गृह » रामग्राम विकास कोष खडा गर्न हस्ताक्षर
समाचार समाज

रामग्राम विकास कोष खडा गर्न हस्ताक्षर

नवलपरासी (रासस) । भगवान् गौतमबुद्धको अस्थी रहेको नवलपरासीस्थित रामग्राम स्तूप क्षेत्रको चौतर्फी विकासका लागि छुट्टै रामग्राम विकास कोष खडा गर्न हस्ताक्षर अभियान सुरू गरिएको छ ।
लुम्बिनी विकास कोषको अधीनमा रहेको सो स्तूप क्षेत्रको सर्वाङ्गीण विकासमा लागि छुट्टै कोष खडा गर्नुपर्ने माग गर्दै रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाले हस्ताक्षर अभियान सुरू गरेको हो ।
भगवान् गौतम बुद्धको आठ धातु रहेको स्थान रामग्राम स्तूप र बुद्धको मावली प्राचीन कोलीय गणराज्यको राजधानी पण्डितपुरको विकास, संरक्षण तथा प्रवद्र्धनमा लुम्बिनी विकास कोषले ध्यान नदिएको भन्दै जिल्लामा अहिले सो कोष खडा गर्न आन्दोलन चलिरहेको छ । अहिले हस्ताक्षर अभियान चलउनुका साथै दोस्रो चरणमा विभिन्न विरोधका कार्यक्रम गरिने भएको छ ।
इतिहासअनुसार यो स्तूप आजभन्दा दुई हजार ५०० वर्ष पहिला कोलीय राजाद्वारा शान्तिका अग्रदूत भगवान् बुद्धको अन्त्येष्टि पछि बाँकी अस्थी (अवशेष) कलशमा राखेर यो स्तूप बनाइएको थियो ।
बौद्ध स्तूप अन्य स्थानमा रहे पनि रामग्राम स्तूप बुद्धको परिनिर्वाणपश्चात् बनाइएका आठवटा अस्थीमध्ये सिंगो अस्थी रहेको स्तूप हो ।
तत्कालीन मगध सम्राट अशोक मौर्यले सातवटा स्तूपको अस्थी उत्खनन गराएर विभिन्न देशमा पु¥याए पनि नागजातिको आग्रहमा रामग्राम स्तूपको उत्खनन नगरिएकाले सिंगो भाग बचेको हो ।
सरकारले स्तूपको विकासका लागि पनि करोडौँको रकम विनियोजन गरी लुम्बिनी विकास कोषलाई जिम्मा लगाउँदै आए पनि सो कोषले यस स्तूपको संरक्षणमा ध्यान नदिएको यहाँका बासिन्दाको आरोप छ ।
यस्तै रामग्राम–१८ मा रहेको पण्डितपुर कोलीय गणराज्यको राजधानीसमेत रहेको पुरातत्वविद्बाट प्रमाणित भइसकेको हुँदा सो स्थानको औपचारिक घोषणा गर्न र संरक्षण तथा प्रवद्र्धनको माग गरिएको छ ।

Comments

About the author

चितवन पोष्ट