरामीमध्ये अशिक्षित धेरै
शिक्षा र चेतना नहुँदा क्यान्सर रोग दिन प्रतिदिन फैलिदै गएको धेरैको मत रहन्छ । नेपालमा क्यान्सर भएकाहरुको तथ्याङ्क हेर्दा रोगीहरुमा शिक्षितभन्दा अशिक्षितहरुको संख्या बढी छ । १० वर्षका बिरामीमध्ये शिक्षितको संख्या साढे ३५ प्रतिशतको हाराहारीमा छ । तर, पुरुष बिरामीको मात्रै संख्या हेर्दा अशिक्षितभन्दा शिक्षितहरुको संख्या केहीमात्रै बढी छ ।
महिलामा शिक्षितभन्दा अशिक्षित क्यान्सर रोगीहरुको संख्या धेरै नै रहेको प्रतिवेदनमा उल्लेख छ । पुरुष क्यान्सर रोगीमध्ये शिक्षित ४० प्रतिशतको हाराहारीमा छन् । त्यस्तै अक्षित पुरुषहरुको संख्या ४४ प्रतिशतको हाराहारीमा रहेको छ । पाँच वर्षभन्दा कम उमेरकाहरुको शिक्षित अशिक्षित उल्लेख नगरिएको प्रतिवेदनमा उल्लेख छ । क्यान्सर भएका महिलाहरुमा शिक्षित ३३ प्रतिशत छन् । अशिक्षितहरु ५१ प्रतिशत छन् ।

Comments

About the author

चितवन पोष्ट