गृह » राजनीतिमा महिला प्रतिनिधित्व नारा मात्र, उम्मेदवार सिफारिसमा  महिला ‘सिला’ खोज्नुपर्ने 
प्रमुख समाचार राजनीति

राजनीतिमा महिला प्रतिनिधित्व नारा मात्र, उम्मेदवार सिफारिसमा  महिला ‘सिला’ खोज्नुपर्ने 

– किशोर खनाल
भरतपुर । जबजब चुनाव नजिक आउँछ, चितवनको चुनावले राष्ट्रियस्तरमै एक खालको तरङ्ग ल्याउँछ । स्थानीय चुनावमा पनि चितवनले राष्ट्रियस्तरमै एउटा तरङ्ग पैदा गरेको थियो ।
मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको माहोल अहिल्यैदेखि चितवनमा तात्न सुरू भइसकेको छ । ‘हेभिवेट’ नेताहरुले चितवनबाट उठ्ने घोषणा गरेका र उनीहरुकै नाम सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस भएका कारणले चितवनको चुनावमा यसपटक पनि स्थानीय तहको चुनावभन्दा बढी चर्चा हुने देखिएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेसलगायतका विभिन्न पार्टीहरुले धमाधम प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेका छन् । तर, चितवनका राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गर्दा महिलालाई कम प्राथमिकता दिएको देखिन्छ । राजनीतिक दलहरुले गरेको उम्मेदवार सिफारिसमा महिला उम्मेदवारको ‘सिला’ खोज्नुपर्ने अवस्था देखिएको छ । केही पार्टीहरुले एक÷दुईजना महिलालाई समानुपातिकतर्फ राखेका छन् । प्रत्यक्षतर्फ त महिला उम्मेदवार ‘सिला’ खोज्दा पनि भेटिने अवस्था छैन ।
चितवनमा तीन निर्वाचन क्षेत्र छन् । चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको लागि नेकपा एमालले पुरानै अनुहार सुरेन्द्र पाण्डेको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ मा पनि एमालेले पुरानै अनुहार सर्वसम्मत रुपमा सिफारिस गरेको छ । क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यको लागि कृष्णभक्त पोख्रेलको नाम सर्वसम्मत सिफारिस भएको हो ।
क्षेत्र नम्बर ३ मा एमालेबाट सर्वसम्मत नाम सिफारिस भएको छैन । घनश्याम भट्टराई, शंकर थपलिया, सूर्य जमरकट्टेल, बीना तिमिल्सिना र रविकिरण पौडेलको नाम सिफारिस भएको छ । चितवनको तीनवटा क्षेत्रमा एमालेबाट उम्मेदवार सिफारिसमा एकजना मात्र महिला परेका छन् ।
एमाले चितवन महिला विभागकी उमा कार्कीले महिला उम्मेदवार सिफारिसमा कमी भएको बताइन् । उनले भनिन्, ‘स्थानीय तहको चुनावमा महिला सिट नै थियो, संख्या पनि धेरै थियो । त्यतिबेला धेरै महिला नेतृहरुले अवसर पाए । प्रतिनिधि र प्रदेशको चुनावमा त्यस्तो अवस्था छैन । सबै क्षेत्रमा अग्रज, सक्षम र सबल उम्मेदवार खोज्नुपर्दा महिला उम्मेदवार सिफारिसमा केही कमी भएको हुनसक्छ ।’
चितवन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र (क) बाट एमालेले दावादोर्जे लामा र डा कृष्ण पन्तको नाम सिफारिस गरेको छ । (ख) बाट कृष्ण खनाल सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्र १ को प्रदेशसभाअन्तर्गत पनि महिला उम्मेदवार सिफारिस भएनन् ।
नेकपा एमालेकी चितवन जिल्ला उपसचिव सूर्यवदना हमालले पितृसतात्मक सोचको कारणले गर्दा चुनावमा मात्र होइन, हरेक ठाउँमा महिलालाई अवसरबाट वञ्चित गराइएको बताइन् । उनले भनिन्, ‘चितवनका राजनीतिक दलहरुले महिला उम्मेदवार सिफारिसमा कञ्जुस्याईँ गरेकै हुन् । राष्ट्रिय नेताहरुको नजिक पुग्ने पुरुष नै उम्मेदवार सिफारिसमा परेका छन् ।’
उपसचिव हमालका अनुसार महिला नेतृहरुको पहुँच ठूला नेताहरुसम्म पुग्न नसक्नु र आर्थिक पक्ष बलियो नहुनुजस्ता विविध कारणले पनि महिला सिफारिसमा परेका छैनन् । ‘आर्थिक पक्षलाई व्यवस्थापन गर्छु भन्दा पनि महिला उम्मेदवार सिफारिसमा पर्न सकेका छैनन्’ उपसचिव हमालले भनिन्, ‘स्थानीय तहको जस्तै महिला कोटा राख्नुपर्छ भन्दा पनि सुनुवाइ हुन नसकेको स्थिति छ ।’
एमालेबाट क्षेत्र नम्बर २ को प्रदेशसभाको ‘क’ र ‘ख’ बाट क्रमशः विजय सुवेदी र तेजेन्द्र खड्का सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्र ३ को ‘क’बाट कृष्ण भुर्तेल सर्वसम्मत सिफारिस भएका छन् । ‘ख’बाट १० जनाको नाम सिफारिस भएको छ । जसमा एकजना मात्र महिला उम्मेदवारको नाम सिफारिस भएको छ ।
‘कुनै काम गराउन परे महिलालाई खुुरुखुरु गर्न लगाइन्छ, तर अवसरको ढोका भने महिलालाई खुला राखिँदैन । यो पितृसतात्मक समाजको उपज हो’ उपसचिव हमालले भनिन् ।
नेपाली कांग्रेसले पनि प्रदेश र संघको निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक गरी २७७ जनाको नाम सिफारिस गरेको छ । जसमा महिलाको संख्या न्यून छ ।
कांग्रेसबाट चितवन क्षेत्र नम्बर २ बाट शेषनाथ अधिकारीको नाम सिफारिस भएको छ । यो अनुहार पुरानै हो । उनी यसअघि पनि सोही क्षेत्रबाट सभासद् बनेका थिए । उनीसँगै प्रकाश अधिकारी र जगन्नाथ पौडेलको नाम पनि सिफारिस भएको छ । कांग्रेसबाट क्षेत्र नम्बर ३ मा रामकृष्ण घिमिरे, अञ्जनी श्रेष्ठ र उमेश श्रेष्ठको नाम सिफारिस भएको छ । घिमिरे क्षेत्र नं ३ अर्थात् साबिक ४ नम्बर क्षेत्रबाट सभासद् बनेका थिए ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गीता गुरुङले स्थानीय तहमा महिलाको उपस्थिति ज्यादै राम्रो थियो, प्रतिनिधि र प्रदेशसभाको चुनावमा त्यही आधारमा महिलाको उपस्थिति आधारहरु नबन्दा महिला उम्मेदवार सिफारिस ज्यादै कम भएको बताइन् । उनले भनिन्, ‘प्रतिनिधि र प्रदेशसभाको चुनावमा महिला कोटाहरु नराखिँदा महिलाको उपस्थिति ज्यादै कम भएको हो ।’
नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ मा ५ जना प्रत्यक्ष र ८ जना समानुपातिकको लागि सिफारिस गरेको छ । त्यस्तै क्षेत्र २ मा आठ प्रत्यक्ष १० समानुपातिक, क्षेत्र ३ मा आठ प्रत्यक्ष, १० समानुपातिक सिफारिस गरेको छ । जसमा महिलाको उपस्थिति ज्यादै न्यून छ ।
कांग्रेसले प्रदेश सभाको लागि क्षेत्र १ को ‘क’बाट प्रत्यक्षमा ७, समानुपातिकमा ११, ‘ख’बाट प्रत्यक्षमा ३१ र समानुपातिकमा २८, क्षेत्र २ को ‘क’बाट प्रत्यक्षमा ४, समानुपातिकमा २७, ‘ख’बाट प्रत्यक्षमा १३ र समानुपातिकमा २३, क्षेत्र ३ को ‘क’बाट प्रत्यक्षमा १३ समानुपातिकमा ३५ ‘ख’बाट प्रत्यक्षमा ७ र समानुपातिकमा २८ जनाको नाम सिफारिस भए पनि महिलाको उपस्थिति कमजोर रहेको छ ।
‘अग्रजहरुको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हुनाले पनि महिला उम्मेदवार सिफारिस कम भएको हो’ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गीता गुरुङले भनिन्, ‘प्रत्यक्षमा महिला लड्दा धेरै समस्या आउन सक्छ, आर्थिकका कुराहरु जोडिएका हुन्छन्, समय व्यवस्थापनको कुरा हुन्छ । यी विविध पक्षले उम्मेदवार सिफारिसमा महिला कमी भएको हो । उनले नेतृत्व पंक्तिले महिलालाई कम प्राथमिकता दिएको आरोप पनि लगाइन् ।

Comments

About the author

चितवन पोष्ट