गृह » जिसस गठनमा एमालेको बहुमत, कांग्रेस र माओवादीको गठबन्धन नरहने
प्रमुख समाचार राजनीति

जिसस गठनमा एमालेको बहुमत, कांग्रेस र माओवादीको गठबन्धन नरहने

–दिपेन्द्र अधिकारी
भरतपुर । जिल्ला समन्वय समिति गठनको लागि आज सोमबार उम्मेदवार मनोनयन हुने भएको छ । असोज २५ गते हुने चुनावका लागि मनोनयन हुन लागेको हो । कुल नौ पदमा प्रमुख, उपप्रमुख, तीन महिला, तीन खुला र एक दलित तथा अल्पसंख्यक रहने छन् । जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका, एक गाउँपालिकामा जनप्रतिनिधि चुनिएसँगै जिल्ला समन्वय समिति गठनको बाटो खुलेको हो ।
यसअघि भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा क्रमशः माओवादी र कांग्रेसका उम्मेदवार गठबन्धनबाट विजयी भएका थिए । नगर कार्यपालिकामा भएको चुनावमा पनि यी दुई पार्टीले बहुमतसहित तालमेल गरेका थिए । तर, अल्पमतमा रहेको एमालेले मत चोर्न सफल भई महानगरको कार्यपालिकामा बहुमत पु¥याएको थियो ।
मेयर र उपमेयर तथा कार्यपालिकामा समेत तालमेल गरेका कांग्रेस र माओवादीबीच भने जिल्ला सभा गठनमा तालमेलको कुनै गुन्जायस छैन । एमालेको स्पष्ट बहुमत हुँदा तालमेलको समेत कुनै अर्थ देखिँदैन ।
चितवनको भरतपुर महानगरपालिकाको नतिजाअघि नै एमालेले बहुमत ल्याइसकेको थियो । चितवनका ७ तहका १४ पदमा एमाले एक्लैले ९ पद हासिल गरेको छ । जिल्ला समन्वय समितिको गठनका लागि एमाले एक्लैको बहुमत पुगेको छ ।
रत्ननगर, कालिका, खैरहनी, राप्तीमा प्रमुख र उप्रमुख तथा माडी नगरपालिकामा उपप्रमुख पदमा एमाले उम्मेदवार विजयी भएका छन् । कांगे्रस हालसम्म तीन ठाउँमा विजयी भएको छ । इच्छाकामना गाउँपालिका प्रमुख र उपप्रमुख तथा भरतपुर महानगरको उपप्रमुख पदमा कांग्रेस विजयी भएको छ । माओवादी केन्द्रले माडी र भरतपुरमा प्रमुख पद जितेको छ ।
एमालेले तयार पा¥यो उम्मेदवार
जिल्ला समन्वय समिति चितवनको प्रमुख पदमा नेकपा एमालेले कृष्णकुमार डल्लाकोटीलाई अघि सार्ने भएको छ । त्यस्तै उपप्रमुख पदमा मुनाकुमारी श्रेष्ठ रहने एमाले जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले जानकारी दिए । डल्लाकोटी खैरहनी–१ र मुना भरतपुर–५ बाट विजयी वडा सदस्य हुन् ।
अन्य सदस्यहरुमा सीता पुन (भरतपुर), खिला सिंखडा (कालिका), लीलादेवी पोखरेल (रत्ननगर), कृष्णराज गुरुङ (इच्छाकामना), गुनु विक (राप्ती), चूडामणि चौधरी (माडी) र कृष्ण अधिकारी (भरतपुर) क्षेत्रबाट रहने उपाध्यक्ष खड्काले जानकारी दिए ।
कांग्रेसले आजै टुङ्ग्याउने
नेपाली कांगे्रस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार नेपाली कांग्रेसले जिल्ला सभाको प्रमुख पदमा भरत अधिकारीलाई अघि सार्ने भएको छ । अन्य पदको विषयमा भने छलफल भइरहेकाले सोमबार बिहानमात्रै टुंगो लाग्ने उनले बताए ।
माओवादी जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जिल्ला सभामा एमालेको स्पष्ट बहुमत भएकाले पनि आफूहरुले यस विषयमा खासै चासो नदिएको बताए । साथै उनले कांग्रेसले पनि वास्ता नगरेको बताए ।
स्थानीय तह निर्वाचन ऐन–०७३ अनुसार निर्वाचित प्रमुख, उपप्रमुखहरु सदस्य रहेको जिल्ला सभा बन्दछ । सोही सभाले जिल्ला समन्वय समितिमा रहनेहरुलाई निर्वाचित गर्नेछ ।
जिल्ला समन्वय समितिमा उम्मेदवार बन्न भने गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसमेतले पाउनेछन् ।
जिल्ला समन्वय समिति कार्यकारी हुनेछ भने जिल्ला सभा वर्षको एकपटक बस्ने ऐनमा व्यवस्था छ । जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख र बढीमा ९ सदस्य निर्वाचित हुनेछन् । समितिमा तीनजना महिला सदस्य अनिवार्य हुनुपर्नेछ भने दलित र अल्पसंख्यकबाट पनि सदस्य निर्वाचित गर्नुपर्नेछ ।

Comments

About the author

चितवन पोष्ट