गृह » गजल मञ्च चितवनको साधारण सभा
समाचार समाज साहित्य

गजल मञ्च चितवनको साधारण सभा

भरतपुर । नेपाली गजल विधाको उन्नयनको लागि स्थापना भएको गजल मञ्च चितवनले शनिबार गजल गोष्ठी तथा संस्थाको सातौँ साधारण सभा सम्पन्न गरेको छ ।
गजल गोष्ठीमा २५ भन्दा बढी गजलकारहरूले आ–आफ्ना गजल वाचन गरेका थिए । गजल वाचन पश्चात बोल्दै सहभागी गजलकारहरूले चितवनलाई गजल विधामा चिनाउनका लागि गजल मञ्च चितवनको भूमिका मह¤वपूर्ण रहेको बताए ।
कार्यक्रममा बोल्दै अग्रज साहित्यकार गोविन्दराज विनोदीले नेपाली साहित्यको गजल विधा एक प्रकारको कलात्मक विधा भएको बताए । ‘चितवनको कुरा गर्ने हो भने नेपाली गजलको लागि गजल मञ्चले चितवनले खेलेको भूमिकाको जति नै प्रशंसा गरे पनि कम हुन्छ,’ उनले भने, ‘जसले गर्दा आज चितवनलाई गजलको उर्वर भूमि भनेर देशभर चर्चा भएको हामी पाउछौँ ।’ गजल विधा कलात्मक विधा भएकैले संगीत भर्न र गाउन पनि मिल्ने उनको भनाइ छ । पछिल्लो समय गजल गाउने संस्कृतिको विकास तीव्र रूपमा अगाडि बढ्दै गएको उनले बताए ।
तर, गजलकारहरूले गजलको उत्कृष्टतालाई ध्यान दिन उनले आग्रह गरे । ‘संख्यात्मक रूपमा धेरै गजल लेख्दैमा सफल गजलकार हुन सक्दैन,’ सफल गजलकारको रूपमा चिनिनको लागि थोरै लेखेर पनि उत्कृष्ट लेख्न सके सफल भइन्छ ।’
मञ्चका अध्यक्ष प्रभाकर पण्डितले पनि चितवनमा गजल विधा मौलाउँदै गएको दाबी गरे । केही समयअघि सुस्ताएको गजलकारिता केही वर्षदेखि विस्तारै मौलाउँदै गएको उनको भनाइ छ । ‘चितवनको कुरा गर्नुपर्दा समग्र नेपाली साहित्य क्षेत्रमै राम्रो मलजल परिरहँदा गजल विधा सुस्ताएको भन्न मिल्दैन,’ उनले भने, ‘नेपाली गजल विधाको विकासमा गजल मञ्च चितवनले जस्तोसुकै कदम पनि चलाउन सक्छ ।’
संस्थापक अध्यक्ष किसान प्रेमीले संस्थाले विभिन्न खालका चुनौतीहरूको सामना गर्दै एक दशक पार गरेर यहाँसम्म आइपुग्नु नै संस्थाको मुख्य उपलब्धी भएको बताए । मञ्चका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार पुष्प अधिकारी ‘अञ्जली’ले पनि समस्यै समस्याको बीचबाट पनि गजल मञ्च चितवनले नेपालको गरिमा बोक्न सफल भएको बताए ।
चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले साहित्यको उर्वर भूमि भएकोले पछिल्लो समय युवा गजलकारहरूको जमात बढ्दै गएको बताए । संगीत भरेर गाउनसमेत मिल्ने भएकोले नयाँ पुस्ताका गजलकारहरूको आकर्षण बढ्दै गएको उनको भनाइ छ । मञ्चका निवर्तमान अध्यक्ष रमेश प्रभातले पनि गजल विधाले विस्तारै फड्को मादै गएको बताए । युवाहरूको सक्रियतासँगै गजल लेखनमा पनि विकास भएको उनको भनाइ छ ।
कार्यक्रममा मञ्चका सचिव विनोद अनुजले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मिथिला प्याकुरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै शनिबारै ५० जनाभन्दा बढी गजल अनुरागीहरूले गजल मञ्च चितवनको आनजिवन सदस्यता लिएका छन् ।

Comments

About the author

चितवन पोष्ट