गृह » पुरूषार्थको मह¤व
विचार

पुरूषार्थको मह¤व

डा. मतिप्रसाद ढकाल
dhakalmatip@gmail.com
युधिष्ठिरले आफ्ना आक्षेपको समाधान दिँदै ईश्वर र धर्मको अनादर गर्दा हानि र आदर गर्दा लाभ हुने कुरा बताएपछि द्रौपदीले पुरूषार्थलाई मुख्य ठानेर पुरूषार्थ गर्नका लागि जोड दिन्छिन् । कर्म नगरीकन पहाड, वृक्ष आदि स्थावरहरु जिउन सक्छन् तर जंगम प्राणीहरु कर्मविना जिउन नसक्ने भएकाले ज्ञानी व्यक्तिले पनि कर्म गर्नुपर्छ । ‘अकर्मणां वै भूतानां वृत्तिः स्यान्न हि काचन’ (म.भा.३।३२।८) अर्थात् कर्म नगर्ने प्राणीहरुको कुनै जीविका वा पेसा पनि चल्न सक्तैन । त्यसैले भाग्यको भर परेर कहिल्यै पनि कर्मको परित्याग गर्नु हुँदैन र सदैव कर्मको नै आश्रय लिनुपर्छ । कर्मलाई तिरस्कार नगरी कर्मको कवच भिरिराख्नुपर्छ । राम्रोसँग कर्म गर्न जान्ने व्यक्ति हजारमा एक प्रतिशत पाइन्छ कि पाइँदैन बताउन अत्यन्त कठिन छ ।
धन कमाउन र त्यसको रक्षा गर्न पनि कर्म गरिरहनुपर्छ । यदि धन खर्च भइराख्यो र कमाइ भएन भने सगरमाथा जत्तिकै अग्लो धनराशि पनि नष्ट हुनसक्छ ।
उत्सीदेरन् प्रजाः सर्वा न कुर्युः कर्म चेद् भुवि ।
तथा ह्येता न वर्धेरन् कर्म चेदफलं भवेत् ।।
(पूर्ववत्, ३।३२।११)
अर्थात् सम्पूर्ण मनुष्यले यस पृथ्वीतलमा कर्म गर्न छाडिदिए भने सबैको संहार हुनेछ । यदि कर्मको कुनै फल नै हुँदैनथ्यो भने प्रजाहरुको पनि वृद्धि नै हुने थिएन । जो भाग्यमा मात्र निर्भर रहन्छ अनि जो कर्म गर्नु अनावश्यक छ भन्ने ठान्छ दुवै प्रकारका व्यक्ति मूर्ख हुन् तर जसको बुद्धिले कर्म अर्थात् पुरूषार्थमा रुचि राख्छ वास्तवमा त्यही नै प्रशंसाको पात्र हुन्छ ।
देवीदेवताको आराधनाबाट प्राप्त हुने फल नै भाग्य हो भने मनुष्य स्वयंले कर्म गरेपछि जुन फल प्राप्त हुन्छ त्यो पुरूषार्थ हो । भाग्य र पुरूषार्थका अतिरिक्त हठपूर्वक वा स्वाभाविक रुपमा जुन फल प्राप्त हुन्छ ती सबै पूर्वकर्मका फल हुन् । परमेश्वरले नै सम्पूर्ण प्राणीहरुलाई विभिन्न काममा लगाउँछन् र स्वभावको वशमा भएका सबै प्राणीहरुद्वारा परमेश्वरले नै कर्म गराउँछन् । किन्तु मनद्वारा अभीष्ट वस्तुहरुको निश्चय गरेर अनि कर्मद्वारा मनुष्य स्वयंले बुद्धिपूर्वक ती कर्मलाई प्राप्त गर्ने भएकाले व्यक्ति नै त्यसमा कारण हुन्छ ।
वास्तवमा कर्महरुको गणना गर्नै सकिन्न । त्यसैले विद्वान् व्यक्तिले पहिला बुद्धिद्वारा तिलमा तेल छ, गाईमा दूध छ र काठमा आगो छ भन्ने कुरा निश्चय गरेपछि तत् तत् वस्तुको प्राप्तिका लागि प्रयत्नशील रहनुपर्छ । योग्य व्यक्तिद्वारा गरिएका जुनसुकै कर्महरु राम्रोसँग सम्पादित र फलित पनि हुन्छन् । कर्मका फलको प्राप्तिमा कुनै कारण वा कर्ता बन्दैनथ्यो भने कुनै पनि कर्मको फल मिल्दैनथ्यो र गुरू वा शिष्य भन्ने नै हुँदैनथ्यो । कर्ता हुने भएकाले नै कार्यको सिद्धिमा पुरूषार्थको प्रशंसा गरिन्छ भने कार्यसिद्धि नहुँदा उसको निन्दा गरिन्छ । त्यसैले मनुले यस्तो सिद्धान्त बनाएका छन् कि कर्म गर्नु नै पर्छ, जुन व्यक्ति सबै कर्मलाई छाडेर बसिरहन्छ त्यस्तो व्यक्ति सदैव पराजित हुन्छ । कर्म गर्ने व्यक्तिलाई प्रायः फलप्राप्ति हुन्छ नै तर जो अल्छी र समयोचित कर्तव्यको पालना गर्दैन त्यसले कहिल्यै पनि फल प्राप्त गर्न सक्तैन ।
कर्म गर्दागर्दै पनि फल प्राप्त नभए त्यसको केही न केही दोष हुनुपर्छ भनेर अनुसन्धान गर्नुपर्छ । कर्मलाई साङ्गोपाङ्ग गर्नाले नै कर्ता निर्दोष हुन्छ । आलस्यको वशमा परेर सुतिरहने व्यक्ति दरिद्र हुन्छ भने कार्यकुशल व्यक्तिले निश्चय नै अभीष्ट फल प्राप्त गरेर ऐश्वर्यको उपभोग गर्छ । कर्मको फल प्राप्त हुन्छ कि हुँदैन भनेर सधैँ शङ्का गरिरहने व्यक्तिले फल प्राप्त गर्न सक्तैन भने संशयरहित र कर्तव्यपरायण व्यक्ति जुनसुकै कर्ममा पनि सफल हुन्छ । संशयरहित र कर्तव्यपरायण व्यक्तिहरु संसारमा अत्यन्त दुर्लभ छन् ।
किसान हलाले जमिन जोतेर त्यसमा बीउ छर्छ र चुपचाप बस्छ किनकि उसलाई सफल बनाउनका लागि वर्षा नै कारण हुन्छ । यदि वर्षाले उसलाई सघाएन भने त्यसमा किसानको कुनै दोष हुँदैन र असफलतामा किसानले आफ्नो निन्दा पनि गर्दैन । धेरै कारणहरु एकत्रित भएर नै कर्ममा सफलता प्राप्त हुन्छ । कुनै पनि कर्ममा सफलता प्राप्त गर्नका लागि पुरूषार्थबाहेक अन्य दुई कारणहरु पनि छन्– प्रारब्ध र ईश्वरकृपा । त्यसैले पुरूषार्थ गर्दागर्दै सफलता प्राप्त गर्न सकिएन भने पनि आफ्नो मनलाई कहिल्यै दुःखी बनाउनु हुँदैन । साथै मनुष्यले कहिल्यै पनि आपूmले आफ्नो अनादर गर्नु हुँदैन र आपूmले आपैmँलाई सानो पनि सम्झनु हुँदैन । जसले आपैmँले आफ्नो अनादर गर्छ त्यसले उत्तम ऐश्वर्य पनि प्राप्त गर्न सक्तैन ः
न त्वेवात्मावमन्तव्यः पुरूषेण कदाचन ।
न ह्यात्मपरिभूतस्य भूतिर्भवति शोभना ।।
(पूर्ववत्, ३।३२।५८)
द्रौपदीका विचारहरु सुनेपछि भीमसेनले पनि युधिष्ठिरसमक्ष पुरूषार्थकै प्रशंसा गर्न पुग्छन् । ‘दुर्बलाचरितां राजन् न बलस्थैर्निषेविताम्’ (पूर्ववत्, ३।३३।११) अर्थात् दुर्बल व्यक्ति नै वनमा रहेर समय बिताउँछन् । बलवान् व्यक्तिले वनवासको सेवन गर्दैनन् ।
जसले धन केवल धनका लागि ठान्दछन् र दान आदिका लागि उपयोग गर्दैनन् त्यस्ता व्यक्तिले धनको त¤वलाई जान्दैनन् । तलाउमा पानी सुक्नाले जसरी माछाको मृत्यु हुन्छ त्यसरी नै धर्म र अर्थले हीन भएर काममा मात्र रमाउने व्यक्ति कामका उपभोग्य सामग्रीहरुको अन्त भएपछि त्यस्ता व्यक्तिको पनि मृत्यु हुन्छ । त्यसैले विद्वान् व्यक्ति कहिल्यै पनि धर्म र अर्थको सम्पादनमा प्रमाद वा असावधानी गर्दैनन् । जसरी पूmल उपभोगमा आएर कृतार्थ हुन्छ र त्यसबाट अर्को फलको प्राप्ति हुँदैन अनि जसरी काठबाट भस्म बन्छ तर भस्मबाट अर्को पदार्थ बन्दैन त्यसैगरी विद्वान् व्यक्तिले एउटा कामद्वारा दोस्रो कामको सफलता खोज्दैनन् किनकि काम साधन होइन फल नै हो । त्यसैले स्ववर्णोचित धर्मको प्राप्तिका लागि सदैव पुरूषार्थ गरिरहनुपर्छ ।
धर्म, अर्थ र कामलाई पृथक् पृथक् ठानेर केवल धर्म, केवल अर्थ र केवल कामको सेवन गर्नु हुँदैन अपितु दिनको पूर्वभागमा धर्म, दिनको मध्यभागमा अर्थ र दिनको अन्तिम भागमा कामको सेवन गर्नुपर्छ । त्यसैगरी उमेरका आधारमा युवावस्थामा कामको, प्रौढावस्थामा धनको र वृद्धावस्थामा धर्मको सेवन गर्नुपर्छ ः
धर्मं पूर्वे धनं मध्ये जघन्ये काममाचरेत् ।।
(पूर्ववत्, ३।३३।४०)
कामं पूर्वे धनं मध्ये जघन्ये धर्ममाचरेत् ।।
(पूर्ववत्, ३।३३।४१)
यस लोकमा र परलोकमा पनि दान, यज्ञ, सज्जनको सम्मान, वेदको अध्ययन, सरलता आदि नै उत्तम र प्रबल धर्म मानिएका छन् तापनि स्ववर्णोचित धर्ममा प्रवृत्त हुनका लागि पुरूषार्थ देखाउनु आवश्यक छ । त्यसैले युधिष्ठिरले क्षत्रियोचित वीरता प्रदर्शन गर्नु नै श्रेयस्कर छ ।
यस संसारमा प्रत्येक व्यक्तिका आआफ्ना कर्तव्यरुपी धर्महरु हुन्छन् । पिताको धर्म, माताको धर्म, पुत्रको धर्म, गुरूको धर्म, शिष्यको धर्म आदिलाई पृथक् पृथक् धर्म मानिन्छ र तिनलाई प्राप्त गर्न पुरूषार्थ नै अपेक्षित छ । पुरूषार्थद्वारा नै धर्म प्राप्त हुन्छ, धर्मद्वारा धन प्राप्त हुन्छ भने धर्म र धनद्वारा कामको उपभोग गरेर यस अमूल्य मानवजीवनलाई सार्थक बनाउन सकिन्छ ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)

ब्रेकिङ ः
जसले धन केवल धनका लागि ठान्दछन् र दान आदिका लागि उपयोग गर्दैनन् त्यस्ता व्यक्तिले धनको त¤वलाई जान्दैनन् । तलाउमा पानी सुक्नाले जसरी माछाको मृत्यु हुन्छ त्यसरी नै धर्म र अर्थले हीन भएर काममा मात्र रमाउने व्यक्ति कामका उपभोग्य सामग्रीहरुको अन्त भएपछि त्यस्ता व्यक्तिको पनि मृत्यु हुन्छ । त्यसैले विद्वान् व्यक्ति कहिल्यै पनि धर्म र अर्थको सम्पादनमा प्रमाद वा असावधानी गर्दैनन् ।

Comments

About the author

चितवन पोष्ट