गृह » ‘भारतपरस्त कांग्रेस हराउन बाम गठबन्धन’
प्रमुख समाचार राजनीति

‘भारतपरस्त कांग्रेस हराउन बाम गठबन्धन’

गैंडाकोट । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले एमाले, माओवादी केन्द्रलगायतका पार्टी सम्मिलित चुनावी मोर्चा बन्नु सकारात्मक भएको बताएका छन् ।
अर्धभूमिगत अवस्थामा रहेका पुराना बामपन्थी नेता सिंहले त्यो गठबन्धनले भारतीय स्वार्थमा काम गर्दै आएको कांग्रेसलाई आउँदो चुनावमा परास्त गर्न मद्धत मिल्ने दाबी गरे ।
पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन नवलपरासी आएका नेता सिंहले गैंडाकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफ्नो पार्टी पनि बाम गठबन्धनकै पक्षमा रहेको बताए । तर, यो गठबन्धनले कम्युनिष्ट पार्टी निर्माणमा भने योगदान नदिने धारणा राखे । एमाले र माओवादीहरु कम्युनिष्ट नीति सिद्धान्तमा नरहेको सिंहको भनाइ थियो ।
‘गठबन्धनको सबभन्दा राम्रो र सकारात्मक कुरा कांग्रेससँगको सहकार्यबाट माओवादी पार्टी अलग भएको छ’ केसीले भने । आफूहरु पनि बामपन्थी गठबन्धनको पक्षमा नै रहेको उनले बताए । ‘संविधान जारी गर्ने जुन शक्तिहरु थिए ती एक भएर संविधान कार्यान्वयनमा पनि लाग्नु पर्दथ्यो । तर, पहिला कांग्रेस र पछि माओवादी भारतीय स्वार्थमा लागे’ सिंहको भनाइ थियो ।
कांग्रेसले लगातार राष्ट्रको हित विपरित भारतीय चाहना अनुरुपको काम गरेको र चुनाव जितेर दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने बाचा कसम भारतमै खाएका कारण आउँदो चुनावमा त्यो चिन्तनलाई पराजित गर्न बाम गठबन्धन आवश्यक भएको उनले बताए । त्यस्तै कांग्रेसभित्रको एउटा ठूलो तप्का धर्म निरपेक्ष खारेज गराउने योजनामा रहेको पनि उनले बताए ।
‘धर्मलाई संरक्षण गर्ने नाममा धर्म निरपेक्ष खारेज गर्नु पर्छ भन्नेहरु राप्रपामा मात्रै नभई कांग्रेसमै छन् । धर्मका लागि यसो गरेका हुन् र ? देश धर्म निरपेक्ष भएर यहाँ बस्ने धर्म मान्नेहरुलाई समस्या पर्ने होइन । यहाँ त धर्मका नाममा प्रतिगामी शक्तिहरु फेरि उहिल्यै गइसकेका राजालाई सक्रिय बनाउन खोज्दैछन्’ नेता सिंहले भने ।
मसाल पार्टीको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले कांग्रेससँग पनि चुनावमा तालमेल गर्न सक्ने भनेर आएका समाचार भ्रामक भएको उनले बताए । मिडियाहरुमा तालमेलको विषयमा जे जस्ता समाचार आए पनि आफ्नो पार्टी बामतालमेलका लागि नै प्रयासरत रहेको उनको भनाइ थियो ।
‘तालमेलका लागि हाम्रो प्रथामिकतामा बाम गठबन्धन नै पर्छ । स्थानीय चुनावमा कांग्रेससँग पनि तालमेल नभएको होइन तर स्थानीय चुनावमा संविधान जारी गर्ने गणतन्त्र पक्षधर शक्तिसँग तालमेल गर्ने नीति लिएर तालमेलका लागि स्थानीय कमिटीलाई अधिकार दिएका थियौं । अहिले राष्ट्रियरुपमा नै तालमेल हुन्छ’ नेता सिंहले भने ।
चुनावी तालमेलका लागि मसाल निकटको मोर्चाले वार्ता कमिटी बनाएको र सो वार्ता कमिटीले बाम गठबन्धनमा सामेल शक्तिहरुसँग मात्रै छलफल गरेको उनले बताए । ‘हाम्रो वार्ता कमिटीले एमाले लगायतका शक्तिसँग मात्रै वार्ता गरेको छ । कमिटीले कांग्रेससँग त वार्ता पनि गरेको छैन । चित्रबहादुर केसी जी कांग्रेसले बेलाएका कारण व्यक्तिगतरुपमा जानु भएको हो’ नेता सिंहले भने ।

Comments

About the author

चितवन पोष्ट