गृह » जिससमा एमाले र कांग्रेस भिड्ने 
प्रमुख समाचार

जिससमा एमाले र कांग्रेस भिड्ने 

–दिपेन्द्र अधिकारी
भरतपुर । जिल्ला समन्वय समिति (जिसस) चितवनको नेतृत्वको लागि सोमबार मनोनयन दर्ता भएको छ । स्थानीय निर्वाचनमा तीन दलले विजयी हासिल गरे पनि जिससमा भने कांग्रेस र एमालेले मात्रै उम्मेदवारी दिएका छन् । माओवादीले कुनै पनि पदमा उम्मेदवारी दिएको छैन । जिसस चितवनको नेतृत्वको लागि असोज २५ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको छ ।
एमालेको तर्फबाट जिसस प्रमुखमा कृष्णकुमार डल्लाकोटी, उपप्रमुखमा मुनाकुमारी श्रेष्ठको उम्मेदवारी परेको छ । जिससको महिला सदस्यमा खिलकुमारी सिंखडा, लीलादेवी पोखरेल, सीता पुन, दलित र अल्पसंख्यकमा गुनु विक, खुल्ला सदस्यमा कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरुङ र चूडामणि महतोको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।
नेपाली कांग्रेसको तर्फबाट जिससको प्रमुखमा भरत अधिकारी र उपप्रमुखमा टीका दाहालको उम्मेदवारी परेको छ । महिला सदस्यमा भरथी थरुनी, रमा भट्टराई, शान्ति परियार, दलित र अल्पसंख्यकमा सावित्री विक, खुल्ला सदस्यमा प्रेमप्रसाद शर्मा, रवीन्द्र गौतम र हरेराम तामाङको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत घिमिरेले बताए ।
एमालेको स्पष्ट बहुमत रहेकाले आफूहरुले यस विषयमा खासै चासो नदिएको माओवादी जिल्ला अध्यक्ष ईश्वरी भट्टराईले बताए । ९ मत रहेको नेकपा एमालेको जीत निश्चितजस्तै बनेको छ । जिससमा कुल १४ मतमध्ये कांग्रेसको ३ र माओवादी (केन्द्र) को २ मत रहेको छ । यसमा जिल्लाका सातवटा स्थानीय तहका प्रमुख र उप्रमुखले मतदान गर्नेछन् ।
आज मंगलबार प्रकाशित हुने अन्तिम नामावलीसँगै चुनाव चिन्ह प्रदान गरिने भएको छ । कुल ९ पदमा प्रमुख, उपप्रमुख, ३ महिला, ३ खुला र एक दलित तथा अल्पसंख्यक रहने छन् ।
रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिकामा प्रमुख र उप्रमुख तथा माडी नगरपालिकामा उपप्रमुख पदमा एमाले उम्मेदवार विजयी भएका छन् । कांगे्रस हालसम्म ३ ठाउँमा विजयी भएको छ । इच्छाकामना गाउँपालिका प्रमुख र उपप्रमुख तथा भरतपुर महानगरको उपप्रमुख पदमा कांग्रेस विजयी भएको छ । माओवादी केन्द्रले माडी र भरतपुरमा प्रमुख पद जितेको छ ।

Comments

About the author

चितवन पोष्ट