गृह » नेपाली आकासमा मडारिइरहेको उत्तरी र दक्षिणी वायु
विचार

नेपाली आकासमा मडारिइरहेको उत्तरी र दक्षिणी वायु

– तिलक घिमिरे (निर्मल)
नेपालको सबैभन्दा ठूलो पर्व २०७४ को बडादसैँ सकिएलगत्तै देशको राजनीतिक मौसम एकाएक परिवर्तन भइरहेको छ । दसैँ सकिएलगत्तै एकाएक यस्ता परिवर्तनहरु त्यसरी सृजित भए, सोको भेउ पाउन स्वयं सर्जकहरु नै अनभिज्ञ छन् । अचेल वातावरणीय मौसममा केही आद्रता देखिएता पनि राजनीतिक मौसममा भने चढ्नुपर्नेजति तापक्रम क्रस गर्ने अवस्थामा छ । नेपाली राजनीतिमा के पछि के हुँदैछ भन्ने अड्कल हामीजस्ताले त लगााउन सकिन्न भने दूरदरारमा रहेका र सूचनाको पहुँचबाट टाढा भएकाहरुलाई त झन् कत्ति गाह्रो होला । नेपाली राजनीतिक कोर्स बुझ्नलाई यति जटिल भइसकेकको छ कि यसलाई जुनै युनिभर्सिटीको करिकुलममा समावेश गरिएता पनि उत्तीर्णांकसम्म ल्याउन मुस्किल हुने पक्काजस्तै छ । यस लेखको उद्देश्य पक्कै पनि यो होइन कि लेखकको कुनै वाद र तन्त्रसँग निकट र टाढाको साइनो नलाग्ने भएकाले यस लेख पूर्वाग्रही रुपमा लेखिएको पनि होइन । राजनीतिशास्त्रको विद्यार्थी भएको नाताले हाल मञ्चन भइरहेको ताण्डव नृत्य बुझ्न नसकिएको र मनमा लागेका केही जिज्ञासामिश्रित अल्पज्ञान यस लेखमा पोख्ने प्रयास गरेको छु । यहाँ बुझ्न नसकिएको कुरा भनेको जुनसुकै बुँदे राजनीतिक वा तालमेल जे भए पनि त्यो “नेपाली जनताको माग अनि हितका लागि” हो भनेर सबै नेताहरुले भन्दछन्, तर मेरो दिमागले अहिलेसम्म नबुझेको कुरा भनेको चाहिँ कुन सहमतिले कुन जनतालाई केचाहिँ फाइदा पुग्यो त ? माओवादी–एमाले गठबन्धन, कांग्रेस–माओवादी गठबन्धन, अहिले वाम गठबन्धन पनि जनताको हित र भलाइका लागि भएको भनिँदै छ, तर माथि उल्लेखित गठबन्धनले चाहिँ १, २, ३ गरेर भन्ने हो भने जनताहरुलाई केचाहिँ फाइदा भयो त ? कुन गठबन्धनले जनतालाई भलाइ ग¥यो त ? जनतालाई अलमल्याउने भाषा र कुतर्कले मात्र के सधैँ राजनीति चल्छ ? होइन भने, हालसम्म ती तथाकथित तालमेल र गठबन्धनले तिनै नेता र उनीहरुको घरपरिवारबाहेक कसले के फाइदा गरे त ? अब यस्ता कुतर्कपूर्ण कुरा गरेर सर्वसाधारण जनतालाई अलमल्याउने र दिग्भ्रमित बनाउने प्रचारबाजी नगरियोस् भन्ने यस लेखको मूल आशय हो ।
केही समयअघि जति बेला माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकार बन्दा ताका मैले “माक्र्सवाद र समाजवादको फ्युजन ः पूरै कन्फ्युजन” भन्ने लेख लेखेको थिएँ । सो लेखमा हिजोका दिनमा एकले अर्कालाई वर्गशत्रु किटान गरी टाउकाको मूल्यसमेत निर्धारण गरेकाहरुले लगाएको मीत र कित्ताकाट गरी साँध–सिमाना छुट्याउनेहरु एउटै कित्तामा फित्ता फालेर उभिएका देख्दा यसले आमजनमानसमा सृजित तरंग अति बुझिनसक्नु वक्तव्यबाजी सुन्दा भ्रमित भएको कुरा उल्लेख गरेको थिएँ र सो बेलै मैले यस्तो गठबन्धनले कत्तिको दिगो रुप दिने हो, त्यो त निकट भविष्यमा नै छर्लंग हुने कुरा उल्लेख गरेको थिएँ । नभन्दै गठबन्धन सरकारले मुस्किलले केवल हनिमुनभन्दा अन्य मनाउन सकेन । यसअघि विसं २०६३ सालदेखि नै नेपाली राजनीतिमा “सबै कम्युनिस्टहरु एकै हुनु आजको आवश्यकता हो” भन्दै केही वामपन्थी नेताहरुले कुरा उठाउँदै आएका थिए तर दुर्भाग्य ! नेपाली कम्युनिस्ट जति फुट्न जाने, त्यति जुट्न जानेनन् । जसरी १ बिगाह जमिन भएको हजुरबाका ५ भाइ छोरा र छोराहरुको २÷२ वटा छोरा भएमा सो भाग लाग्दै जाँदा जति जमिन बाँकी हुन्छ, सोहीमुताविक प्रत्येक छोराहरुले अलग–अलग ताउलो बसाउन मात्र जाने । कम्युनिस्ट नै भए पनि एमाले केही नरम धारको नेतृत्व गर्छ भने माओवादी उग्रपन्थको । कम्युनिस्टहरुको मेलमिलाप हुनुपर्दछ जति नै भने तापनि माओवादीप्रति कडा नीति लिएका वर्तमान एमाले अध्यक्ष केपी ओली यस प्रस्तावले एमालेलाई हानि गर्छ भनेर सकारात्मक देखिन्न थिए भने झलनाथ खनाल र माधव नेपाल न सकारात्मक न त नकारात्मक नै छन् । संसदीय राजनीतिमा संसद्वादी दलहरु पटकपटक परिक्षण भइसकेका थिए भने भर्खरै हतियार बिसाएर आएको माओवादी भने जनतावाट परीक्षण हुन बाँकी थियो । १० वर्षभन्दा लामो विद्रोहको नेतृत्व गरेकाले गरिब, निमुखा र अन्यायमा परेका सर्वसाधारण जनताको मनमा बास बसिसकेको हुनाले साथै अन्तरिम संसद्मा एमालेको बराबरी हैसियतमा उपस्थित भएपछि उसले आफूलाई एमालेसरहको दम्भ देखाइसकेको थियो, र त पहिलो संविधानसभाको पूर्वसन्ध्यामा यी दुई दलबीच तालमेलको गाइँगुइँ कुरा चलेको थियो तर यस प्रस्तावलाई एमालेले नकारिदियो । एमालेका नेताहरुले “तिमीहरुसँग तालमेल गरौँला !” भनी लोप्पा खुवाइदिएपछि माओवादी अत्यन्तै मर्माहत भएको थियो । यही दुर्वचनलाई उसले ईख बनाई “अरुलाई हे¥यौ पटकपटक, हामीलाई हेर्नुहोला एकपटक” भन्ने नाराका साथ संविधानसभा चुनावको मैदानमा उत्रिएपछि उसले एमालेलाई प्रत्यक्षतर्फ करिब “क्लिन स्वीप” नै पारिदियो । तत्कालीन एमालेका ठूला नेताहरु सबैलाई पराजित गरेपछि माओवादी एकाएक भीमकाय बनेपछि उसमा दम्भको पारो यति माथि पुग्यो कि सबै आफूअनुकूल निर्णय मात्र गर्न थाल्यो ।
यता, चुनावमा लज्जास्पद रुपमा तेस्रो पार्टीमा खुम्चिएपछि तत्कालीन सत्ता गठबन्धन एमाले र माओवादी इतरका वामनेताहरुले पुनः धु्रवीकरण र तालमेलको बहस सुरू गरे तापनि सोले मूर्तरुप लिन सकेन । एकले अर्काको सम्मानजनक अस्तित्व स्वीकार गर्न नसक्नु र गोप्य राख्ने भनिएता पनि वार्ताको विषयवस्तु निर्णयअगावै बाहिर आएकोले सो बेलाको चर्चित फूलबारी बैठक विनानिचोड अन्त्य भयो । २०६५ सालमा माओवादी अध्यक्ष प्रधानमन्त्री र एमाले महासचिव राष्ट्रपति हुनेगरी सहमति भएको कुरा केही मिडियाले खबर बाहिर ल्याएका थिए, तर माओवादी इतरका केही नेताहरुले नेपाललाई राष्ट्रपति नमानेपछि एमाले त्यसको ईख साध्न नेपाली कांगे्रसको हवेली महाराजगन्ज पुग्यो र आफूलाई सभामुख दिएमा कांगे्रसलाई राष्ट्रपति र मधेसी दललाई उपराष्ट्रपति दिने सहमति गरी बल्खु फर्कियो । गणतन्त्रपछिको पहिलो सरकारमा माओवादीसँग सत्ता समीकरण गरेको एमालेले कटुवाल काण्डपछि सरकार छोडिदियो र साना–साना पार्टीहरुसँग मिल्दै माओवादीलाई सधैँ कर्नरमा पारिरह्यो भने अर्कातिर मोहन वैद्यलगायतका नेताहरुको बहिर्गमन र भारतसँग गरेको विवादास्पद बिपा सम्झौता एवं आपसी टकरावले २०७० को चुनावमा माओवादी तेस्रो तर लज्जास्पद स्थितिमा खुम्चिन पुग्यो । र, अब हुंकार गर्ने पालो एमालेको आयो, किनकि दोस्रो नै भएता पनि एमाले पहिलो दल कांगे्रसभन्दा केहीमात्र सानो आकारको थियो । त्यसपछि त एमालेले माओवादीलाई प्रायः निषेध नै ग¥यो ।
संविधान निर्माणपश्चात् जब स्वर्गीय सुशील कोइरालाले सत्ता छाड्न मानेनन्, तब चिडिएको माओवादी जति नै तिखो टिप्पणी गरे पनि बरू “ओली नै जाती” भनेर एमालेलाई सरकार गठन गराई मह¤वपूर्ण मन्त्रालयको स्वाद चाख्न गठबन्धन सरकार बनाउने सहमतिमा पुगे । ओलीको प्रधानमन्त्रीत्व कालमा सुरूवातमा दुवै अध्यक्षहरुको मिलन अत्यन्तै सुमधुर र कसिलो भए तापनि जब दाहालले दोस्रोपटक प्रधानमन्त्री बन्ने मनसाय राखी बूढानीलकण्ठ दरबारमा गई भोज खाए, तब ओलीले “ह्युमिलेसन फिल” गरी सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई सक्रिय गराई जनयुद्धकालीन मुद्दा ब्युँतिएमा आफ्ना धेरै कार्यकर्ता तितरबितर हुने डरले माओवादी अन्ततः एमालेको कित्ता छोडी कांग्रेससँग मिली आफ्नै नेतृत्वमा सरकार बनाउन सफल रह्यो भने कांग्रेसचाँहि आफ्नो विजयभन्दा पनि एमालेको पराजयमा थपडी बजाउन पुग्यो । कांगे्रसको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले नैतिकताको आधारमा राजीनामा दिई सत्ता बागडोरको खम्बा काँध फेर्न कांग्रेस सभापतिलाई दिए र स्थानीय तहको निर्वाचनमा तालमेल गरी मैदानमा उत्रिए तापनि जनताले सो समाजवाद र माक्र्सवादको फ्युजनलाई रूचाएनन् र फलतः गठबन्धनले माओवादीलाई ठूलो धक्का पुग्यो र कांग्रेसले पनि “बेकारमा गरिएछ” भन्नेजस्तो व्यवहारबाट माओवादी पूरै चिढियो र दसैँभन्दा केही अगाडि रन्थनिएर उत्तर हानिए । उत्तरबाट “हाम्रो सहयोग र समर्थन चाहिने भए तिमीहरु सबै कम्युनिस्टहरु एकढिक्का भएर आएको खण्डमा मात्र दसैँमा हामीबाट शुभ आशीर्वाद पाउँछौँ” भनेपछि सबैमा चेत खुल्यो र दसैँको बिदामा विभिन्न चरण–चरणका बैठक, माइन्युट र निर्णयहरु गर्दै ६ बुँदे सहमतिका खाका यति गोप्य रुपमा कोरियो कि सँगै सुतेका मीतलाई समेत थाहा भएनछ र त एक्कासि पत्रकार सम्मेलनमा सुन्दा पो तर्सिन पुग्यो र “यस्तो गठबन्धनले राष्ट्रमा अनिष्ट हुन्छ” अब भन्न थाल्यो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको संघारमा यदि आपसमा मिल्न नसकिएको अवस्थामा प्रजातान्त्रिक धारको बहुमत आउँछ र वामपन्थीहरु पुनः अल्पमतमा रहिरहन्छन् भन्ने सुझावले माओवादी कांग्रेसको कित्ता छोडेर बाबुरामलाई समेत कन्भिन्स गराई एमालेमा समाहित हुन आएको थियो । किनकि, स्थानीय तहको निर्वाचनमा हालै नयाँ शक्ति र माओवादीले आफ्नो भाग्य परीक्षण गरिसकेका थिए । यदि एमालेसँग तालमेल गर्न नसकिएको अवस्थामा साँच्चै नै गुगलमा सर्च गर्नुपर्ने अवस्था सृजना होला कि भन्ने मनोविज्ञानले विक्षिप्त मनलाई सम्हाल्न बालकोट पुगी सान्त्वना पाएका थिए । विश्व शक्तिकेन्द्रमा अत्यन्तै उदयीमान उत्तरी सिमानाका भीमकाय शक्तिले कम्युनिस्टहरुलाई गोलबद्ध गराउन खेलेको भूमिकाले त्रसित अर्को उदयीमान दक्षिणले “यो आफ्नाविरूद्ध हो” भन्ने सन्त्रास लिई एक ठूला कांगे्रेस आईका नेताले भारतीय सञ्चारमाध्यम आजतकको एक अन्तरवार्तामा यो सबै चीनको ग्रान्ड डिजाइनमा भएको बताएका हुन् भने एमाले, माओवादी र नयाँ शक्तिले वामपन्थी गठबन्धन गर्दै आसन्न निर्वाचनमा दमदार उपस्थिति देखाउन सक्ने भयले सोलाई “काउन्टर” दिन नेपाली कांग्रेसले प्रजातान्त्रिक गठबन्धन निर्माण गर्ने निर्णय गरी सोको लागि राप्रपा, राप्रपा प्रजातान्त्रिक, फोरम प्रजातान्त्रिक र संघीय समाजवादी फोरमलाई समेटेर अगाडि बढ्ने भएका हुन् । आसन्न निर्वाचनमा तालमेलका लागि उनीहरुले टास्क फोर्ससमेत बनाइसकेका छन् र जसरी भए पनि वाम गठबन्धनलाई पेनाल्टी गर्ने रणनीतिमा लागेका छन् । र, नवनिर्मित वाम गठबन्धनलाई अप्राकृतिक र अवसरवादिताको पराकाष्ठा मानेका छन् । सरकारमा पनि बस्ने अनि सरकारका विरूद्धमा पनि गठबन्धन गर्ने माओवादीको द्वैध चरित्र समयमै बुझ्न नसक्नु आफ्नो सबैभन्दा ठूलो भूल भएको कांगे्रसले निष्कर्ष निकालेको छ र साँपको बच्चालाई दूध खुवाएर हुर्काउँदा सोले ठूलो भएपछि आफैँलाई डस्न सक्छ भन्ने भेउ आफूले बेलैमा गर्न नसकेको निचोड निकालेको छ । कांग्रेसका लागि वाम एकता अभियान पार्टी सुदृढीकरण र पुनर्गठनको अवसरसमेत बन्न सक्छ ।
राजनीतिक दलहरु बलियो बन्नु लोकतान्त्रिक शासन व्यवस्थाका लागि सुखद छ । कुनै राजनीतिक दलको तालमेल वा दिगो गठबन्धनले संसद्मा स्पष्ट बहुमत ल्याउन सक्यो भने सत्ता फेरबदलको गलत अभ्यास हट्नसक्छ, साथै बाह्य शक्तिको हस्तक्षेप र चलखेल कम हुनसक्छ । दिगो सरकार निर्माण हुन र राजनीति स्थिर बन्न सक्यो भनेमात्र राष्ट्रले समृद्धिको यात्रामा छिटो पाइला चाल्नसक्छ । त्यसैले, बहुमत ल्याउन सक्ने दल वा दिगो गठबन्धनलाई हामी सबैले स्वागत गर्नैपर्ने हुन्छ । उता, अर्कातिर मधेसको मसिहा ठान्ने र मधेसीको हकअधिकारका निम्ति मात्र यत्रो संघर्ष गरेको भनेर कुर्लने उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, विजय गच्छदार, राजकिशोर यादव, अनिल शाह, महेन्द्र यादव, हृदयेश त्रिपाठीलगायतका दोगला नेताहरुको चाल पनि देखिसकियो । सोझासीधा मधेसीको नाम भजाएर सत्ताको अवसर आउनासाथ “मधेसीहरुले पाउनु पर्ने अधिकार सबै पाइसके” भनेर सत्तामा विराजमान हुन पुग्छन् अनि भन्नलाई चाहिँ उनीहरु पनि “समयको माग अनि मधेसी जनताको हितका लागि आफू सरकारमा गएको वक्तव्यबाजी गर्दछन् । एक जना राजनीतिक विश्लेषकले भनेका थिए– “मधेसीहरु पकौडामा बिक्छन् भने सत्ताको कुर्सी पाए भने उनीहरु सबै कुरा भुली सरकारमा सहभागी हुन्छन् ।” हुन पनि अहिले त्यस्तै देखिँदै छ । यहाँ अनर्थ नलागोस्, मधेसीहरुका नाममा जति अराजकता र उत्पीडन भएको छ, त्यो केवल मधेसका ठूला भनाउँदा शासक वर्गबाट नै भइरहेका छन् । सर्लाही जिल्लामा मधेसी सिडिओ आउन लाग्दा सबै मधेसीहरु दुःखित भएका थिए, किनकि मधेसीहरुलाई बुझ्न नसक्ने प्रशासक केवल मधेसी नै हो ।
देश र जनताले राजनीतिक छलाङ नमारे पनि नेताहरुले अनुकरणीय छलाङ मारेर साम्यवादी पगरी रद्दीको टोकरीभित्र मिल्क्याएर विलासी जीवनशैली बिताइरहेका छन् । सरकार ढाल्ने र ठड्याउने “म्युजिकल चेयर” को नेपाली राजनीतिमा घृणित संस्कृति भित्रिएको छ । नवधनाढ्यबाहेक अरुले उठ्नै नसक्ने चुनावी रणनीति लागू गरेर जनप्रेमी, समाजसेवी, त्यागी र विकास चाहने जनवादी नेता र कार्यकर्तालाई पाखा लगाएर खरिद–बिक्रीको चुनावी रणनीति बजारमा ल्याइएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मिठास संविधानको मुखपृष्ठमा राखेर भित्री पाना आफूअनुकूल हुने गरी बनाउन सफ्mल भए । हाम्रो राजनीति मुसा–बिरालोको खेलबाहेक अरु हुन सकेन । स्वभावैले चीनले आफूअनुकूल छिमेकी चाहन्छ भने भारतले पनि आफ्नो निहित स्वार्थ सिद्ध गर्न आफ्नो आज्ञाकारी “छोटे भाइ” चाहन्छ । साना–साना निर्णयहरु गर्नसमेत छिमेकीले के भन्लान् भन्ने मनोविज्ञानले त्रस्त नेपाली राजनीति मनले आफूमा विश्वास बढाउन सकेन भने हामी आफ्नै घरमा पराजित हुन पुग्छौँ । हाम्रो मुलुकले छिमेकीको सहारा लिनैपर्दछ, तर यसको अर्थ यो होइन कि हाम्रा हरेक गतिविधि र क्रियाकलापहरु छिमेकीहरुबाटै सञ्चालित होऊन् । उत्तरी र दक्षिणी भीमकाय शक्तिहरुको आपसमा राम्रो सम्बन्ध छैन । उनीहरुले आफ्ना दबाबस्वरुप नेपाललगायतका मुलुकमा आफ्ना प्रभाव जमाउनका लागि र हालै केही मत्थर भएको विवादास्पद डोक्लामको सामरिक विवाद, गोर्खाल्यान्डको आन्दोलन र नेपालीभाषीको चिनियाँ पक्षलाई गरेको मौन समर्थन एवं वामहरुको तालमेलपछि हुने भनिएको धु्रवीकरणले भारतलाई आफूप्रतिकूल नतिजा आउने भयले नेपाली कांग्रेसलाई पनि गठबन्धन गरी चुनावमा भाग लिन र त्यसबाट सम्मानजनक नतिजा ल्याउन शुभेच्छा दिएको छ भने भारतभन्दा बढी हितैसी दर्शाउन चीनको नेपालमा बढ्दो उपस्थिति र अनावश्यक गोप्य चालरुपी वायु मडारिरहेको वर्तमान नेपाली आकासमा कुन दिन यसले घनघोर वर्षा गराई सारा परिवेश जलमग्न बनाई जनजीवन आक्रान्त बनाउने हो, सोको भेउ समयमै पाउन सकेनौँ भने हामी युगौँयुग परनिर्भर नै रहिरहने छौँ ।
देशको विकास निर्माणले यथोचित गति लिन नसक्नुमा महँगी, कालाबजारी, भ्रष्टाचार र कमिसनतन्त्रले दह्रो जरा गाडेको हुनाले नै यसको दोषी तिनै राजनीतिक नेतृत्वको अदूरदर्शी नीतिले भएको हो । राजनीतिक अस्थिरता, अविश्वास र खुराफाती कार्यशैलीले गर्दा मुलुकलाई छिमेकीहरुको बक्रदृष्टिको दलदलमा फसाउने काम गणतन्त्रको प्रारम्भिक कालमै देख्दा मुक्तिको झिनो आशा गरेका जनतामाथि अर्को राजनीतिक अन्यायको फोहोरी खेल दुवै दिशाबाट खेलाइरहेका छन् । यसमा हामी सबै सचेत भई राष्ट्रिय मुद्दामा एकढिक्का भई राष्ट्रिय स्वार्थमा अडिन सकेनौँ भने पछि हामी नै प्रताडित हुनुपर्ने छ र त्यसबेला पछुताउनु भनेको केवल “न्याउरी मारी पछुतो”सिवाय अरु नहुन सक्छ ।

Comments

About the author

चितवन पोष्ट