गृह » बाम एकताको असर पर्दैन
प्रमुख समाचार राजनीति

बाम एकताको असर पर्दैन

नारायणगढ । चितवनका कांग्रेस नेता तथा शुभेच्छुकहरुले पार्टी एक ढिक्का भए बाम एकताको कुनै असर नपर्ने धारणा राखेका छन् ।
प्रजातान्त्रिक विचार समाज चितवनको आयोजनामा शनिबार नारायणगढमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले बाम एकताले कांग्रेसको चुनावी परिणाममा कुनै असर नपर्ने दाबी गरेका हुन् ।
‘कांग्रेस एक ढिक्का छ । एक भएको कांग्रेसलाई कसैले हल्लाउन सक्दैन’, कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भने, ‘पार्टी केन्द्रीय समितिले छिटोभन्दा छिटो उम्मेदवारको टुंगो लगाउनुपर्छ । हामी उनीहरुलाई चुनाव जिताउन तयार छौ ।’
आफ्ना उम्मेदवारहरुलाई सर्वाधिक मतले चुनाव जिताउनका लागि आवश्यक चुनावी रणनीतिसमेत आफूहरुले अवलम्बन गरिसकेको उनले बताए ।
‘अहिले हामी मेरो र तेरो उम्मेदवार भन्ने छैनौं । पपुलर उमेदवारलाई उम्मेदवार बनाएर चुनाव जित्न लाग्ने छौ’, सभापति श्रेष्ठले भने । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव राजिव न्यौपानेले हारको मनसायले चुनावमा बाम एकता भएको बताए । ‘
‘कम्युनिष्टहरु अहिले नै हारको मनस्थितिमा छन्’, उनले भने, ‘चितवनवासी जनता जहिले पनि लोकतन्त्रको रक्षाका लागि लडिरहेका छन् । अहिले पनि लोकतन्त्रको रक्षाको लडाइमा उनीहरुले कांग्रेसलाई साथ दिने छन् ।’
सो कार्यक्रममा प्राध्यापक दयाराम पौडेलले चुनावका लागि कांग्रेसको शत्रु कांग्रेस नै भएकाले गुट उपगुटको राजनीति अन्त गर्नुपर्ने सुझाव दिएका थिए ।
‘कांग्रेसलाई कसैले हराउन सक्दैन आफू भित्रको आन्तरिक ब्यवस्थापन गरे मात्रै पुग्छ’, उनले भने । प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष डा कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सृजना अर्याल, कांग्रेस नेता शालिग्राम पौडेल, बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष डा एकनारायण पौडेल, प्राध्यापक अनन्त ढुंगानालगायतले बोलेका थिए ।

Comments

About the author

चितवन पोष्ट