गृह » कोराभित्रै नेपाल परिवार दलको केन्द्रीय बैठक
राजनीति समाचार समाज

कोराभित्रै नेपाल परिवार दलको केन्द्रीय बैठक

–होमनाथ सापकोटा
रत्ननगर । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल बसेको कोराभित्रै मंगलबार सो दलको केन्द्रीय समितिको बैठक बसेको छ ।
कालिका नगरपालिका–६ खोलेसिमलस्थित निवासमा अध्यक्ष ढकाल आमाको किरिया बसेका हुन् । मंगलबार ढकालको निवासमा नेपाल परिवार दलको केन्द्रीय कमिटीको बैठक बसेको हो ।
एमालेसँग भएको तीनबुँदे सहमति अनुमोदन र निर्वाचनका अन्य विषयमा तत्काल निर्णय गर्नुपर्ने भएकाले कोराभित्रै दलको बैठक बसेको हो । कोरामै रहेका अध्यक्ष ढकालले बैठकको अध्यक्षतासँगै बैठकलाई सम्बोधनसमेत गरेका थिए ।
बैठकले एमालेसँग चुनावी तालमेल गर्ने सहमति अनुमोदन गरिएको छ । बैठकमा एमालेसँग भएको तीनबुँदे सहमतिका विषयमा केन्द्रीय समितिका सदस्यहरुले राय सुझाव राखेका छन् । बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले एमालेसँग चुनावी तालमेल गरे पनि पार्टी एकीकरण नगर्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टी एकीकरण गर्दा विशिष्ट मह¤व बोकेको परिवार दलको अस्तित्व समाप्त हुने भन्दै केन्द्रीय सदस्यहरुले कुनै पनि हालतमा पार्टी एकीकरण गर्न नहुने सुझाव राखेका हुन् ।
राष्ट्रिय आवश्यकतालाई मनन गरी चुनावी एकता गरिए पनि एकीकरण भने गर्न नहुने तर्क उनीहरुको छ । बैठकमा केन्द्रीय सदस्य अब्दुल कैयुम शाहले एमालेसँग भएको चुनावी तालमेल स्वागतयोग्य भन्दै पार्टी एकीकरण नगर्न नेतृत्वलाई सुझाव दिए ।
‘चुनावी तालमेल अहिलेको आवश्यकता हो’, उनले भने, ‘तर पार्टी एकीकरण गर्न भने हुँदैन । उनले केन्द्र र प्रदेशमा प्रतिनिधित्व हुने गरी गठबन्धनसँग उम्मेदवारी माग्न अध्यक्ष ढकाललाई आग्रहसमेत गरेका छन् । बैठकमा केन्द्रीय सदस्य तथा सांसद मिलन राजवंशीले सिंगो पार्टीको अस्तित्व सकिने गरी पार्टी एकीकरण गर्न नहुने धारणा राखिन् । ‘अध्यक्षज्यू पार्टी एकीकरणको पक्षमा हुनुहुन्न’, उनले भनिन्, ‘यो चुनावी तालमेलमात्र हो पार्टी एकीकरण होइन ।’
नेपाल परिवार दलको बैठकले आगामी मंसिरमा हुने निर्वाचनमा एमालेसँग चुनावी तालमेलका लागि गरिएको सहमति अनुमोदनसमेत गरेको छ । बैठकले गत असोज २० गते एमालेसँग भएको तीनबुँदे सहमति अनुमोदन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले निर्वाचनमा उम्मेदवार छनौट गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको छ । बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष एकनाथ ढकालले एमालेसँग पार्टी एकीकरण नभई चुनावी तालमेल गरेको बताए ।
‘६÷६ महिनामा सरकार परिर्वतन हुँदा मुलुकले विकास निर्माणमा गति लिन सकेन’ उनले भने, ‘स्पष्ट दुईतिहाई बहुमत भएको स्थायी सरकार बनाउन एमालेसँग चुनावी तालमेल गरिएको हो ।’
विकास, निकास र समृद्धिका लागि बहुमतको सरकार आवश्यक रहेको भन्दै उनले त्यसका लागि एमालेले नेतृत्व गरेको गठबन्धनलाई आफूहरुले साथ दिएको बताए । एक अर्को प्रसङ्गमा सो दलका केन्द्रीय अध्यक्ष ढकालले सरकार निर्वाचन सार्ने खेलमा लागेको भन्दै त्यसको चर्को विरोध गरे । निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने उनको भनाइ छ ।
कोराभित्रै आयोजना गरिएको बैठकमा केन्द्रीय समिति, कार्यसम्पादन समिति तथा सांसदहरुको सहभागिता रहेको थियो । परिवार दलको केन्द्रीय समिति ५१ सदस्यीय रहेको छ ।
परिवार दल सूर्य चिन्हमै चुनाव लड्ने
नेपाल परिवार दल नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएरै चुनाव लड्ने भएको छ ।
केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न अध्यक्ष ढकालको निवासमा आयोजित पत्रकार सम्मेलनमा परिवार दलका उम्मेदवारहरुले सूर्य चिन्ह लिएर चुनाव लड्ने सहमति भएको जानकारी दिइएको छ ।
अध्यक्ष ढकालले नेकपा एमाले र नेपाल परिवार दलबीच तीनबुँदे सहमति भएको जानकारी दिए । उनले कुल निर्वाचन क्षेत्रमध्ये दुई प्रतिशत उम्मेदवार परिवार दलले पाउने गरी सहमति भएको बताए ।
प्रतिनिधिसभा र प्रदेशसभामा दुई÷दुई प्रतिशत उम्मेदवारहरुको संख्या परिवार दलले पाउने गरी सहमति भएको उनले बताए । परिवार दलका उम्मेदवारहरुलाई एमालेले नै टिकट दिने सहमति भएको अध्यक्ष ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालले संसद बाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहने र संसद्भित्र नेकपा एमालेले ह्वीप जारी गरेको विषयबाहेक अन्यमा परिवार दलका सांसदहरुले स्वतन्त्ररुपमा आफनो विचार राख्न पाउने सहमति उनले भएको बताए ।
यसअघि डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीले पनि सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको थियो । अहिलेसम्म नेकपा एमालेको अगुवाइमा माओवादी केन्द्र, नयाँ शक्ति पार्टी र परिवार दलबीचमा चुनावी गठबन्धन बनेको छ ।

 

Comments

About the author

चितवन पोष्ट