गृह » बेरोजगारलाई म्यादी प्रहरीमा जागिर
समाचार समाज

बेरोजगारलाई म्यादी प्रहरीमा जागिर

किशोर खनाल
भरतपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सुरक्षाको लागि नेपाल सरकारले म्यादी प्रहरीमा भर्ना आह्वान गरेको छ ।
सरकारले मंगलबार बिहान १० बजेबाट म्यादी प्रहरीको लागि देशभर दरखास्त आह्वान गरेको जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरीमा भर्ना हुन चाहने युवाहरुले जिल्ला प्रहरी कार्यालय भरतपुरमा पनि मंगलबारबाटै दरखास्त दिन सक्ने प्रहरी उपरीक्षक थापाले जनाए ।
उनका अनुसार मंगलबारदेखि आगामी असोज ३० गते बेलुका ५ बजेसम्म म्यादी प्रहरीमा भर्नाको लागि आवेदन दिन सकिनेछ । म्यादी प्रहरीमा दरखास्त भर्नेहरुलाई कार्तिक १ गते सम्पर्क मिति तोकिएको प्रहरी उपरीक्षक थापाले बताए ।
‘कार्तिक ५ देखि ८ गतेसम्म छनौटको समय हुनेछ । कार्तिक १० गते अन्तिम नतिजा प्रकाशन हुनेछ । कार्तिक १२ देखि २४ गतेसम्म छनौट भएका म्यादी प्रहरीलाई तालिम दिइने छ’ जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले भने, ‘तालिम निर्वाचनको सुरक्षासम्बन्धी विषयमा बढी केन्द्रित हुनेछ ।
म्यादी प्रहरीको अवधि ५५ दिन हुनेछ । निर्वाचनको सुरक्षाको लागि देशभर ९८ हजार दुई सय ६८ म्यादी प्रहरी खटिनेछन् । दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
म्यादी प्रहरीमा जागिर खाने इच्छुकले फारममा १० रुपैयाँको टिकट टाँसी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सक्नेछन् । म्यादी प्रहरीले प्रहरी जवानसरह आधारभूत सेवा–सुविधा रासन र स्थानीय भत्तासमेत पाउने छन् । निर्वाचनमा खटिएका म्यादी प्रहरीको मृत्यु भएमा उसको परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइने छ ।
कस्ता व्यक्ति छनौट हुन सक्छन् ?
जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रमुख प्रहरी उपरीक्षक थापाका अनुसार म्यादी प्रहरीमा जागिर खानेहरु कुनै राजनीतिक पार्टीको सदस्यता लिएको हुन हुँदैन । कुनै पनि खालका फौजदारी अभियोग लागेको पनि हुनुहुँदैन । म्यादी प्रहरीको लागि सामान्य लेखपढ गर्न सक्ने, नेपाली नागरिक भएको, कुनै नैतिक पतन हुने खालको अभियोगमा संलग्न नभएको, तन्दुरुस्त र मानसिक तथा शारीरिक रुपमा स्वास्थ्य ठीक रहेको हुनपर्छ ।

Comments

About the author

चितवन पोष्ट