गृह » एमाले र कांग्रेसले गरे उम्मेदवार सिफारिस माओवादी केन्द्र अझै छलफलमा
राजनीति

एमाले र कांग्रेसले गरे उम्मेदवार सिफारिस माओवादी केन्द्र अझै छलफलमा

रामकुमार श्रेष्ठ
कावासोती । नवलपरासीमा नेपाली कांग्रेस, नेकपा एमाले, क्रान्तिकारी माओवादीले आफ्नो उम्मेदवारको नाम सिफारिस गरेका छन् ।
नेकपा माओवादी केन्द्र भने एमालेसँगको तालमेलको नयाँ समिकरणलाई कुर्दै बसेको छ । नेपाली कांगे्रस नवलपरासीको क्षेत्रीय समितिले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
नेपाली कांगे्रसका महामन्त्री डा शशांक कोइराला प्रदेश ४ अन्तर्गत नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन् । क्षेत्र नं १ बाट कोइरालासहित पूर्वसांसद महेन्द्रध्वज जिसी र कमला तिवारीको नाम सिफारिस भएको छ ।
नवलपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि महेन्द्रध्वज जिसीसहित विष्णु कार्की, कृष्णचन्द्र नेपाली र ओेमकला गौतमको नाम सिफारिस गरिएको क्षेत्र नं २ का क्षेत्रीय सभापति दुर्गाबहादुर रानाले बताए ।
पूर्वसांसद जिसी क्षेत्र नं १ र २ दुवैबाट सिफारिसमा परेका छन् ।
प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ बाट करुणसागर सुवेदी, ओम सापकोटा, सत्यनारायण खनाल, द्रोणवन सन्यासी, पत्रकार महासंघ नवलपरासीका सभापति होमराज रानाभाट, कमल पराजुलीको नाम सिफारिस गरिएको छ ।
‘ख’ बाट हेमराज कोइराला, भानु सिग्देल, डिल्लीराम कडरिया, महेन्द्र पोखरेल, कपिलदेव भुषाल, झपेन्द्रश्वर भुषाल, सरस्वती तिमिल्सिना, धर्म बस्याल, ओमकला गौतम, विष्णु पाण्डेलगायतको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
नवलपुर क्षेत्र नं २ को ‘क’ बाट प्रदेशसभाको लागि श्रीधर शर्मा, नेपाली कांगे्रसका जिल्ला सभापति विष्णु लामिछाने, लक्ष्मी मैनाली, खड्गबहादुर राना, शंकर तिवारी र मित्रलाल भट्टराईको नाम सिफारिस गरिएको छ ।
२ को ‘ख’बाट गणेशमान श्रेष्ठ, कमल भट्टराई, सूर्य गुरूङ, भरत भुषाल, उदय अर्याल, टेकप्रसाद श्रेष्ठ, दोमनबहादुर भण्डारी र बालकृष्ण भुषालको नाम सिफारिस भएको क्षेत्रीय सभापति दुर्गाबहादुर रानाले बताए ।
नवलपरासीको प्रदेश ५ अन्र्तगत परासीतर्फको क्षेत्र नं १ बाट प्रतिनिधिसभाको लागि सांसद देवकरण जैसवालको नाम निर्विरोध सिफारिस भएको छ । प्रदेश सभाको लागि क्षेत्र नं १ को ‘क’ बाट विक्र खनाल र ‘ख’ बाट मुकुल आचार्यको नाम सिफारिस गरिएको छ ।
२ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको लागि केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको नाम सिफारिस भएको छ भने प्रदेशसभाको लागि २ को ‘क’ बाट अर्जुनकुमार पोखरेल, मोहन शर्मा र टंक न्यौपानेको नाम सिफारिस भएको छ । २ को ‘ख’ बाट प्रदेशसभाको लागि बैजनाथ जैसवाल, विक्रम यादव र रोधश्याम पाठकको नाम सिफारिस भएको छ । क्षेत्रीय समितिले सिफारिस गरेको नाम जिल्ला हुँदै केन्द्रमा पठाइने जिल्ला सभापति विष्णु लामिछानेले बताए ।
त्यस्तै, नेकपा एमाले परासीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
नेकपा एमाले परासीले नवलपरासी (ख) क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनको लागि डा. शोभाकान्त ढकालको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको छ ।
क्षेत्र नं १ लागि भने कुनै पनि नाम सिफारिस गरिएको छैन । प्रतिनिधिसभा निर्वाचनको लागि क्षेत्र नं १ खाली राखिएको नेकपा एमाले परासी जिल्ला कमिटीका सहसंयोजक थानप्रसाद गैरेले बताए ।
क्षेत्र नं १ बाट हृदयेश त्रिपाठी प्रतिनिधिसभाको निर्वाचनको लागि उठ्ने भएका कारण सो क्षेत्रबाट कुनै पनि नाम सिफारिस नगरिएको जनाइएको छ ।‘१ बाट प्रतिनिधिसभाको लागि कुनै पनि नाम सिफारिस गरिएको छैन, त्रिपाठीजीको क्षेत्र हो, उहा“ उठने कुरा छ । बा“की केन्द्रले मिलाउँछ’ सह संयोजक गैरेले भने । यसअघि हृदयेश त्रिपाठी पनि सूर्य चिन्हबाट चुनाव लडने कुरा बाहिर आइसकेको छ ।
प्रदेशसभा निर्वाचनका लागि भने क्षेत्र नं १ को ‘क’ बाट बृहस्पति अधिकारी, दीपेन्द्र अधिकारी, रुक्माङ्गत ज्ञवाली, टोपबहादुर सिंह ठकुरी र सांसद सिन्धु जलेसाको नाम सिफारिस गरिएको छ ।
१ को ‘ख’ बाट टेकनारायण उपाध्याय, रामु अर्याल, रमेश पाण्डे र गणेश पोखे्रलको नाम सिफारिस गरिएको छ ।
परासी क्षेत्रको २ नं क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्यको उम्मेदवारको लागि ‘क’ र ‘ख’ दुवै क्षेत्रबाट सर्वसम्मत रुपमा नाम सिफारिस गरिएको नेकपा एमाले परासी जिल्ला कमिटी सहसंयोजक थानप्रसाद गैरेले बताए ।
क्षेत्र नं २ को ‘क’ बाट सांसद बैजनाथ चौधरी र ‘ख’ बाट सीताराम चौधरीको नाम सिफारिस गरिएको गैरेले बताए ।
नयाँ शक्तिले छान्यो उम्मेदवार
त्यस्तै आगामी मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नयाँ शक्ति पार्टी नेपाल नवलपरासीले पनि उम्मेद्वार सिफारिस गरेको छ ।
पार्टी जिल्ला कमिटी सचिवालयको परासीमा बसेको बैठकले पश्चिम नवलपरासीमा पर्ने दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि सर्वसम्मत उम्मेदवार चयन गरेको हो ।
नयाँ शक्ति पार्टीले प्रतिनिधिसभा क्षेत्र नं. १ मा बाबुराम हरिजनलाई प्रत्यक्षतर्फको उम्मेदवार र विनोद यादवलाई समानुपातिकतर्फको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरि सिफारिस गरेको छ भने प्रतिनिधिसभा क्षेत्र नं. २ मा पूर्वसांसद चिनक कुर्मीलाई प्रत्यक्षतर्फ र सुनिता काफ्लेलाई समानुपातिक तर्फको उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस गरेको हो ।
यसैगरी प्रदेश सभातर्फ प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ मा प्रंत्यक्षतर्फ यमबहादुर थापा र समानुपातिकतर्फ लक्ष्मणप्रसाद चौधरी सर्वसम्मत सिफारिस भएका छन् भने प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ कन्हैया यादव र समाुनपातिकतर्फ मन्नु पाललाई सिफारिस गरिएको नयाँ शक्ति पार्टीले जनाएको छ ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ हर्कबहादुर गुरुङ र समानुपातिक तर्फ अमिरुल्लाह मियालाई सिफारिस गरिएको छ भने प्रदेश सभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ चन्द्रभुषण पाठक आलोक र समानुपातिक तर्फ विरेन्द्र हरिजनलाई उम्मेदवार बनाउने निर्णय नयाँ शक्तिका जिलला इन्चार्ज चिनक कुर्मीले बताए ।
त्यसैगरी नेकपा एमाले नवलपुरले प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम टु¨ो लगाएको छ ।
प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ को बैठकले तीन जनाको नाम प्रतिनिधिसभाको उम्मेदवारको लागि सिफारिस गरेको हो ।
बैठकले क्षेत्र नम्बर १ बाट सांसद कृष्ण पौडेल, डा गोपाल खनाल र शुष्मा काफ्लेको नाम सिफारिस गरेको हो ।
क्षेत्र नम्बर २ का लागि भने सर्वसम्मतरुपमा तिलक महतको नाम सिफारिस गरिएको नेकपा एमाले नवलपुर जिल्ला कमिटी संयोजक रोशन बहादुर गाहाले बताए । सिफारिस भएका यी नाम जिल्ला कमिटी हँुदै प्रदेश कमिटीमार्फत केन्द्रीय कमिटीबाट अनुमोदन भएर आउने नेकपा एमाले नवलपुरले जनाएको छ ।
प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवारहरुको सूची बुझाउने अन्तिम मिति नजिकिँदै गर्दा नवलपरासीको परासी र नवलपुर क्षेत्रका राजनीतिक दलहरु उम्मेद्वार छान्न व्यस्त हुन थालेका छन् ।
नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले नगर र गाउँ समितिले क्षेत्रीय समितिमा नाम सिफारिस गरिसकेको र त्यस माथि क्षेत्रीय समितिमा छलफल चलिरहेको बताए ।
लामिछानेले क्षेत्रीय समितिले आइतबारसम्ममा क्षेत्रीय समितिले उम्मेदवारहरुको नाम जिल्ला समितिमा सिफारिस गर्ने छ ।
त्यस्तै नेकपा एमालेले प्रदेश सभामा नवलपुरको क्षेत्र नं. १ क मा षडानन्द लामिछाने, यमुनाथ आचार्य र गीता तिवारीको नाम सिफारिस भएको बताए । प्रदेश सभा नवलपरासी नवलपुर क्षेत्र नंं १ क मा ३ जना भन्दा बढी उम्मेदवारको आकांक्षी देखिएपछि निर्वाचन भएको थियो ।
त्यस्तै नवलपुर निर्वाचन क्षेत्र नंं २ (क) रामकृष्ण ढुंगाना, सूर्य पाण्डे र ईश्वरी ढकालको नाम सिफारिस गरिएका छ ।
त्यस्तै नवलपरासी नवलपुर निर्वाचन क्षेत्र नं. २ ख बाट जनकलाल श्रेष्ठको नाम सर्वसम्मत सिफारिस भएको छ ।
त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सांसद वैजनाथ चौधरी पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गतको प्रदेश सभा क्षेत्र नं. १ बाट निर्वाचनमा लड्ने पक्का भएको छ ।
यसअघि नवलपरासीकै तत्कालीन निर्वाचन क्षेत्र नं. ४ बाट सांसद जितेका नेता चौधरी यस पटक प्रदेशसभा सदस्य पदका लागि निर्वाचनमा उठ्न लागेका हुन् ।

 

Comments

About the author

चितवन पोष्ट