गृह » भयावह बन्दै मनोरोग
प्रमुख समाचार स्वास्थ्य

भयावह बन्दै मनोरोग

–तुलमान ग
भरतपुर । नेपालमा हरेक वर्ष मनोरोगका बिरामीको संख्या बढ्दै गएको छ ।
मनोरोगमा पनि सबैभन्दा धेरै डिप्रेशन हुने गरेको मनोरोग विशेषज्ञहरू बताउँछन् । मनोरोगकै कारण आत्महत्याका घटनाहरू पनि दिनप्रतिदिन बढ्दै जाने गरेका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाईंले बताए । उनका अनुसार मनोरोगका बिरामीको तथ्याङ्क यकिन नभए पनि मनोरोग लागेका करिब एक चौथाई बिरामीमा डिप्रेशनको समस्या हुने गरेको पाइएको छ ।
विगत १४ वर्षदेखि मनोरोग विशेषज्ञको रूपमा कार्यरत प्रा डा सेढाईंका अनुसार पछिल्लो समय नेपाली समाजमा मनोरोग सम्बन्धी प्रचारप्रसारको माध्यम बढ्दै गएकोले पनि अस्पतालहरूमा मनोरोगका बिरामीहरूको संख्या बढी देखिएको हो । रूढीवादी परम्पराअनुसार नेपाली समाजमा मनोरोग लागेका बिरामीहरूलाई घरायसी उपचारको नाममा विकट बस्तीहरूमा अझै पनि धामीझाँक्री लगाउने प्रचलन कायमै छ । तै पनि सञ्चार माध्यमको विकाससँगै अस्पतालहरूमा मनोरोगको उपचार हुन्छ भन्ने जानकारी पाएकोले पछिल्लो समय मनोरोगका बिरामीहरू पनि अस्पतालको पहँुचसम्म पुग्न सफल भएको उनको भनाइ छ । कतिपय मानिसमा वंशाणुगत गुणका आधारमा पनि मनोरोग देखा पर्ने उनले बताए । उनका अनुसार मानसिक रोगलाई सामान्य, कडा र अन्य गरी तीन भागमा विभाजन गरिएको छ । ‘तर, मानसिक रोग लागेको समयमै पत्ता लगाउन नसकिने भएकोले यसको समस्या बढ्दै गएको हो,’ प्रा डा सेढाईंले भने, ‘किनकी कतिपय अवस्थामा हेर्दा सामान्य जस्तै लागे पनि उसलाई मनोरोग लागेको हुन सक्छ ।’
भरतपुरस्थित चितवन मेडिकल कलेज अस्पतालको मनोरोग विभाग प्रमुखसमेत रहेका डा सेढाईंले मनोरोग समयमै पत्ता लगाउन सकेमा पूर्णरूपमा निको हुने भएकोले एक्लै बस्ने, टोलाउने, एक्लै बर्बराउने, चिच्याउने, गाली गर्ने, रूने, हाँस्ने जस्ता लक्षण देखापरेमा नजिकैको स्वास्थ्य संस्थामा जँचाउन पनि सबैमा आग्रह गरेका छन् । मदिरापान, सामाजिक विभेद, हिँसा, द्वन्द्ध, भूकम्प, बाढी–पहिरो लगायतका कारण मनोरोग लाग्न सक्ने उनले बताए ।
तर, अझै पनि मनोरोगका बिरामी र अस्पतालबीचको दूरी नजिक हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए । सरकारी तवरबाटै जनमानससमक्ष यसबारे जनचेतना फैलाउन नसकेको हुँदा प्रायः दुर्गम भेगका मानिसहरू रोग पालेर बस्न बाध्य भएको उनको भनाइ छ । ‘मानसिक रोगका बिरामीको संख्या हरेक वर्ष बढ्दै गए पनि नेपाल सरकारले यसबारे त्यत्ति ध्यान दिन नसकेको हो कि ?’ उनले भने, ‘जसले गर्दा अझै पनि ९० प्रतिशत बिरामीहरू अस्पतालको पहँचभन्दा बाहिर रहन बाध्य छन् ।’ त्यसैले पनि नेपालमा मानसिक रोगका बिरामीहरूको अवस्था अन्य साधारण रोगको जस्तो सहज नभएको उनले बताए । यसका लागि गाउँगाउँ गएर जनचेतना जगाउने र समयसमयमा परामर्श कार्यक्रम आयोजना गरेर जनतालाई सुसूचित गराउनुपर्ने उनको भनाइ छ ।

Comments

About the author

चितवन पोष्ट