गृह » जिससको निर्वाचन असोज २७ गते
राजनीति समाचार समाज

जिससको निर्वाचन असोज २७ गते

कावासोती । जिल्ला समन्वय समिति नवलपरासीको चुनाव असोज २७ गते हुने भएको छ । नवलपरासी जिल्ला टुक्रिएर दुई प्रदेशमा विभाजन भएसँगै जिल्ला समन्वय समिति कतिवटा बनाउने भन्ने लामो समयको अन्योलबीच नवलपुर र परासी क्षेत्रका लागि जिल्ला समन्वय समितिको निर्वाचन हुन लागेको हो ।
पूर्वी नवलपरासी, नवलपुर क्षेत्र र पश्चिम नवलपरासी, परासी क्षेत्रका लागि केही समय पहिले दुईजना स्थानीय विकास अधिकारी सरकारले खटाएपछि दुईवटा जिल्ला समन्वय समिति गठन हुने निक्र्यौल भए पनि निर्वाचन कहिले हुने अन्योल थियो ।
स्थानीय तहको निर्वाचन भएको लामो समयपछि बर्दघाट, सुस्तापूर्व नवलपुर क्षेत्र र बर्दघाट सुस्तापश्चिम परासी क्षेत्रका लागि छुट्टाछुट्टै जिल्ला समन्वय समितिको निर्वाचन एकैसाथ हुन लागेको हो ।
जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिकाअनुसार असोज २३ गते मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिने र सोही दिन संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । असोज २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २५ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको नवलपुर क्षेत्रका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले बताए ।
असोज २७ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।

Comments

About the author

चितवन पोष्ट