गृह » हत्यारालाई तत्काल कारबाही गर
सम्पादकीय

हत्यारालाई तत्काल कारबाही गर

देशको राजनीति दुई ध्रुवमा ध्रुवीकृत भएपछि सत्ता गठबन्धन टुट्ने र राजनीतिक तरलता उत्पन्न हुने हल्ला चलिरहेकै बेला राजधानीको नयाँ वानेश्वरनजिक शान्तिनगरमा सोमबार अपरान्ह ३ बजेतिर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरिएको छ । यो घटनाले व्यस्त राजधानीको शान्ति सुरक्षा भरपर्दो नभएको एकातिर प्रमाणित भएको छ भने अर्कोतिर व्यवसायीहरुले आफूलाई असुरक्षित भएको महसुस गरिरहेका छन् । यसअघि पनि विभिन्न आपराधिक समूहले प्रतिष्ठित व्यापारीहरुलाई टेलिफोनमार्फत पैसा माग्ने र नदिए जेसुकै पनि हुनसक्ने धम्कीहरु आउने गरेको पीडित व्यापारीहरु बताउँछन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई हतियारसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।
आफ्नो घर शान्तिनगरबाट महासंघको केन्द्रीय कार्यालयतर्फ जान लागेका ५८ वर्षीय गौचन गाडीको अगाडिको सिटमा बसेका थिए । हत्याराहरुले उनी चढेको गाडीलाई इँटाले हानेर रोक्ने वातावरण सिर्जना गरी त्यसपछि गौचनमाथि हत्याराहरुले दुईवटा गोली प्रहार गरी हत्या गरेका थिए । यसरी गौचनको हत्या अत्यन्त सुनियोजित र योजनाबद्ध ढंगले गरिएको थियो । आर्थिक प्रलोभन र लेनदेनमा कुरा नमिलेर अध्यक्ष गौचनको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । साथसाथै, यी अपराधीहरु पेसेवर सुटर भएको अनुमान पनि सम्बद्ध स्रोतले गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न उद्योगी र व्यवसायी संगठनहरुले गौचनको हत्याकाण्डको घोर निन्दा र भत्र्सना गर्दै हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
आपराधिक समूहले देशभरि बितेको १० वर्षमा करिब ५ दर्जन उद्योगी र व्यवसायीहरुको हत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । अपराधीहरुले आर्थिक मोलमोलाइ, रिसइवी र लेनदेनसम्बन्धी घटनामा संलग्न रहेको आरोपसहित हत्या गर्ने गरेको प्रहरी स्रोतको विश्लेषण रहेको छ । जहाँसम्म हत्या गरिएका गौचनको प्रसंग छ, यसमा आर्थिक मोलमोलाइले स्थान पाएको हुनसक्ने अनुमान गरिएको छ । डाँफे कन्स्ट्रक्सनका अध्यक्षसमेत रहेका गौचनले कुनै पनि आपराधिक समूहलाई आर्थिक सहयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए । नेपाल निर्माण व्यवसायी महासंघले यो घटनाबाट राजधानीको सुरक्षा व्यवस्था कति कमजोर र फितलो रहेको छ भन्ने प्रमाणित भएको भन्दै तत्काल दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । साथै, महासंघले देशभरिका निर्माण व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति दिन पनि माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले पनि उक्त घटनाको कडा निन्दा गर्दै अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । सरकारले यो गम्भीर विषयलाई हलुका रुपमा नलिई घटनाको गहिरो अनुसन्धान गर्न हामी पनि आग्रह गर्दछौँ ।

Comments

About the author

चितवन पोष्ट