गृह » किन पढ्ने महको म ?
विचार साहित्य

किन पढ्ने महको म ?

धनराज गिरी
हज्जार वर्षमा एउटा जंगलमा एउटा खास वृक्ष उम्रिन्छ । कतै पढेको थिएँ । खास को आफ्नै महत्व छ । एउटा सूर्यको एउटा जूनको कति महत्व छ, भनिरहनु पर्दैन । हाम्रोजस्तो भद्रगोल नेपाली समाजमा समयलाई नै छुट्टै बाटोमा डो¥याउन सक्ने समय नायकको खाँचो छ । राजनीति नामको बस्तीमा अहिले कलाविहीन जोकरहरु मात्रै छन् । जोकर पनि मूल्यवान हुन्छ यदि सही तरिकाले कला देखाउन सके । हाम्रो नेपाली कला क्षेत्रको इतिहासमा सबैको हृदयमा बस्न सफल दुई हाँस्य कलाकार अर्थात् जोकरहरु हुन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । मह सुन्दा नै गुलियो । अर्का जोकर नेपाली अभिताभ बच्चन, राजाराम पौडेलले न्वारन गरे मह त्यही महको मह किताब पढेर आज म केही बोल्न कस्सिएको छु । हरिवंश आचार्यसित जोडिएका तीन पुस्तक बजारमा आए । थाहा थियो रुक्मागत कटवालको छत्रमान गुरुङको जीवनी आएझैँ यी जोडीको जीवन पनि बजारमा आउने छ आयो । वास्तवमा यी दुवै कलाकार हुन्, साहित्यकार होइनन् । त्यो उनीहरुले पनि स्वीकारेका छन् । उनीहरुको ख्यातिलाई नगरिकरण गर्ने काम गरियो भन्ने आरोप बोकेर भए पनि वात्सायनका कुदलीपक कान्छा आजित बरालले जोखिम मोले । यिनी मोहबते हिन्दी चलचित्रका शाहरुख खान जस्तै छन् मुस्किलोका सामना करने मे मुझे मजा आता है सायद उनका मनको आवाज ।
पसेँ म महको म भित्र । जीतपुरफेदी, रामलाल श्रेष्ठ प्रधानपञ्च, जेठो पुत्र, आमा ६ महिनामा परमधाम । बाल्यकाल सारै कष्टप्रद । कडा बाउ, हजुरबाको स्नेह । सौतेनी आमाहरु पनि परिवर्तनशील । पढाइ चौपच्च । संगीतमा लगवान । यिनले मन दाइले स्कुल परिवर्तन गरेको र पढ्न गतिलोसित नपाएको देख्दा यी बूढा एसएलसी मा पक्कै पनि गुल्टामाइट भएको हुनुपर्दछ भन्ने मेरो अनुमान । ध्यान जति कलामा, अनि ? तिनपटक गुल्टिए । हो, मान्छे यो धरतीमा सिर्फ एउटा काम गर्न आउँछ, यिनी कलाका लागि जन्मिएका हुन्, त्यही बने । फेरि पढाइमा असफल हुने जति सबै मह बन्छन् भनेर सामान्यीकरण गरियो भने त्यो पनि बुद्धिमानी नहुन सक्छ । ८ कक्षासम्म पनि पढ्न नपाएकोमेरो चेलो यतिखेर सफल पर्यटन व्यवसायी छ यसको अर्थ सबै केशव पाण्डेहरु त्यही हुन्छन् भन्ने नियम बन्ने होइन । जग्गाजमिन प्रशस्त भए पनि बा प्रधानपञ्च समाजसेवी भएका कारणले घर चलाउन धौ धौ थियो भन्ने कुरा १४ वर्षको किशोर मदन मास्टर हुन बाध्य भएकोबाटै स्पष्ट हुन्छ । अनेक हण्डर खाएका छन् मदन दाजीले । संचयकोषको जागिर र छुकछुके स्वभाव र कडा प्रशासन अनि यशोदा नानीसितको इलु इलु । केही स्वभाव हाम्रो मिल्ने रहेछ हगी मदन दाइसित टेलिफोनमा वार्ता हुँदा उहाँको प्रतिक्रिया । दिन ढल जाये हाये ………। यशोदा सुवेदीको घरको चक्कर लगाउँदै दाजीले गाउने गाइड फिलिमको गीत । बढो साहसका साथ त्यो कालखण्डमा लभ म्यारिज भयो । चार वर्षपछि मात्र ससुराली जान पाएको कुरा पढ्दा उहाँले भोगको जीवन सम्झिएर मन कस्तो कस्तो भयो । पारिवारिक जीवनमा त्यति सुखद नभएको कुरा स्पष्ट छ । खानी राम्रो राम्रो मात्रै लेख्छन्, पञ्चायत बेठीक आफ्नो बाउ प्रधान पंच ठीक, यस्तो पनि हुन्छ ? त्यही भएर मलाई जीवनी पढ्न पटक्क्ै मन लाग्दैन एकजना भित्र मसित यसरी बटारिए । के जीवनी लेख्ने मानिसले आफ्ना सारा बदमासी लेख्न सक्छ ? आफूलाई दुःख आफन्त र मित्रहरुको पूरै धज्जी उडाउन सक्छ ? मेरो विचारमा सरल सत्य र कटु सत्य सम्म लेख्न मिल्छ, तर घातक सत्य लेख्न हुन्न सकिन्न । हरेक जीवनको आफ्नै गोप्यशाखा हुन्छ । सप्पै लेख्ने हो भने कपडा किन लगाउने ? लेख्नु भनेको आफ्नै धज्जी उडाउनु होइन । इज्जत भनेको ढाकछोप पनि हो । सार्वजनिक जीवन र निजी जीवन कदापि एउटै होइन । यसरी सफल व्यक्तिहरुको जीवनी प्रकाशित गर्नाले समाजमा उज्यालोको प्रशारण हुन्छ । निसन्देह मदनकृष्ण श्रेष्ठको सामाजिक लगानी शव्दातीत छ । यसो भनेर मन दाजीलाई देवत्वकरण गर्न खोजिएको होइन । उहाँ पनि सामान्य मान्छे नै हो । तर लगनशील । माया गर्नुभयो मन लगाएर पाउनुभयो यशोदा भाउजूलाई हरिव्रश र मदन दाइको प्रेम देख्दा मन प्रफुल्ल भयो । याराना को हकमा म पनि गरिव होइन । काली नाम लिने ? एउटा उदाहरण मात्र भए पो । हरिवंश हिमाल यो खण्ड पढ्दा म धेरै भावुक भएँ । हरि केही गरी तिमी अगाडि स्थायी भिसा लगाएर आमा बा भेट्न गएमा म त्यो हिमाल, वा त्यो पहाड वा त्यो थुम्कोको नाम हरिवंश राख्ने छु र बिहान बिहान उठेर दर्शन गर्नेछु । म अगाडि मरेँ भने तिमी के गर्छौ ? यहीँनेर भक्कानिन्छ मन । दाइ तपाईं अगाडि जानुभयो भने म गोरखापत्रमा गएर आफ्नो फोटो दिन्छु र हरिवंश म¥यो भनेर समवेदना छापन लगाउँछु । कस्तो नाता हे बिधाता ।
भान्साको अन्न नभएर अर्काको घरमा गएर छाक टार्न विवश मदन दाजीको जीवनमा मह बरदान बनेको छ । हाँस्यव्यंग्यका अति सफल जोडी हुन् यी । हामीले बाहिरबाट सफल देखिने जीवन र त्यो पात्रले भित्रभित्र भोगेको जीवन उही नहुन सक्छ । मैले आफ्नै जीवनमा धनपतिहरु धुरुधुरु रोएको देखेको छु । सम्पूर्ण आनन्द दुर्लभ । हरिवंशले त मीरा गुमाए, रोए, रमिला आइन्, धानिए । यता मदन दाजी आफै पनि रोगी भाउजूलाई क्यान्सर । तू इतना जो मुस्कुरारहे हो,क्या गम है जिसको छुपा रहे हो, मेरै छोरी अनिता गिरीले मेरो पारा देखेर मेरै लागि गाइन् यो शेर । देखिने जीवन र भोगिने जीवन अनुरुप हुन्न नै । हिमाल टाढाबाट हेर्दा मात्रै सुन्दर हो । प्रकृति मानिसका लागि वरदान मात्र होइन, भूकम्प, सुनामी, बाढी, पैह्रो, अनेक रोग यही प्रकृतिको गर्भमा लुकेर रहेको छ । जीवन नामको यात्रामा दुर्घटना कति कति ? यतिखेर मदन दाजीको जीवनमा पनि सुखभन्दा दुःख धेरै भएको कुरा कितबले स्पष्ट पारेको छ । डा. रवीन्द्र, समीरानित र भाइ अमर न्यौपानेसित मैले यो पक्षमा पनि कुरा गरेँ । समाजमा चेतना जागृत गराउन महा संथाले खेलेको भूमिका स्तुत्य छ । उनीहरु दुवै यतिखेर समाजसेवी कलाकार हुन् । मदन दाजीलाई सफलताको शिखरसम्म पु¥याउन धेरै धेरै वरदानी हातहरुले सहयोग गरेका छन् । निरदार रामकृष्ण दाइको स्नेह दैवी । उनका कुराहरु धेरै घतलाग्दा । छोरा यमनको बाउ आमाप्रतिको सम्मान र माया स्तूत्य । मैले पनि बाआमालाई कहिल्यै छोडिन । म बारम्बार जे भन्दथेँ भन्छु त्यही कुरा मदन दाइले पनि लेख्नुभयो, बाउआमा नहुँदा छोराछोरी टुहुरा हुन्छन् भने छोराछोरी नहुँदा बाउआमा पनि टुहुरा हुन्छन् । मेरी सीता र म यतिखेर त्यही मनोदशाबाट गुज्रिरहेका छौँ । केही गरी थला बसेमा तातो पानी तताएर खान दिने मान्छे पनि छैनन् । छोरी सराना पनि आमाको सेवामा अमेरिकादेखि उपस्थित । अब मह जोडीलाई लागेको राजनीतिक चार्जका सम्बन्धमा । मलाई जस्तै यी जोडीलाई पनि अनेक आरोप लगाइरहेछ । कहिले कम्युनिष्ट कहिले कांग्रेस । दाइ लेख्नुहुन्छ, हामी जहिले पनि प्रतिपक्ष । जहिले पनि आम जनताका पक्षमा । चेतना जगाउने काम हाम्रो सरकार दुनियाँलाई रुवाउँछ, राजनीति जहिले पनि भ्रष्ट, हामी हँसाउने काम गर्छौं, भ्रष्टाचारीलाई ढाडमा हिर्काउँछौँ ।
हामी पाठकले किन पढ्ने त यो महको म ? केही उपलब्धि ? केही उज्यालो ? एउटा व्यक्तिको जीवनी समाजका लागि कति उपयोगी ? यी प्रश्नहरु मेरो दिमागमा पनि घुमेकै हुन् । मह जोडी अब व्यक्ति होइनन्, संस्था हुन् । शीतल चौतारी हुन्, अचम्मका औतारी हुन् । यिनीहरुका बारेमा पढ्नुपर्छ । धेरै उज्यालो पाउन सक्छ समाजले । प्रेरणा बन्न सक्दछ । के थाहा, मौका नपाएका अनन्त महजोडी कुनाकाप्चामा लुकेर पो बसेका छन् कि ? बस्तीभित्र लुकेका हस्तीहरु अनन्त । हाम्रा विनोदीजी र रामबाबु घिमिरेहरु नेपाली साहित्यका गहना हुन्, खोई खोजी ? हरेक विद्यालयमा, हरेक क्याम्पसमा पुग्नुपर्दछ महको मह । नेपाली समाज कृतज्ञ बन्न जान्नुपर्दछ । साहित्य, कला र संगीतको सम्मान भएमा मानवताकै सम्मान हुन्छ । भौतिकताको उन्नतिले मात्र समाजको बहुआयामिक उन्नति हुँदैन । जीवनमा हरेक रंगको महत्व हुन्छ । मदन दाइलाई बधाइ ! यति राम्रो किताब पढ्ने अवसर जुराइदिएकोमा फाइन्ट प्रिन्टलाई धन्यवाद !

Comments

About the author

चितवन पोष्ट