गृह » बस दुर्घटनामा एकको मृत्यु ५४ जना घाइते
समाचार समाज

बस दुर्घटनामा एकको मृत्यु ५४ जना घाइते

–केशव अधिकारी
धादिङ । धादिङको सदरमुकामनजिकै मंगलबार दिउँसो भएको बस दुर्घटनामा ५४ यात्रु घाइते भएका छन् । दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गंगा–जमुना गाँउपालिका–३ बस्ने होमबहादुर घले भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका घलेलाई थप उपचारार्थ काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घाइतेमध्ये २३ जनालाई उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर लगिएको छ भने घाइतेहरुको जिल्ला अस्पताल धादिङमा नै उपचार भइरहेको छ ।
उत्तरी धादिङको गंगा–जमुना गाउँपालिकास्थित गुम्दीबाट धादिङको सदरमुकामतर्फ आउँदै गरेको बा३ख ४७८ नम्बरको यात्रुबाहक बस नीलकण्ठ नगरपालिका–१२ कुमाल गाउँ भन्ने स्थानमा सडकबाट खेतमा खसेर दुर्घटना भएको हो । ग्रामीण सडकमा क्षमताभन्दा धेरै यात्रु बोकेर आएको उक्त बस बीचबाटोमै बिग्रिएपछि समयमै गन्तव्यमा पुग्न निकै गतिमा गुडेको कारण मोडमा अनियन्त्रित भएर दुर्घटना हुन पुगेको घाइतेहरुले बताए ।
सदरमुकामबाट ५ मिनेटको दूरीमा रहेको साङ्कोष–तिप्लिङ सडकखण्डको कुमाल गाउँमा दुर्घटना भएपछि स्थानीयवासी, सदरमुकामबाट गएको रेडक्रसकर्मी, नेपाल प्रहरीलगायतले तत्काल उद्धार गरी सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उद्धारमा खटिएका धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताए ।
गम्भीर घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा रिफर गरिएकोमा एक जनाको बीचबाटोमै ज्यान गएको हो । जिल्ला अस्पतालमा बिरामीको चाप निकै बढिरहेका बेला एक्कासि ठूलो संख्यामा घाइतेहरु जिल्ला अस्पतालमा लगिँदा अस्पताल प्रशासनलाई घाइतेहरुको उपचारको व्यवस्था मिलाउन हम्मेहम्मे परेको थियो ।
तिहारको लागि किनमेल गर्न र भूकम्प प्रभावितको दोस्रो किस्ताको रकम लिन सदरमुकाम आएका यात्रुहरुले खचाखच भरिएको यात्रुबस ग्रामीण सडकमा तीव्र गतिमा गुडेको यात्रुहरुको भनाइ छ । अत्यधिक गतिमा रहेका कारण मोडबाट बस खेतमा खसेको घाइते जीतबहादुर घलेले बताए ।

Comments

About the author

चितवन पोष्ट