गृह » बिचल्लीमा बितेको दसैँ
सम्पादकीय

बिचल्लीमा बितेको दसैँ

नेपालको राजनीतिक आकासमा प्रमुख वाम शक्तिहरुबीचको एकता प्रयास र लोकतान्त्रिक शक्तिहरुबीचको चुनावी तालमेलको खबर दसैँ नसकिँदै तरंगित भएको थियो । सञ्चारमाध्यमहरुमा यो प्रसंगले अत्यधिक स्थान पायो । तर, महाभूकम्प गएको झन्डै साढे दुई वर्ष बित्न लाग्दा पनि पीडित साढे सात लाखमध्ये ५० हजारजतिले मात्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक अनुदान र प्राविधिक सहयोगमा निजी घर बनाउने सौभाग्य पाएका छन् । उनीहरुको दसैँ टहरा र त्रिपालमुनि बित्यो भने तिहारलगायतका चाडपर्वहरु पनि वर्तमानजस्तै भएर बित्ने अनुमान सहजै गर्न सकिन्छ । प्राविधिक झमेला र प्रशासनिक तालमेल मिलाउन नसकेको कारण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पीडित परिवारहरुले पहिलो किस्ताबाहेकको थप अनुदान रकम अझैसम्म पाउन नसक्नु विडम्बनाको विषय हो ।
भूकम्पपीडित सर्वसाधारण जनता यसरी राष्ट्रिय चाडपर्वहरुमा पनि आफ्नो घरमा बस्न नपाउँदा प्राधिकरणप्रति व्यापक जनगुनासो व्यक्त भइरहेको छ । अब तिहारपछि बिस्तारै चिसो मौसम सुरू हुँदैछ र उनीहरुले यस वर्षको हिउँद पनि त्रिपालमुनि नै बिताउनु पर्ने स्थिति उत्पन्न भएको छ । कतिपयले घर बनाउन प्राप्त गरेको पहिलो किस्ताको रकम सही काममा प्रयोग नगरी दुरूपयोग गरिएको पनि पाइन्छ । पुरानै घर मर्मत गरेर कामचलाउ अवस्थामा पीडितहरु बसेको कारण पनि प्रक्रिया पूरा नभएको भन्दै थप अनुदान रकम निकासा हुन सकेको छैन । सेवाग्राहीहरुलाई अनुदान रकम पूर्ण रुपमा प्राप्त गर्न ६ तहको झन्झटिलो प्रक्रिया पनि बाधक बनेको पाइएको छ ।
भूकम्प पुनर्निर्माण प्राधिकरणका प्रमुख डा. गोविन्द पोख्ररेल एक सत्तारुढ दलका कार्यकर्ता हुन् भन्ने कुरा उनलाई प्युठानबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्न नाम सिफारिस गरी केन्द्रमा पठाएको घटनाले पनि पुष्टि गर्दछ । यदि यथार्थ यस्तै हो भने उनले प्राधिकरण प्रमुखको पदबाट राजीनामा दिनु राम्रो हुनेछ । अन्यथा, वास्तविक भूकम्पपीडित परिवारहरुले दोस्रो किस्ताको रकम पाउन नसक्नुका कारणहरु केलाएर अनुदान प्रक्रियालाई सहज र लचिलो बनाउँदै थप अनुदान रकम वितरण गर्नेतर्फ उनले विशेष पहल गर्नु जरूरी भइसकेको छ । भूकम्प पुनर्निर्माण प्राधिकरणसँग रकमको कुनै अभाव छैन । जिल्ला–जिल्लामा खटिएर जाने प्राविधिक जनशक्तिको भने कमी भएको हुन सक्छ । हाल देखिएका सबै समस्याहरुलाई भूकम्पपीडितहरुको पक्षमा समाधान हुने गरी थप रकम निकासा दिन र प्राविधिक अनुगमन पनि एकैसाथ गर्न हामी प्राधिकरणका प्रमुखसँग आग्रह गर्दछौँ ।

Comments

About the author

चितवन पोष्ट