गृह » भरतपुर अस्पतालमा बिरामीको चाप, एकैदिन १५ सयले पाए उपचार सेवा
प्रमुख समाचार स्वास्थ्य

भरतपुर अस्पतालमा बिरामीको चाप, एकैदिन १५ सयले पाए उपचार सेवा

–तुलमान गुरूङ
भरतपुर । भरतपुर अस्पतालमा आइतबार यस वर्षकै सबैभन्दा धेरै बिरामीले ओपीडी सेवा लिएका छन् । आइतबारमात्रै एक हजार पाँच सयभन्दा बढी बिरामीले ओपीडी सेवा लिएको अस्पतालले जनाएको छ ।
दसैँपछिको पहिलो आइतबार भएकोले पनि बिरामीको चाप अत्यधिक बढेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रूद्रप्रसाद मरासिनीले जानकारी दिए । गत असोज ५ देखि १३ गतेसम्म भएको चिकित्सकहरूको आन्दोलनका कारण पनि यो आइतबार ओपीडी सेवा लिनेहरूको संख्या वृद्धि भएको उनले बताए ।
यो हप्ताभर बिरामीको चाप धेरै हुने संकेत देखिए पनि अर्को हप्तादेखि अन्य दिनजस्तै सामान्यतर्फ फर्किन सक्ने अस्पतालका मेसु डा मरासिनीले बताए । तर, बिरामीको चाप बढे पनि सबै सामान्य खालको उपचारका लागि अस्पताल आएको उनले बताए ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार सामान्य अवस्थामा बढीमा दैनिक एक हजार जनाको हाराहारीमा ओपीडी सेवा लिने हुन्थे भने आइतबार भने अहिलेसम्मकै सबैभन्दा बढी बिरामी आएको उनको भनाइ छ ।
‘हुन त हप्ताको अन्य बारभन्दा आइतबार त्यसै पनि बढी भीड लाग्ने गर्छ,’ उनले भने, ‘तर, यो हप्ताको आइतबार भने दसँै र दसैँअघि चिकित्सकहरूको आन्दोलनले गर्दा अहिलेसम्मकै सबैभन्दा बढी बिरामी आएका हुन् ।’
मानिसहरूमा फूलपातीको दिनदेखि पूर्णिमाको दिनसम्म बिदा हुन्छ भन्ने भ्रम भएकोले पनि आइतबार बिरामीको संख्या ह्वात्तै बढेको सूचना अधिकारी पौडेलको भनाइ छ । अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले भने सरकारी अस्पतालको सेवाप्रति विश्वस्त भएकोले बिरामीको चाप बढेको दाबी गरे । ‘अस्पतालको सेवालाई जनतामैत्री बनाइएकोले पनि अस्पतालमा बिरामीको संख्यामा अस्वभाविक तरिकाले वृद्धि भएको हो,’ अध्यक्ष राजभण्डारीले भने, ‘अब उपचारको लागि निजी अस्पताल नै धाउनुपर्ने समस्या बिस्तारै हट्दै गएकोले सरकारी अस्पतालप्रति सेवा लिनेको संख्या बढेको मैले महसुस गरेको छु ।’
सरकारीमात्रै नभई जिल्लाका निजी ठूला अस्पतालहरूमा पनि बिरामीको चाप बढेको छ । तर, अस्पतालले बिरामीहरूको लागि सेवासुविधा बढाउँदै लगे पनि जनताले भने अझै पनि सजिलै सेवासुविधा पाउन नसकेको गुनासो गरेका छन् ।
जनताको अस्पताल भनेर चिनिए पनि सरकारी अस्पतालमा बाहिर हल्ला भएजस्तो सेवासुविधा समयमै पाउन नसकेको बिरामीहरूको भनाइ छ । ‘ओपीडी टिकट त समयमै दिन नसक्ने अस्पतालले अरू सेवासुविधा समयमै दिन्छ भनेर कसरी विश्वास गर्नु ?’ भरतपुर–११ का रमेश भण्डारीले भने, ‘बाहिर प्रचार गरेरमात्रै हुँदैन, सेवाग्राहीले समयमै उपचार सेवा पाउनुप¥यो । बल्ल जनतामैत्री अस्पतालको रूपमा विकास गर्न सकिन्छ ।’
समयमै टिकट नपाउँदा बिरामीहरूले चर्को घाममा लाइन बसेर टिकट लिनुपर्ने बाध्यता छ । अहिले भरतपुर अस्पतालको ओपीडी टिकट लिनका लागि तीन काउन्टर सञ्चालनमा रहेका छन् । बिरामीको चाप बढ्दा ओपीडी काउन्टरको संख्या थप्न सेवाग्राहीले माग गरेका छन् । तर, अस्पताल प्रशासनले भने चिकित्सकहरूको आन्दोलन र दसैँ बिदाले गर्दा आइतबार बिरामीको संख्या अत्यधिक भए पनि अन्य समयमा यत्तिको बिरामी नआएको बताएको छ । सेवाग्राहीको मागअनुसार अस्पतालले स्तरोन्नति गर्दै लैजाने अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए ।

Comments

About the author

चितवन पोष्ट