गृह » मेयर कपमा सुपर सिक्स सुरू हुँदै
खेलकुद

मेयर कपमा सुपर सिक्स सुरू हुँदै

भरतपुर । भरतपुरमा पहिलोपटक भइरहेको सीएमसी मेयर कप–२०७४ अन्तर वडा क्रिकेट प्रतियोगितामा सुपर सिक्सका खेलहरु सञ्चालन गरिने भएको छ । त्यसका लागि आइतबार समूह विभाजन गरिएको छ ।
चितवन मेडिकल कलेज(सीएमसी) टाइटल स्पोन्सर रहेको प्रतियोगितामा विजेता र उपविजेतालाई दिइने ट्रफीसमेत आइतबार सार्वजनिक गरिएको छ । सीएमसीमा आयोजित कार्यक्रममा कलेजका एशोसिएट प्रोफेसर ममता शर्मा न्यौपानेले ट्रफी सार्वजनिक गरिन् । भरतपुर क्रिकेट क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा अन्तिम ६ टिमको भिडन्त ‘सुपर सिक्स’ असोज २३ गते सोमबारबाट खेलाइने आयोजक क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।
सुपर सिक्स चरणमा पुगेका टोलीहरुको गोला प्रथाबाट समूह विभाजन गरिएको छ । प्रतियोगिताको लिग चरण पार गरेका वडा नम्बर १० ‘ए’, २५ र ४ समूह ‘ए’ मा परेका छन् भने वडा न. १० ‘बि’, ७ ‘बि’ र २६ समूह ‘बि’ मा परेका छन् । यिनीहरुबाट पहिलो हुनेले ट्रफीसहित ५० हजार र दोस्रो हुनेले २५ हजार नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगिता यही असोज असोज १ गते भरतपुरस्थित वीरेन्द्र क्याम्पसको नौ बिघा खेल मैदानमा सुरू भएको थियो । दसैँमा विश्राम दिइएको खेलमा अहिले बाँकी चरण गर्न लागिएको हो । प्रतियोगितामा १८ वटा वडा टिम र सीएमसी को एक टिम गरी १९ टिमको सहभागिता थियो ।
ट्रफी सार्वजनिक कार्यक्रममा चितवनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पटक–पटक सहभागी खेलाडीद्वय दिपेश श्रेष्ठ र आकाश थापालाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि न्यौपाने र भरतपुर क्रिकेट क्लबका अध्यक्ष अधिकारीले सम्मान गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले सीएमसी जहिल्यै पनि खेल विकासका लागि लगानी गर्न तयार रहेको बताइन् । ‘हामी खेलमा रुचि राख्छौं’, उनले भनिन्, ‘अझै यस्तै प्रतियोगितामा सहकार्य गर्न तयार छौं ।’
त्यस्तै शिक्षाविद् रमाकान्त सापकोटाले खेलकुदले पढाइ बिग्रिन्छ भनेर बन्देज लगाउने जमाना गएको भन्दै दुवै कुरा सँगसँगै अघि बढाउन सकिने बताए । कार्यक्रममा वडा नम्बर २५ का अध्यक्ष विजय भुजेल, त्रिवि क्रिकेट खेलाडी संघका तर्फबाट प्रशान्त अधिकारी, क्लबका सल्लाहकार मित्रनिधि तिवारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम क्लबका अध्यक्ष अनिल अधिकारीको अध्यक्षतामा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट