गृह » मनोरोगबारे नाटक प्रदर्शन
समाचार समाज

मनोरोगबारे नाटक प्रदर्शन

भरतपुर । चितवन मेडिकल कलेजको मनोरोग विभागले मंगलबार जनचेतनामूलक नाटक प्रस्तुत गरेको छ । नेपाली समाजमा व्याप्त सामाजिक विभेद, दुव्र्यशन, डिप्रेशनलगायतका कारण मनोरोगसम्बन्धी बिरामीको संख्या दैनिकरूपमा बढ्दै गएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले जनचेतनामूलक नाटक प्रस्तुत गरेका हुन् ।
नेपाली समाजमा अझै पनि धामीझाँक्रीको विश्वासका कारण बिरामीले ज्यान गुमाउनु परेको कथालाई नाटकमा उतारिएको थियो । साथै मनोरोगको लक्षण देखिएमा समयमै अस्पताल पु¥याएर उपचार गराउन सुसूचित गराइएको थियो । नेपालमा हरेक वर्ष अक्टोबर १० तारिखलाई विश्व मानसिक स्वास्थ्य दिवसको रूपमा मनाउँदै आइरहेको छ । यसै सिलसिलामा कलेजका विद्यार्थीहरूले नाटक तयार पारेका थिए ।
नेपालमा सबैभन्दा बढी देखा परेको मानसिक रोग नै डिप्रेशन भएकोले परिवारको सदस्यमा टोलाउने, कराउने, आत्महत्याको प्रयास गर्ने जस्ता लक्षण देखिएमा समयमै अस्पताल लैजान समेत नाटकमार्फत सुझाएका थिए । नाटक मञ्चन पश्चात कार्यक्रममा बोल्दै चितवन मेडिकल कलेज अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले मानसिक रोग उपचारबाट पूर्णरूपमा निको हुने भएकोले रोग लागेको थाह पाएमा समयमै उपचार गर्न सुझाव दिए । मानसिक रोगको उपचार चितवनमै सम्भव भएकोले टाढा जानु नपर्ने उनको भनाइ छ ।
चितवनमा मानसिक रोगको उपचार सेवा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले प्रदान गरिरहेको छ । विगतका तुलनामा मानिसहरू रोग र उपचारबारे खुल्दै गए पनि आवश्यक मात्रामा अझै पनि खुल्न नसकेकोले शिक्षित एवम् जानकार व्यक्तिहरूले आ–आफ्नो टोल तथा समाजमा जानकारी गराए सबैले समयमै उपचार पाउने उनको भनाइ छ ।
चितवन मेडिकल कलेज अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मनोरोग विशेषज्ञहरू प्रा डा सिपी सेढाईं, डा खगेन्द्र काफ्ले, डा शैलेन्द्र अधिकारी, अस्पतालका निर्देशक डा दयाराम लम्साल, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झालगायतले बोलेका थिए ।

Comments

About the author

चितवन पोष्ट